आज:  २०८१ बैशाख २३, आईतबार | Sun, 05, May, 2024 Search
FLASH NEWS

प्रथम वडा स्तरीय फुटबल प्रतियोगिता : शनिबार देवचुली ५ र देवचुली ७ विजयी

    प्रकाशित २०८० चैत्र २४, शनिबार (४ हफ्ता अघि)


देवचुली। देवचुली १६ मा संचालित प्रथम वडा स्तरीय फुटबल प्रतियोगितामा शनिबार देवचुली ५ र देवचुली ७ विजयी भएका छन् । युवा तथा खेलकुद विकास समिति देवचुली १६ को आयोजना तथा धुसेरी सामुदायिक वन उपभोक्ता समिति र लायन्स क्लब अफ रजहर सिटीको सह आयोजनामा देवचुली १६ को देवचुली माध्यमिक विद्यालयको खेल मैदान रजहरमा भएको खेलमा देवचुली ७ ले देवचुली ८ लाई पराजित गरेको छ भने देवचुली ५ ले देवचुली १० लाई पराजित गर्दै दोस्रो चरणमा प्रवेश गरेको छ।

शनिबारको पहिलो खेलमा देवचुली ७ ले देवचुली ८ लाई १-० गोल अन्तरले हराएको हो । त्यसै गरि दोस्रो खेलमा देवचुली ५ ले देवचुली १० लाई ट्राइबेकरमा ४-२ गोल अन्तरले हराउँदै अर्को चरण प्रवेश गरेको हो । निर्धारित समयको खेलमा दुवै टिमबाट १-१ गोल भएपछि खेल ट्राईबेकरमा गएको थियो। पहिलो खेलमा देवचुली ७ का अनुप परियार म्यान अफ दि म्याच भएका थिए भने दोस्रो खेलमा देवचुली ५ का गोलरक्षक प्रदिप तिवारी म्यान अफ दि म्याच भएका थिए ।

प्रतियोगितामा प्रथम हुने वडाले नगद ५१ हजार १ सय ११ रुपैयाँसहित मेडल,प्रमाणपत्र र ट्रफी प्राप्त गर्नेछ भने उपबिजेता हुने वडाले नगद २५ हजार ५ सय ५५ रुपैयाँसहित मेडल,प्रमाणपत्र र ट्रफी प्राप्त गर्नेछ।त्यसै प्रतियोगितामा सेमिफाइनलमा पुग्ने वडाले नगद ५ हजार रुपैयाँ प्राप्त गर्नेछ। प्रतियोगितामा प्रत्येक दिनको उत्कृष्ट खेलाडीलाई पुरस्कारको व्यवस्था रहेको युवा तथा खेलकुद विकास समिति देवचुली १६ का अध्यक्ष आनन्द बानियाँले जानकारी दिनुभयो । प्रतियोगितामा आइतबारको पहिलो खेल देवचुली ३ का विरुद्ध देवचुली १२ र दोस्रो खेल देवचुली १३ का विरुद्ध देवचुली १७ `ए´ बिच हुने आयोजकले जनाएको छ ।

Write your Comment