आज:  २०८१ बैशाख १७, सोमबार | Mon, 29, Apr, 2024 Search
FLASH NEWS

तपाईं पनि राख्नुहोस् मोबाइलमा नेपाल प्रहरीको मोबाइल एप, यस्ता छन् फाईदाहरु

    प्रकाशित २०८० चैत्र २९, बिहिबार (२ हफ्ता अघि)


काठमाडौं । नेपाल प्रहरीको एपमा आम सर्वसाधारणले आफ्नो सुरक्षाका लागि मोबाइलमा राख्नै पर्ने किसिमका सुविधा थप गरेको छ । विभिन्न किसिमका सूचना र सन्देशहरू सङ्कलन तथा सम्प्रेषण गर्न २४ असोज २०७६ मा सार्वजनिक भएको एपमा पछिल्लो समय आपत्कालीन लगायतका सेवा सुविधा थपिए हुन् ।

यसमा रहेको रिपोर्ट इन्सिडेन्ट फिचरको सहयोगमा आम नागरिकले आकस्मिक रूपमा प्रहरीबाट सहयोग चाहिएमा रिपोर्ट गर्न सक्छन् । यसका लागि एपमा रहेको प्यानिक मोड अन्तर्गतको फिचर इनेबल समेत गर्न सकिन्छ । यसो गर्ने बित्तिकै नेपाल प्रहरीको ड्याशबोर्डमा सो व्यक्तिको सम्पर्क नम्बर र रहेको स्थान सहितको सूचना पुग्छ र सम्बन्धित स्थानमा प्रहरी परिचालित हुन्छ ।

साथै यसमा आपत्कालीन सम्पर्कका लागि इमर्जेन्सी नम्बर, ट्राफिक एफएम, प्रहरीका विभागीय तथा अन्य समाचार पढ्न न्युज र नेपाल प्रहरीका सम्पूर्ण सूचनाका लागि नोटिस जस्ता सुविधा रहेका छन् । यति मात्र नभएर पुलिस स्टेसन नियरबाईबाट नजिकैको प्रहरी कार्यालय र त्यहाँको सम्पर्क नम्बर पाउन सकिन्छ । एपमै रहेको ई-कम्प्लेनमा गएर प्रहरी सम्बन्धी गुनासो र सेवा बारे उजुरी दिन पनि मिल्छ भने पुलिस क्लियरेन्स रिपोर्ट समेत यसैबाट प्राप्त गर्न सकिन्छ ।

नेपाल प्रहरीका केन्द्रीय प्रहरी प्रवक्ता प्रहरी नायब महानिरीक्षक भिमप्रसाद ढकाल हाल ७७ ओटै जिल्लामा प्रहरी एपमार्फत आएका गुनासो र सूचनाका आधारमा नजिकैको प्रहरी कार्यालयबाट तुरुन्त प्रहरी परिचालन गर्ने व्यवस्था मिलाइएको बताउँछन् । उनी भन्छन्, “समुदायमा घट्ने आपराधिक क्रियाकलाप, विभिन्न घटनाहरू तथा सूचनाहरूलाई छिटो छरितो र प्रविधि युक्त तवरबाट सम्बोधन गरी थप क्षति हुन नदिन तथा अपराधीलाई तत्काल नियन्त्रणमा लिनुका साथै समग्र शान्ति सुरक्षा तथा अमनचयन कायम राख्न एपले सहयोगी भूमिका निर्वाह गर्दै आएको छ ।”

नेपाल प्रहरीको आन्तरिक प्रयोजन अन्तर्गत यस प्रणाली मार्फत इन्ट्रानेट पोर्टल (Nepol.cd), पीएमआईएस, जिओ-अटेन्डेन्स, पुलिस क्यालेन्डर, जीपीएस ट्रयाकर, पेट्रोलिङ जस्ता सुविधा पनि राखिएका छन् ।

तुरुन्तै रिपोर्ट गर्न पब्लिक आई नामक विकल्प प्रयोग गर्न सकिन्छ । नेपाल प्रहरीलाई घटनाको छिटो छरितो रिपोर्टिङ गर्न मोबाइल एपले सहयोग पुर्‍याइरहेको छ । नेपाल प्रहरीको जिम्मेवारीको क्षेत्र निकै फराकिलो रहेको, तर जनशक्ति न्यून रहेको अवस्थामा मोबाइल एपको प्रयोग गरी आम नागरिकले प्रहरीसँग सम्बन्धित सूचना जीपीएसमा आधारित रहेर फोटो, भिडिओ, अडिओ र लिखित सूचनासहित खबर गर्न सकिने सुविधा रहेको छ ।

यो एपको विकास तथा व्यवस्थापन नेपाल प्रहरी प्रधान कार्यालय सूचना प्रविधि निर्देशनालयले गर्दै आएको छ । निर्देशनालयका प्रहरी उपरीक्षक सरोज शाक्यका अनुसार हरेक नागरिकले आफू सुरक्षित हुन र प्रहरीलाई पनि सघाउन यो एप प्रयोग गर्न सक्छन् । “यसमा थप सुविधा समावेश गरी एप परिमार्जनको काम भइरहेको छ,” उनी भन्छन्, “छिट्टै यो एपको नयाँ भर्सन सार्वजनिक हुनेछ । यसले गर्दा नयाँ एन्ड्रोइड डिभाइसहरूको गुगल प्लेस्टोरको लिस्टिङमा अपडेटको अवधिभर यो एप नदेखिने अवस्था रहेको हुन सक्छ ।”

मोबाइल एपमा नेपाल प्रहरीका कर्मचारी तथा आम नागरिक सबैलाई सहज हुने गरी विभिन्न सुविधा समावेश गरिएका छन् । प्रहरी नायब महानिरीक्षक ढकाल आम नागरिकलाई सूचना मैत्री बनाई सुरक्षित समाजको निर्माण गर्न अहम् भूमिका निर्वाह गर्ने भएकाले आम सर्वसाधारणलाई यो एप प्रयोग गर्न अनुरोध समेत गरेका छन् ।

नेपाल प्रहरीले विश्वमा प्रविधिको विकास सँगसँगै आफूले सम्पादन गर्ने कार्यलाई प्रविधिमैत्री बनाउँदै लैजाने उद्देश्यका साथ काम गरिरहेको छ । स्मार्ट फोन र अन्य मोबाइल उपकरणहरूमा सर्वसाधारण जनताको पहुँच सहज भएसँगै मोबाइल एपको प्रयोग पनि बढ्दै गएको छ ।

हालसम्म यो एप एक लाख आठ हजार ९८ जनाले प्रयोग गरिरहेका छन् । जसमा ५५ हजार २२८ जना सर्वसाधारण र ५२ हजार ९७० जना प्रहरी कर्मचारी रहेका छन् । यो एपमार्फत हालसम्म नौ हजार ३८४ ओटा घटनाको खबर प्राप्त भएको प्रहरीले जनाएको छ ।

नेपाल प्रहरीको मोबाइल एप डाउनलोड गर्न एन्ड्रोइडका लागि यहाँ क्लिक गर्नुहोस् अनि आईओएसका लागि यहाँ क्लिक गर्नुहोस् । यो एपमा प्रहरी कर्मचारीहरूले युजरनेम र पासवर्ड राखेर अनि सर्वसाधारणले आफ्नो नाम, मोबाइल नम्बर, ईमेल र ठेगाना भरेर रजिस्ट्रेसन गरी भेरिफाई पश्चात् लगइन गर्न सक्छन् ।

Write your Comment