आज:  २०८१ बैशाख १७, सोमबार | Mon, 29, Apr, 2024 Search
FLASH NEWS

देवचुली १ मा महिलाहरुका लागि नि:शुल्क स्वास्थ्य शिविर

    प्रकाशित २०८१ बैशाख ३, सोमबार (२ हफ्ता अघि)


देवचुली। देवचुली नगरपालिका वडा नम्बर १ बोटेटोलमा महिलाहरुका लागि नि:शुल्क स्वास्थ्य शिविर गरिएको छ। देवचुली नगरपालिका स्वास्थ्य शाखाको आयोजनामा स्तन तथा पाठेघरको क्यान्सर रोकथामका लागि स्क्रिनिङ्ग तथा स्त्रीरोग सम्बन्धि नि:शुल्क स्वास्थ्य शिविर गरिएको हो ।

देवचुली नगरपालिकाका नगर प्रमुख हरिप्रसाद न्यौपानेले शिविरको समुदघाटन गर्नुभएको हो । स्वास्थ्य शिविरको समुदघाटनमा देवचुली नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत मुकुन्द शर्मा, देवचुली १ का वडा अध्यक्ष कृष्णबहादुर केसी, देवचुली नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख रामकुमार श्रेष्ठ, डा. रविन भुसाल, देवचुली स्वास्थ्य शाखा सिनियर अहेव अधिकृत शिव पराजुली, सिनियर अहेव अधिकृत पिताम्बर भुर्तेल, सिता न्यौपाने लगायत स्वास्थ्यकर्मीको उपस्थिति रहेको थियो ।

शिविर समुदघाटनमा बोल्दै नगर प्रमुख न्यौपानेले नगरबासीको स्वास्थ्य सेवाका लागि पालिकाले योजनाबद्ध रुपमा काम गरिरहेको बताउनुभयो । नगरपालिकाले गाउँ गाउँमा स्वास्थ्य सेवाहरु विस्तार गरिरहेको बताउँदै सहज रुपमा आफ्नो स्वास्थ्य समस्याको उपचार गर्न उहाँले आग्रह समेत गर्नुभएको थियो ।

सोमबार भएको शिविरमा ८२ जना महिलाहरुले सेवा लिएका थिए । जसमध्ये ३ जनामा सर्भिकल पोलिप, १ जनामा टच ब्लिडिङ्ग, १ जनामा व्रेष्टमास समस्या देखिएको र ७ जनालाई रिफर गरिएको देवचुली नगरपालिका स्वास्थ्य शाखाले जनाएको छ। स्वास्थ्य शाखाले नगरका अन्य स्थानमा समेत आवश्यकताका आधारमा शिविर संचालन गरिएको र आगामी दिनमा समेत निरन्तरता दिइने स्वास्थ्य शाखा प्रमुख रामकुमार श्रेष्ठले बताउनुभयो ।

Write your Comment