आज:  २०८१ श्रावण १२, शनिबार | Sat, 27, Jul, 2024 Search
FLASH NEWS

देवचुली नगरपालिकालाई पूर्ण खोप सुनिश्चितता तथा दिगोपना घोषणा

    प्रकाशित २०८१ बैशाख ३०, आईतबार (२ महिना अघि)


देवचुली। देवचुली नगरपालिकालाई पूर्ण खोप सुनिश्चितता तथा दिगोपना घोषणा गरिएको छ। खोप लगाउने उमेर समूहका सबै बालबालिकालाई खोप लगाइएपछि आइतबार देवचुली नगरपालिकाको आयोजनामा आयोजित एक कार्यक्रमकाबीच पूर्ण खोप सुनिश्चितता तथा दिगोपना घोषणा गरिएको हो । देवचुली नगरपालिकाका नगर प्रमुख हरिप्रसाद न्यौपानेले पालिकालाई पूर्ण खोप सुनिश्चितता तथा दिगोपना घोषणा गर्नुभएको हो ।

देवचुली नगरपालिकाका पन्ध्र महिनासम्मका ८७६ जना र १६ देखि ५९ महिनासम्मका २४०७ जना बालबालिकालाई निरन्तर खोप लगाइरहेका स्वास्थ्य शाखा प्रमुख रामकुमार श्रेष्ठले जानकारी दिनुभयो । हरेक वर्ष निरन्तर खोप लगाउने कार्य गर्दै बैशाख महिनामा पालिकालाई पूर्ण खोप सुनिश्चितता तथा दिगोपना घोषणा गर्ने गरिएको उहाँले बताउनुभयो ।उहाँका अनुसार बालबालिकालाई अहिले १३ प्रकारका रोग विरुद्धका खोप लगाउने गरिन्छ।

पालिका खोप समन्वय समिति संयोजक समेत रहेका नगर प्रमुख हरिप्रसाद न्यौपानेको अध्यक्षतामा भएको कार्यक्रममा देवचुली नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत मुकुन्द शर्मा, नगर प्रवक्ता तिलप्रसाद काफ्ले, वडा अध्यक्षहरु, कार्यपालिका सदस्यहरू, स्वास्थ्य कार्यालय नवलपुरका प्रमुख मुक्ती भट्टराई, नगरमा रहेका स्वास्थ्य संस्थाका प्रमुख, स्वास्थ्य शाखाका कर्मचारीहरु, स्वास्थ्य स्वयंसेविकाहरु लगायत उपस्थिति रहेको थियो ।

नगर प्रमुख न्यौपानेले खोप लगाउने उमेर समूहका कुनैपनि बालबालिका खोपबाट बन्चित हुन नहुने बताउनुभयो । उहाँले खोप सुनिश्चिततालाई दीर्घकालीन बनाउने सवालमा नगरपालिका प्रतिबद्धता व्यक्त गर्नुभएको थियो । खोप सुनिश्चिततालाई दीर्घकालीन बनाउन सहयोग गर्ने सम्पूर्ण स्वास्थ्यकर्मीलाई उहाँले धन्यवाद दिनुभएको थियो ।

देवचुली नगरपालिकालाई २०७० चैत १२ गतेका दिन पहिलो पटक पूर्ण खोप घोषणा गरिएको थियो । प्रत्येक वर्ष पूर्ण खोप सुनिश्चितता तथा दिगोपना घोषणा गरिने गरिएको छ । कार्यक्रममा सहभागीहरुले आगामी वर्ष पनि खोप निरन्तरताका लागि प्रतिबद्धता हस्ताक्षर गरेका थिए । उक्त कार्यक्रमको सहजीकरण देवचुली नगरपालिका स्वास्थ्य शाखाका सिनियर अहेव अधिकृत पिताम्बर भुर्तेलले गर्नुभएको थियो ।

Write your Comment