आज:  २०८१ बैशाख १५, शनिबार | Sat, 27, Apr, 2024 Search
FLASH NEWS

बालिका अधिकार संरक्षण सम्बन्धि देवचुलीका जनप्रतिनिधिसँग छलफल

    प्रकाशित २०८० चैत्र १०, शनिबार (१ महिना अघि)


देवचुली । बालिका अधिकार संरक्षण सम्बन्धि देवचुलीका जनप्रतिनिधिसँग छलफल तथा अन्तरक्रिया सम्पन्न गरिएको छ। बालिका अधिकार संरक्षणमा जनप्रतिनिधिको भुमिकाको बारेमा देवचुली १० मा रहेको बालिका सिकाई तथा स्रोत केन्द्रको सभाहलमा महिला जनप्रतिनिधिहरुसँग छलफल गरिएको हो । क्यान्नलनको सहयोगमा जागृति बाल तथा युवा सरोकार नेपालको आयोजना तथा नवलपुर किशोरी संजालको समन्वय कार्यक्रम गरिएको हो।

स्थानीय तहमा बालिका अधिकार र सामाजिक मुद्दाहरुको सम्बोधनको लागि जनप्रतिनिधिको भुमिकाको बारेमा बाल अधिकारकर्मी खिमानन्द भुसालले कार्यपत्र प्रस्तुत गर्नुभएको थियो ।
उहाँले स्थानीय तहले आफुले गरेका साना साना कामको बारेमा पनि थाहा हुनुपर्ने र जनतालाई पुगेको फाईदाको बारेमा पनि थाहा हुनुपर्नेमा जोड दिनुभयो । नगरले मानवीय विकास र सामाजिक विकासमा चासो दिदै काम गर्नुपर्ने र भएका कामको चासो राखी जनताको अर्थपुर्ण सहभागिता बढाउनुपर्ने बताउनुभयो ।

जागृती बाल तथा युवा सरोकार नेपालका महासचिव दिपक शर्माले संस्थाले कावासोती र देवचुलीमा किशोरी सशक्तीकरण कार्यक्रम अन्तर्गत भएका कार्यक्रमहरुको बारेमा जानकारी प्रदान गर्नुभएको थियो । सो कार्यक्रमबाट आएका सुझाव प्रस्तुत गर्दै समाजमा व्याप्त हिंसा, शोषण र दुर्व्यवहार अन्त्यको लागि नितिगत र सचेतनामुलक कार्यक्रमहरु सन्चालनको आवश्यकता रहेको बताउनुभयो ।

जिल्ला प्रहरी कार्यालय नवलपुरका महिला बालबालिका शाखाको प्रमुख बिन्दु बिकले नवलपुरमा विगत बर्षदेखि हाल सम्मका हिंसा र दुर्व्यवहारको तथ्यांक प्रस्तुत गर्दै अझै पनि हिंसा र दुर्व्यवहारको रोकथामको लागि काम गर्नुपर्ने बताउनु भएको थियो । आज पनि घरभित्र नै बालिका र महिलाहरु हिंसाको सिकार हुनुले समाजमा अझै पनि सामाजिक मुद्दामा काम गर्नुपर्ने देखिएको र यसको लागि स्थानीय तहका जनप्रतिनिधिहरु नै चासो राखी काम गर्नुपर्नेमा जोड दिनुभएको थियो । महिला जनप्रतिनिधि हुनुको नाताले पनि सक्षम महिला र समृद्ध नगरको निर्माणको लागि आजका बालिकाहरुमा लगानी गर्नुपर्ने र सचेतनामुलक सँगै अधिकार र कर्तव्य पनि सँगै सिकाउनु पर्नेमा जोड दिनुभएको थियो ।

कार्यक्रमको प्रमुख अतिथि जिल्ला समन्वय समिति नवलपरासी (बर्दघाट सुस्ता पुर्व) का सदस्य सरस्वती पाठकले समाज रुपान्तरणको लागि महिला सशक्तीकरण आवश्यक रहेको र अब भोलिको समृद्ध देश निर्माणको लागि पनि महिला र बालिकामा लगानी आवश्यकता रहेको बताउनुभयो । बालिका र महिलाले अनेक दु:ख कस्ट भोगेर यहाँसम्म पुगेको र यसको दिगोपनको लागि महिला जनप्रतिनिधिहरुले अझै धेरै काम गर्नुपर्ने उहाँले बताउनुभयो । किशोरीहरुलाई सक्षम र समृद्ध गराउन संस्थाले किशोरी सशक्तीकरण कार्यक्रम गरि छोटो समयमा आएको किशोरीहरुको परिवर्तनले अवसर र लगानी गर्न सकिने हो भने कुनै पनि किशोरी कुनै पनि हिसाबमा किशोर भन्दा कमजोर नरहेको प्रमाणित भएको र किशोरीहरुलाई सक्षम गराउन सकिएमा भोलिका दिनमा राजनीतिक तथा अन्य उच्च पदमा महिलाहरु निर्णायक ठाँउमा पुग्ने बताउनुभयो ।

कार्यक्रममा किशोरी अभियन्ताहरु रितिका पोख्रेल र सुधा सुनारले हिंसा र शोषण विरुद्ध महिलाहरु कालिको अवतार लिन पनि सक्ने हुँदा बालिका र महिलाहरुलाई हिंसा, शोषणमा नराख्न सचेतनाको लागि गीति नाटक पनि प्रस्तुत गरेका थिए ।

नवलपुर किशोरी संजालका सदस्य रितिका पोख्रेलको अध्यक्षतामा भएको कार्यक्रममा देवचुली नगरका १ देखि १७ वडाका महिला जनप्रतिनिधिहरु र किशोरीहरुहरुको उपस्थिति रहेको थियो । सो कार्यक्रमको संचालन संस्थाका सदस्य दिपक न्यौपानेले गर्नुभएको थियो ।

Write your Comment