आज:  २०८१ जेष्ठ २, बुधबार | Wed, 15, May, 2024 Search
FLASH NEWS

नवलपुर प्रिमियर लिग क्रिकेट प्रतियोगिता : आइतबार कावासोती सुपर किङ्गस र गैँडाकोट बिस्ट १७ विजयी

    प्रकाशित २०८१ बैशाख १७, सोमबार (२ हफ्ता अघि)


देवचुली । देवचुलीमा नवलपुर प्रिमियर लिग क्रिकेट प्रतियोगिता अन्तरगत आइतबार कावासोती सुपर किङ्गस र गैँडाकोट बिस्ट १७ विजयी भएका छन् । गैँडाकोट स्पोर्टसको आयोजनामा बैशाख १४ गतेदेखि १९ गतेसम्म देवचुली नगरपालिका वडा नम्बर १० स्थित रोयल क्रिकेट एकेडेमीको क्रिकेट ग्राउण्डमा संचालन भइरहेको प्रतियोगितामा आइतबार कावासोतीले नवलपुर नाइट राइडर्सलाई र गैंडाकोटले रोयल अमरापुरीलाई हराएको हो ।

आइतबार भएको पहिलो खेलमा नवलपुर नाइट राइडर्सलाई २५ रनले हराउँदै कावासोती सुपर किङ्गस विजयी भएको हो । पहिले ब्याटिङ गरेको कावासोती सुपर किङ्गसले क्रिजन गुरुङको ४७ रन र सरोज खत्रीको ३३ रनको मदतले २० ओभरमा ४ विकेट गुमाउँदै १२६ रन बनाएको थियो । बलिङ तर्फ नवलपुर नाइट राइडर्सका अदुत राउतले २ विकेट र संघर्ष पौडेलले १ विकेट लिएका थिए ।

१२७ रनको विजयी लक्ष्य लिई मैदानमा उत्रिएको नवलपुर नाइट राइडर्सले २० ओभरमा ९ विकेट गुमाउँदै १०१ रन मात्र बनाएको हो । नवलपुर नाइट राइडर्सका विदुर पुनले ३१ रन र संघर्ष पौडेलले १४ रन बनाएका थिए। त्यसै गरि बलिङतर्फ कावासोतीका कैलाश पंगेनीले ३ विकेट र शिशिर भुसालले २ विकेट लिएका थिए। पहिलो खेलमा कावासोतीका क्रिजन गुरुङ प्लेयर अफ दि म्याच भएका थिए ।

आइतबार नै भएको दोस्रो खेलमा गैँडाकोट बिस्ट १७ ले रोयल अमरापुरीलाई ९ विकेटले हराएको छ। पहिले ब्याटिङ गरेको रोयल अमरापुरीले क्रिजन काफ्लेको ७ रन र सुजन श्रेष्ठको ६ रनको मदतले १० ओभरमा १० विकेट गुमाउँदै मात्र ३७ रन बनाएको थियो । अमरापुरीको पारी ध्वस्त बनाउन गैँडाकोट बिस्ट १७ का कशिश सुबेदी र त्रिशन चौलागाईंले ३/३ विकेट लिएका थिए ।

३८ रनको विजयी लक्ष्य लिई मैदानमा उत्रिएको गैँडाकोट बिस्ट १७ ले ३.३ ओभरमा १ विकेट गुमाउँदै ४० रन बनाउँदै ९ विकेटको जित दर्ता गरेको हो । गैँडाकोट बिस्ट १७ का अनिश गुरुङले नट आउट १३ रन र निशान्त मैनालीले ११ रन बनाएका थिए। त्यसै गरि बलिङ तर्फ रोयल अमरापुरीका विशाल पौडेलले १ विकेट विकेट लिएका थिए। दोस्रो खेलमा गैँडाकोट बिस्ट १७ का कशिश सुबेदी प्लेयर अफ दि म्याच भएका थिए ।

प्रतियोगितामा बिजेता हुने टीमलाई ६५ हजार, उपविजेतालाई ५० हजार पुरस्कारसहित ट्रफि, मेडल र प्रमाणपत्र प्रदान गरिने छ । प्रतियोगिता लिगको आधारमा हुनेछ । त्यस्तै प्रतियोगितामा प्लेयर अफ द सिरिज ११ हजार, ट्रफि र मौलाकाली केबलकारको ४ वटा टिकट, बेष्ट ब्याटर ५ हजार ५ सय, बेष्ट बलर ५ हजार ५ सय, इमर्जिङ प्लेयर ४ हजार सहित मौलाकाली केबलकारको २ वटा टिकट, प्लेयर अफ द म्याचलाई १ हजार र एउटा केबलकारको टिकट प्रदान गरिने छ ।प्रतियोगिता अन्तरगत सोमबार मौलाकालिका वारियर्सविरुद्ध नवलपुर नाइट राइडर्स र कावासोती सुपर किङ्गस विरुद्ध गैँडाकोट बिस्ट १७ बिच हुने आयोजकले जनाएको छ ।

Write your Comment