आज:  २०८१ श्रावण ५, शनिबार | Sat, 20, Jul, 2024 Search
FLASH NEWS

घरबास सञ्चालनबाट आत्मनिर्भर नवलपुरका महिला

    प्रकाशित २०८१ बैशाख ८, शनिबार (३ महिना अघि)


नवलपुर । नवलपुरको कावासोती–१० निवासी बालकुमारी महतोलाई अहिले घरखर्च कसरी चलाउने भन्ने पिर छैन । पाँच वर्ष यहाँ घरबास सञ्चालन गरेर प्राप्त भएको आम्दानीले उहाँलाई आत्मनिर्भर बनाएको छ । पाँच वर्षअघि कावासोती–१० मा चिलाहा रतवल सामुदायिक ग्रामीण घरबास सञ्चालन भएपछि महतोजस्तै यहाँका महिलाको क्षमता विकाससँगै आर्थिक विकासमा समेत सहयोग पुगेको छ । “पहिले केही खेतीपातीबाट आम्दानी हुन्थ्यो, त्यसैको भर थियो, अहिले घरबास सञ्चालनपछि पाहुनाको स्वागत गर्यो, आम्दानी पनि भएकै छ”, घरबास सञ्चालक रेशमकुमारी महतोले भन्नुभयो । घरबासमा आउने पाहुनालाई थारू संस्कृति प्रस्तुत गर्ने, थारू समुदायका परिकार खुवाउने र त्यसैबाट आम्दानी हुने गरेको उहाँले बताउनुभयो ।

घरबास सञ्चालनले आम्दानीसँगै महिलाको क्षमता विकासमा सहयोग पुगेको छ । खेतीपाती, पशुपालनमा रमाउने महिला अहिले पाहुनाको स्वागतमा व्यस्त हुन्छन् । “पहिले खासै अरुसँग राम्रोसँग बोल्न पनि लाज लाग्थ्यो, तर अहिले नबोली व्यवसाय चल्दैन, घरबासले बोल्न पनि सिकायो”, रेशमकुमारीले भन्नुभयो ।

बालकुमारी र रेशमकुमारी जस्तै घरबास सञ्चालन गर्ने अन्य महिलामा समेत यो परिवर्तन आएको छ । घरबास सञ्चालन भएपछि यहाँका महिलाको क्षमता विकासमा मात्रै होइन आत्मनिर्भर बन्न र गाउँकै विकास गर्न टेवा पुर्याएको छ ।

थारू समुदायको बाहुल्य रहेको चिलाहा गाउँ, सदरमुकाम कावासोतीमै पर्ने भएपनि पिछडिएको थियो । निम्न आयश्रोत र मध्यवर्ती नजिकै पर्ने हुँदा जंगली जनवारले दुख दिने अन्नबाली लगायो । गैंडा मयुर बँदेलले खाइदिने, पशुपक्षी अजिंगर, स्याल लगायतका जनवारले खाइदिने । जसका कारण पनि यहाँका समुदायको जीवन स्तर माथि उठ्न सकेको थिएन । तर घरबास सञ्चालन पछि अहिले गाउँको मुहार फेरिएको र समुदायको जीवन स्तर पनि माथि उठेको रेशम कुमारी महतोले बताउनुभयो ।

घरबास सञ्चालनको सबैजसो जिम्मा महिलाकै हातमा छ । पाहुनाको स्वागत, खानपानदेखि सांस्कृतिक प्रस्तुतिलगायत काम महिलाहरू मिलेर गर्छन् । पुरुषले पनि उनीहरूलाई सघाउँछन् । घरबासमा अहिलेसम्म आन्तरिक र बाह्य गरी ११ हजार हाराहारी पर्यटकको आगमन भएको घरबासका व्यवस्थापक प्रेमबहादुर मुखियाले बताउनुभयो ।

यहाँ आउने पाहुनाले घरकै स्वाद र घरमै बसेजस्तो अनुभव गर्न पाउँछन् । अर्कातर्फ गाउँबस्तीमा पसेर दुःख दिने जङ्गली जनावर देखाएरसमेत आम्दानी गरेका छन् । यहाँ पर्यटकको अर्को आकर्षण भनेको जिप सफारी हो । मध्यवर्ती क्षेत्रमा गैँडा, मृग, हरिण, बँदेल, मयुर, नारायणी नदीमा गोही, विभिन्न प्रजातिका चराचुरुङ्गी सफारीमा देख्न पाइन्छ । प्रकृति र संस्कृतिको संरक्षण गर्दै समुदायको विकास र जीवनस्तर उकास्ने घरबास सहयोगी भएको कावासोती–१० का वडाध्यक्ष टेकनारायण महतोले बताउनुभयो । रासस

Write your Comment