आज:  २०८१ बैशाख २५, मंगलबार | Tue, 07, May, 2024 Search
FLASH NEWS

नवलपुर प्रिमियर लिग क्रिकेट प्रतियोगिता : गैँडाकोट बिस्ट १७ को विजयी सुरुवात

    प्रकाशित २०८१ बैशाख १४, शुक्रबार (१ हफ्ता अघि)


देवचुली । देवचुलीमा नवलपुर प्रिमियर लिग क्रिकेट प्रतियोगिता आजबाट सुरु भएको छ । गैँडाकोट स्पोर्टसको आयोजनामा बैशाख १४ गतेदेखि १९ गतेसम्म देवचुली नगरपालिका वडा नम्बर १० स्थित रोयल क्रिकेट एकेडेमीको क्रिकेट ग्राउण्डमा संचालन हुने प्रतियोगिता को नेपाल क्रिकेट संघ ( क्यान) का केन्द्रिय उपाध्यक्ष रोशन कुमार सिंहले समुदघाटन गरेका हुन् ।


प्रतियोगिता समुदघाटन बोल्दै क्यानका उपाध्यक्ष सिंहले प्रतियोगिताले स्थानीय स्तरमा रहेका खेलाडीको क्षमता प्रदर्शनलाई सहयोग पुर्‍याउने भन्दै क्यानले नवलपुरका लागि विशेष प्राथमिकता दिइरहेको बताए । ६० जना भन्दा बढी खेलाडीहरु सहभागी हुने प्रतियोगिताबाट उमेर समुहका खेलाडी छनोटलाई समेत सहयोग हुने उनले बताए ।

शुक्रबार भएको उद्घाटन खेलमा गैँडाकोट बिस्ट १७ ले नवलपुर नाइट राइडर्सलाई ४ विकेटले हराएको छ। पहिले ब्याटिङ गरेको नवलपुर नाइट राइडर्सले कुनाल बस्नेतको ४२ रन र संघर्ष पौडेलको १६ रनको मदतले २० ओभरमा ८ विकेट गुमाउँदै १०४ रन बनाएको थियो । बलिङ तर्फ गैँडाकोट बिस्ट १७ का दिपेश श्रेष्ठले ३ र दिप श्रेष्ठले २ विकेट लिएका थिए ।


१०५ रनको विजयी लक्ष्य लिई मैदानमा उत्रिएको गैँडाकोट बिस्ट १७ ले १४ ओभरमा ६ विकेट गुमाउँदै १०७ रन बनाई ४ विकेटको जित हात पारेको हो । गैँडाकोट बिस्ट १७ का विकल गुप्ताले नटआउट २६ रन र समीर कंडेलको २२ रन बनाएका थिए। त्यसै गरि बलिङ तर्फ नवलपुर नाइट राइडर्सका नारायण प्रधानले २ विकेट र अश्विन थापाले १ विकेट लिएका थिए। आजको खेलमा गैँडाकोट बिस्ट १७ का दिपेश श्रेष्ठ प्लेयर अफ दि म्याच भएका थिए ।

गैँडाकोट स्पोर्टसका अध्यक्ष विवेक न्यौपानेको अध्यक्षता भएको प्रतियोगिताको समुदघाटनमा क्यानका केन्द्रिय सदस्य एवं पुर्व कार्यवाहक सचिव दुर्गाराज पाठक, गण्डकी प्रादेशिक क्रिकेट संघका उपाध्यक्ष प्रकाश पौडेल, क्यान नवलपुर ,चितवनका पदाधिकारीहरु, वडा अध्यक्षहरु लगायत विभिन्न संघ संस्थाका प्रतिनिधिहरुको उपस्थिति रहेको थियो ।


प्रतियोगितामा मौलाकालिका वारियर्स, कावासोती सुपर किङ्गस, रोयल अमरापुरी, गैँडाकोट बिस्ट १७ र नवलपुर नाइट राइडर्स गरी ५ टिमको सहभागिता रहेको गैँडाकोट स्पोर्टसका अध्यक्ष विवेक न्यौपानेले जानकारी दिए ।प्रतियोगितामा बिजेता हुने टीमलाई ६५ हजार, उपविजेतालाई ५० हजार पुरस्कारसहित ट्रफि, मेडल र प्रमाणपत्र प्रदान गरिने छ । प्रतियोगिता लिगको आधारमा हुनेछ । त्यस्तै प्रतियोगितामा प्लेयर अफ द सिरिज ११ हजार, ट्रफि र मौलाकाली केबलकारको ४ वटा टिकट, बेष्ट ब्याटर ५ हजार ५ सय, बेष्ट बलर ५ हजार ५ सय, इमर्जिङ प्लेयर ४ हजार सहित मौलाकाली केबलकारको २ वटा टिकट, प्लेयर अफ द म्याचलाई १ हजार र एउटा केबलकारको टिकट प्रदान गरिने छ ।

प्रतियोगिता अन्तरगत शनिबार नवलपुर नाइट राइडर्सका विरुद्ध रोयल अमरापुरी र गैँडाकोट बिस्ट १७ का विरुद्ध मौलाकालिका वारियर्सबिच हुने आयोजकले जनाएको छ ।

Write your Comment