आज:  २०८१ श्रावण १२, शनिबार | Sat, 27, Jul, 2024 Search
FLASH NEWS

नगरप्रमुख न्यौपानेद्वारा कारितास नेपालको परियोजना अनुगमन

    प्रकाशित २०८१ जेष्ठ ३, बिहिबार (२ महिना अघि)


देवचुली । देवचुली नगरपालिकाका नगरप्रमुख हरिप्रसाद न्यौपाने सहितको टोलीले कारितास नेपालद्वारा देवचुली- १ मा सञ्चालित जीविकोपार्जन सम्बन्धि परियोजनाको अनुगमन गरेको छ । कारितास नेपालले कृषिसँग सम्बन्धित कार्यक्रम अन्तरगत नवलपुरमा जलवायु परिवर्तन तथा जीविकोपार्जन सम्बन्धि परियोजना सञ्चालन गरिरहेको छ ।

संस्थाले देवचुली- १ मा सञ्चालन गरेको परियोजनाका उपलब्धिहरु, कृषकहरुले उत्पादन गरेका तरकारी खेती, पशुपालनलगायतको अनुगमन गरिएको हो । अनुगमनमा कृषि ज्ञान केन्द्र नवलपुरका प्रमुख कुलप्रसाद तिवारी, देवचुली वडा नम्बर १ का अध्यक्ष कृष्णबहादुर केसी, वडा सदस्य अजय थनेत, देवचुली नगरपालिका पशु सेवा शाखाका प्रमुख डा. श्यामकृष्ण तिवारी, कृषि शाखा प्रमुख गगन भट्टराई, विभिन्न संघसंस्थाका प्रतिनिधि, कारितास नेपालका प्रादेशिक कार्यालय गैंडाकोटका प्रमुख शंकरकुमार पौड्याललगायत कर्मचारीहरु र परियोजनाबाट लाभान्वित कृषकहरुको उपस्थिति रहेको थियो ।

अनुगमनका क्रममा नगर प्रमुखद्वारा कृषि समुहद्वारा र कृषकहरुले व्यक्तिगत रुपमा गरेका तरकारी खेतीको अनुगमन गर्दै कृषकहरू अन्तरक्रिया समेत गरिएको थियो । कृषकहरूले नगर प्रमुख समक्ष कृषिका लागि वडा तथा नगरबाट बजेट बिनियोजित गर्नुपर्ने, उत्पादित तरकारीको बजारीकरणका पहल गरिदिन र सिँचाइका लागि डिप बोरिङको व्यवस्थापन मिलाउनका लागि आग्रह गरेका थिए । कृषकहरुको गुनासो सुन्दै नगर प्रमुखले पालिकाबाट सक्दो सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरेका थिए । नगरपालिकाले कृषिलाई प्राथमिकता दिइरहेकाले आगामी वर्षका लागि कृषकका गुनासा सम्बोधन गर्ने गरि बजेट विनियोजन गर्ने नगरप्रमुख न्यौपानेले बताए ।

अनुगमन पुर्व भएको परिचयात्मक कार्यक्रममा कारितास नेपालका प्रादेशिक कार्यालय गैंडाकोटका प्रमुख शंकर कुमार पौड्यालद्वारा देवचुली १ मा परियोजना अन्तर्गत भएका कामहरुको बारेमा जानकारी गराइएको थियो । कारितासले देवचुली १ मा कृषि समूह निर्माण गरि समुहलाई कृषि उत्पादन सम्बन्धि तालिम दिइएको र प्राविधिक साथै आर्थिक सहयोग गरि उत्पादनमा जोडनका लागि भुमिका खेलेको उनले बताए । कारितासले कृषकहरूलाई व्यक्तिगत तथा सामुहिक रुपमा तरकारी खेती, बाख्रापालन साथै कुखुरापालनका लागि सहयोग गरेको हो ।

परियोजनाको अनुगमन गर्दै नगर प्रमुखले कारितासको पुर्‍याएको सहयोगलाई अन्य वडा तिर पनि विस्तार गर्नका लागि आग्रह गर्दै नगरपालिका आवश्यक समन्वय रहने बताए । किसानसँग अन्तरक्रिया गर्दा किसानका समस्याहरु विस्तृत थाहा हुने र नगरले बनाउने नीति तथा कार्यक्रमका लागि सघाउ पुर्‍याउने उनलेे बताए ।

देवचुली १ मा कृषकहरुले विषादीरहित तरकारी उत्पादन गरिरहेका छन् । बोडी, करेला, लौका, घिरौँला, टमाटर, फर्सी, काक्रो, भिण्डी लगायतका तरकारीहरु उत्पादन गर्दै बजारमा पुर्‍याएका छन् । कृषकहरुका लागि कारितास नेपालले प्राविधिक तथा आर्थिक सहयोग गरेको छ । उक्त परियोजनाबाट घर बगैंचा कृषक समुहका १०७ जना, व्यावसायिक तर्फ बाख्रापालनका २० जना र होमस्टेबाट १४ जना प्रत्यक्ष लाभान्वित भएका छन् ।

वडा अध्यक्ष कृष्णबहादुर केसीले वडामा तरकारी उत्पादनमा वडाबासीहरु लागिरहेका र सिँचाईका लागि समन्वय गरिरहेको बताए । स्थानीय स्तरमा उत्पादित विषादीरहित तरकारीको प्रयोग गर्नका लागि देवचुली नगरबासीलाई समेत उनले आग्रह गरे ।

Write your Comment