

देवचुली । देवचुली नगरपालिकामा कक्षा ८ को आधारभूत तह उर्तीण परीक्षा सुरु आजदेखि सुरु भएको छ। देवचुली नगरपालिका भित्रका सामुदायिक र संस्थागत गरि २३ वटा सामुदायिक विद्यालयबाट १०७१ जना विद्यार्थी परीक्षामा सम्मेलित रहने शिक्षा शाखा देवचुलीले जनाएको छ। कक्षा ८ आधारभूत तह उर्तीण परीक्षा सँगै सामुदायिक विद्यालयतर्फ कक्षा ५ को विद्यालय स्तरीय परीक्षा समेत आजबाट सुरु गरिएको छ। नगरका सामुदायिक विद्यालयबाट कक्षा ५ मा ७९८ जना विद्यार्थी परीक्षामा सहभागी भएका छन् ।
आधारभूत तह उतीर्ण परीक्षाका लागि ९ वटा परीक्षा केन्द्र तोकी ९ जना केन्द्राध्यक्ष, ९ जना सहायक केन्द्राध्यक्ष, ५४ जना निरीक्षक र १२ जना कार्यालय सहयोगी परिचालन गरिएको देवचुली नगर शिक्षा शाखाका प्रमुख रामप्रसाद शर्माले जानकारी दिनुभयो ।परीक्षाका लागि विश्व ज्योति मावि, मुनलाइट इङ्लिस स्कुल, पृथ्वी मावि, कालिका मावि, सकलादेवी मावि, प्रभात जनता आधारभूत विद्यालय, नेपाल राष्ट्रिय शारदा आधारभूत विद्यालय, वाईजभिजन इङलिस बोर्डिङ्ग स्कुल र देवचुली माविलाई परीक्षा केन्द्र तोकिएको छ।
नगरमा सामुदायिक विद्यालयको अन्य कक्षाको चैत ८ गतेबाट र संस्थागत विद्यालयको चैत १६ गतेबाट वार्षिक परीक्षा सम्बन्धित विद्यालयमा हुने साथै एसईई परीक्षा चैत १५ गतेबाट नगरका ५ वटा परीक्षा केन्द्रमा हुने जनाइएको छ।
शिक्षा शाखा प्रमुख रामप्रसाद शर्माले परीक्षामा सम्मिलित विद्यार्थीहरुलाई डर, त्रास बिना उच्च मनोबलका साथ परीक्षामा सहभागी हुन अनुरोध गर्दै सफलताको शुभकामना व्यक्त गर्नुभएको छ।