आज:  २०८१ बैशाख १५, शनिबार | Sat, 27, Apr, 2024 Search
FLASH NEWS

कावासोती १६ मा महिला हिंसा तथा कानुनी सचेतना सम्बन्धि अन्तरक्रिया

    प्रकाशित २०८० चैत्र ८, बिहिबार (१ महिना अघि)


कावासोती। कावासोती नगरपालिका वडा नम्बर १६ अग्यौली सामुदायिक स्रोत पुस्तकालयमा महिला हिंसा तथा कानुनी सचेतना सम्बन्धि छलफल तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न गरिएको छ । जागृति बाल तथा युवा सरोकार नेपालको आयोजना, नवलपुर किशोरी संजाल, सामुदायिक सेवा केन्द्र नवलपुर, कावासोती वडा नं १६ को सहकार्य र क्यान्नलानको सहयोगमा बुधबार कार्यक्रम गरिएको हो ।

जागृति बाल तथा युवा सरोकार नेपालका सहजकर्ता राधा देवी बोटेले कावासोती नगरपालिकामा संचालन भइरहेको किशोरी शसक्तिकरण कार्यक्रम अन्तर्गत भइरहेका गतिविधि तथा अभियानहरु तथा समुदायमा हिंसा, दुर्व्यवहार, शोषण तथा असमानता अन्त्य गर्ने उदेश्यले स्थानीय तह, सरोकारवाला, सामुदायिक संस्था, वडा कार्यालय, विद्यालय, संजाल, नगरपालिकासँगको समन्वय सहकार्यमा विभिन्न कार्यक्रमहरु गर्दै आइरहेको बारेमा जानकारी गराउँदै कार्यक्रमको संचालन गर्नु भएको थियो ।

कार्यक्रममा जिल्ला प्रहरी कार्यालय नवलपुरको महिला बालबालिका तथा जेष्ठ नागरिक सेलका प्रमुख विन्दु बिकले लैंगिक हिंसाका प्रकारहरु, हिंसा तथा दुर्व्यवहार हुने कारणहरु, हिंसा तथा दुर्व्यवहारका असरहरु, समग्रमा नवलपुर जिल्ला भित्र महिला, बालबालिका, जेष्ठ नागरिक माथि हुने हिंसाको अवस्था र त्यसको तथ्यांक, हिंसा तथा दुर्व्यवहार न्यूनीकरणका लागि गरिएका प्रयासहरु सहित हिंसा रोकथाम तथा न्यूनीकरणमा जनप्रतिनिधि, विभिन्न टोल विकास संस्था, आमा समुह, महिला समूह, अभिभावकहरुको भुमिका र हिंसा, दुर्व्यवहार भएमा समन्वय गर्न सकिने निकायहरुको बारेमा जानकारी गराउँदै सहजीकरण गर्नु भएको थियो ।

कार्यक्रममा सहभागी महिला तथा आमा समुहका प्रतिनिधिहरुले वडा भित्र हिंसा र कानुनी सचेतनाका लागि किशोरकिशोरीहरुलाई पनि कार्यक्रम संचालन गरेमा, छोराछोरी बिच विभेद नगरी समान व्यवहार गरेमा, महिलाहरूलाई आर्थिक क्षेत्रमा पहुँच तथा सशक्तीकरणका लागि रोजगारमुलक कार्यक्रम ल्याएमा हिंसालाई न्यूनीकरण गर्न सकिने सुझाव दिनु भएको थियो ।

कार्यक्रमका प्रमुख अतिथि तथा महिला संजाल गण्डकी प्रदेशका सदस्य दुर्गा रिजाल पौडेलले हामिले गर्ने कार्य र सिकेका कुराहरु व्यवहारमा कार्यान्वयन गरेमा, आफुले जानेर नराम्रो काम गर्दिन भन्ने कुराको प्रतिज्ञा गरेमा, हिंसा परेमा कानुनलाई बुझेर प्रक्रियामा जान र बोल्न नडराएमा र महिलाहरुलाई सबल बनाउनका लागि लगानीका कार्यक्रम संचालन गरेमा हिंसा हट्दै जाने कुरा बताउनु भएको थियो । साथै उहाँले समुदायमा भएका र देखेका विभिन्न हिंसाका घटनाहरु र त्यसको प्रभावहरुको बारेमा आफ्ना अनुभवहरु समेत बताउनु भएको थियो ।

कार्यक्रममा कावासोती वडा नम्बर १६ का वडा अध्यक्ष आनन्द श्रेष्ठले वडा भित्र समुदायको अवस्था हेरेर विभिन्न तालिम र कार्यक्रमहरु संचालन गरिरहेको र आगामी दिनमा पनि महिलाहरुलाई लक्षित विभिन्न कार्यक्रम संचालन गर्नको लागि महिला भवन निर्माणका लागि बजेट विनियोजन गर्न सकिने कुरा बताउनु भएको थियो । उहाँले महिलाहरुले आफू र अरुलाई हिंसा परिरहेको कुरा थाहा भइरहेको तर त्यसको बारेमा खुलेर बाहिर ल्याउन नसकेकोले झन् समस्या बढ्दै गइरहेको कुरा बताउनु भएको थियो । त्यसैले यस्ता हिंसा सम्बन्धित सिकेका सचेतनामुलक कुराहरु अन्य ठाउँहरुमा पनि सिकाउनका लागि समेत अनुरोध गर्नु भएको थियो ।

कार्यक्रममा कावासोती नगरपालिका वडा नं १६ का वडा अध्यक्ष आनन्द श्रेष्ठ, वडा सदस्य उषा खत्वे, वडा सदस्य लक्ष्मी सुनार, महिला संजाल गण्डकी प्रदेशका सदस्य दुर्गा रिजाल पौडेल, अग्यौली सामुदायिक स्रोत पुस्तकालयका प्रतिनिधिहरु, समुदायस्तरमा रहेका विभिन्न आमा समुह, महिला समूह तथा टोल विकास संस्थाका प्रतिनिधिहरु, अभिभावकहरु, बालबालिका, जिल्ला प्रहरी कार्यालय महिला बालबालिका तथा जेष्ठ नागरिक सेलका प्रमुख विन्दु बिक,सामुदायिक सेवा केन्द्र नवलपुरका प्रतिनिधि रमेश दर्जी लगायतको उपस्थिति रहेको थियो ।

Write your Comment