आज:  २०८१ बैशाख १७, सोमबार | Mon, 29, Apr, 2024 Search
FLASH NEWS

देवचुली ६ मा महिलाहरुलाई उदघोषण तथा नेतृत्व विकास सम्बन्धि तालिम सुरु

    प्रकाशित २०८१ बैशाख २, आईतबार (२ हफ्ता अघि)


देवचुली। देवचुली नगरपालिका वडा नम्बर ६ मा महिला सशक्तीकरण कार्यक्रम सुरु भएको छ। लाफा महिला समुहको आयोजना तथा देवचुली ६ वडा कार्यालयको सहयोगमा बैशाख २ गतेदेखि ४ गतेसम्म कार्यक्रम गरिएको हो ।

लाफा महिला समुहको अध्यक्ष देवकुमारी गाहाको अध्यक्षता भएको कार्यक्रमको उद्घाटनमा देवचुली ६ का वडा अध्यक्ष मिनबहादुर सोती मगरको प्रमुख आतिथ्यता रहेको थियो। कार्यक्रममा वडा सदस्यहरु दुर्गामाया बाचे मगर, गुमबहादुर थापा मगर ,नरबहादुर ठाडा मगर, आमा समुहका प्रतिनिधि लगायत विभिन्न टोलका महिलाहरूको उपस्थितिमा कार्यक्रमको उदघाटन गरिएको हो ।

तीन दिनसम्म संचालन हुने कार्यक्रममा महिला सशक्तीकरण,बैठकको माइन्युट लेखन तथा उदघोषण लगायतको विषयमा सहजीकरण गरिने वडा अध्यक्ष मिनबहादुर सोतीले जानकारी दिनुभयो । वडामा हुने अबका कार्यक्रम संचालनका लागि तालिममा सहभागी महिलाहरूले अग्रसर हुनुपर्ने भएकाले सोही अनुसार सिकेका सीपहरु व्यवहारमा प्रयोग गर्नका लागि सहभागीलाई आग्रह गर्नुभएको थियो। वडाले महिलाहरुका लागि आगामी वर्ष पनि मागका आधारमा बजेट विनियोजन गर्ने समेत उहाँले प्रतिबद्धता व्यक्त गर्नुभएको थियो।

तालिमको पहिलो दिन महिला सशक्तीकरणको आवश्यकता, क्षमता अभिवृद्धि लगायतका विषयमा जागृति बाल तथा युवा सरोकार नेपालका महासचिव दिपक शर्मा, माइन्युट लेखन र औपचारिक कार्यक्रम संचालन गर्ने लगायतका विषयमा देवचुली नगरपालिकाका बालमैत्री परामर्शदाता खिमानन्द भुसालले सहजीकरण गर्नुभएको थियो।कार्यक्रममा सोमबार र मंगलबार उदघोषण लगायतका विषयमा सहजीकरण गरिने आयोजकले जनाएको छ।

कार्यक्रममा देवचुली ६ का मुण्डे, कीर्तिपुर, कुमसोत लगायतका गाउँबाट ५० भन्दा बढी महिलाको सहभागिता रहेको थियो। उदघाटन सत्रको कार्यक्रम संचालन वडा सदस्य मनकुमारी बिकले गर्नुभएको थियो।

Write your Comment