आज:  २०८१ कार्तिक ७, बुधबार | Wed, 23, Oct, 2024 Search
FLASH NEWS

नारायणगढ-बुटवल सडक : पूर्वी खण्डमा २९ किलोमिटर कालोपत्रे

    प्रकाशित २०८० चैत्र २१, बुधबार (६ महिना अघि)


दयाराम आचार्य, नवलपुर । नारायणगढ – बुटवल सडक विस्तार योजना अन्तरगत नवलपरासी पूर्वी खण्डमा २९ किलोमिटर सडक कालोपत्रे भएको छ । यस खण्डको ११३ किलोमिटर सडक मध्य पूर्वी खण्डमा करिब ६५ किलोमिटर पर्दछ । नवलपुरको गैँडाकोटदेखि दाउन्ने सम्मको ६५ किलोमिटर सडकमा हाल २९ किलोमिटर कालोपत्रे गर्ने काम सकिएको निर्माणको जिम्मा पाएको चाइना स्टेट कन्स्ट्रक्सन इन्जिनियरिङ कर्पोरेसनका ठेक्का सह व्यवस्थापक राकेश झाँले बताउनुभयो ।

पूर्वी खण्डको ६५ किलोमिटर सडक मध्य १९ किलोमिटर एक तर्फ र अर्को तर्फ १० किलोमिटर गरि २९ किलोमिटर सडक कालोपत्रे गर्ने काम सकिएको ठेक्का सह व्यवस्थापक झाँले बताउनुभयो । आउँदो साउनमा दोस्रो पटक थपिएको म्याद सकिने नारायणगढ – बुटवल सडक विस्तार योजनाको हाल सम्मको प्रगति भने ४८ दशमलब ६१ प्रतिशत पुगेको छ । विसं २०७५ माघमा सम्झौता भएर नारायणगढ –बुटवल सडक विस्तारको काम थालिएको थियो । आफूहरुले आउँदो असार सम्ममा गैँडाकोटदेखि दुम्किबास सम्म एकतर्फी सडक कालोपत्रे गरेर सक्ने लक्ष्य राखेर काम गरिरहेको कर्पोरेसनका ठेक्का सह व्यवस्थापक झाँले बताउनुभयो । ‘हाम्रो लक्ष्य दाउन्ने बाहेक पूर्वी खण्डमा एकतर्फी रुपमा कालोपत्रे गरेर सक्ने छ, कुनै अवरोध नआए सक्छौं’ ठेक्का सह व्यवस्थापक झाँले भन्नुभयो । दाउन्नेमा भित्ता काट्ने काम जारी रहेको छ । पाँच किलोमिटर दाउन्ने क्षेत्रमा अब करिब तीन सय मिटरमा भित्ता काट्ने काम बाँकी रहेको उहाँले बताउनुभयो । एक हप्ता सम्ममा दाउन्नेमा भित्ता काट्ने काम सकिने उहाँको भनाई छ ।

यातायात आवागमनलाई सहज पार्न पहिलो चरणमा एकतर्फी सडक कालोपत्रे सक्ने योजना अनुसार काम भइरहेको उहाँले बताउनुभयो । अहिले दैनिक जसो कालोपत्रे गर्ने काम भएको र डण्डा चोरमारा खण्डमा एकदुई दिनमा कालोपत्रेको काम सकिने उहाँले बताउनुभयो । पूर्वी खण्डको कावासोती र डण्डा बजार क्षेत्रमा भने दुईतर्फी रुपमा कालोपत्रे गर्ने गरि काम चलिरहेको झाँले बताउनुभयो । बजार क्षेत्रमा सर्भिस लेन सहित ६ , दाउन्ने खण्डमा तीन र अन्य क्षेत्रमा ४ लेनको सडक निर्माण हुने छ । गैँडाकोटदेखि दाउन्ने सम्म पहिलो खण्ड र दाउन्नेदेखि बुटवल सम्म दोस्रो खण्डमा विभाजन गरि निर्माणको काम चलिरहेको छ । करिब १७ अर्ब लागत लाग्ने यो योजना लामो समय सम्म निर्माण सम्पन्न नहुँदा यस खण्डमा यात्रा गर्ने यात्रु र चालकले सास्ती खेप्दै आएका छन् ।

कालोपत्रेको काम सँगै पूल निर्माणको कार्य समेत अगाडी बढिरहेको ठेक्का सह व्यवस्थापक झाँले बताउनुभयो । नारायणगढ – बुटवल सडक विस्तार योजना अन्तरगत पूर्वी खण्डमा ठूला पुल १२ वटा निर्माण हुनेछन् । यस खण्डमा साना २२ वटा पुल निर्माण गर्नुपर्नेमा करिब सबै पुल निर्माण सकिएको छ । ठूला पुलहरु निर्माणको काम समेत चलिरहेको उहाँले बताउनुभयो ।

Write your Comment