आज:  २०८१ कार्तिक ७, बुधबार | Wed, 23, Oct, 2024 Search
FLASH NEWS

धौवादीमा पहिलो पटक विद्युत पुग्दा स्थानीय खुसी

    प्रकाशित २०८० चैत्र ५, सोमबार (७ महिना अघि)


नवलपुर । नवलपुरको हुप्सेकोट गाउँपालिका–५ धौवादीमा पहिलो पटक राष्ट्रिय प्रसारण लाइनको विद्युत पुगेको छ । जिल्लाको पुरानो गाउँ भए पनि सो क्षेत्रमा अहिले सम्म विद्युत सेवा नपुग्दा स्थानीले वैकल्पिक माध्यम वाट बिजुली बत्ती बाल्दै आएका थिए ।

जिल्लाको पहाडी क्षेत्रमा विद्युत सेवा विस्तार गर्ने गरी बुलिङटार गाउँपालिका–४ बोझा पोखरीमा निर्माण गरिएको विद्युत सवस्टेशन वाट विद्युत प्रवाह सुरु गरिए पछि धौवादी क्षेत्रमा राष्ट्रिय प्रसारण लाइनको बिजुली पुगेको हो । केही घरमा सोलर र अधिकांश घरमा टुकी बत्ती मार्फत दैनिकी चलाउँदै आएका स्थानीय राष्ट्रिय प्रसारण लाइनको विद्युत सेवा पुगे पछि अहिले सहज महसुस गरेका छन् । आफ्नो घरमा विद्युत सेवा उपलब्ध भए पछि गाउँका सर्वसाधारण खुसी भएका छन् ।

बिजुली नहुँदा कुटानी पिसानी देखि पढाइ लेखाइमा निकै कष्ट बेहोर्दै आएका स्थानीयले अव स्वर्गको अनुभूति पाएको जस्तो भएको वडा अध्यक्ष पदम बहादुर रानाले बताउनु भयो । “यस क्षेत्रमा ऐतिहासिक रुद्रपुर गढी लगायतको पर्यटकीय क्षेत्र रहेका छन् अहिले सम्म विद्युत सेवा नहुँदा पर्यटकको आकर्षण बढाउन सकिएको थिएन, अव गाउँको विकास र आर्थिक गतिविधि चलायमान बनाउन विद्युतिकरणले बाटो खोलिदिएको छ”,उहाँले भन्नु भयो ।

बोझा पोखरीमा सात वर्षअघि निर्माण सुरु गरिएको विद्युत् सवस्टेशनको यसै वर्ष निर्माण कार्य पूरा भए पछि जिल्लाको पहाडी गाउँमा विद्युत विस्तारका लागि सहज भएको नेपाल विद्युत प्राधिकरण कावासोती वितरण केन्द्रका प्रमुख सूर्य नारायण मण्डलले बताउनु भयो । “जिल्लाको प्रगतिनगरबाट ११ हजार केभीको करेन्ट प्रवाह गरी सवस्टेशन चार्ज गरी स्थानीय स्तरमा वितरणको काम सुरु गरेका छौ”,उहाँले भन्नु भयो,“आयोजना मार्फत पोखरीबाट डेढगाउँ जाने बाटोको धौवादीसम्म र बुलिङटार गाउँपालिका क्षेत्रमा ११ हजार केभीको लाइन वितरण हुनेछ ।”

जिल्लाका कतिपय पहाडी क्षेत्र अझै पनि अन्धकार रहेका छन् । तनहुँ तर्फबाट लाइन तानेर बुलिङटार क्षेत्रमा विद्युतीकरण गरिएकोमा अव यही सवस्टेशनको प्रसारण लाइन जोडिने प्रमुख मण्डलले जानकारी दिनु भयो । कतिपय स्थानमा लघु जलविद्युतबाट विद्युतीकरण गरिएको भए पनि आवश्यक मागअनुसार आपूर्ति हुन सकेको थिएन । साथै लामो दूरीबाट लाइन ल्याएर विद्युतीकरण गर्दा बेलाबेलामा समस्या उत्पन्न हुने गरेको छ ।

बोझा पोखरीको सवस्टेशनबाट विद्युत प्रवाह सञ्चालन हुँदा जिल्लाको पहाडी क्षेत्रमा विद्युतीकरणमा सहजता भएको हुप्सेकोट गाउँपालिका अध्यक्ष लक्ष्मीदेवी पाण्डेले बताउनु भयो । हुप्सेकोट गाउँपालिकाले उज्यालो हुप्सेकोट कार्यक्रम अन्तर्गत १६ करोडको बहु वर्षीय आयोजना सञ्चालन गरी पहाडी गाउँहरूमा राष्ट्रिय प्रसारण लाइन लैजाने कार्यक्रम सुरु गरेको हो । जस अन्तर्गत गाउँपालिका भित्रका सबै गाउँ बस्तीमा राष्ट्रिय प्रसारण लाइनको बिजुली पुगेको गाउँपालिका अध्यक्ष पाण्डेले बताउनु भयो ।
“हुप्सेकोट गाउँपालिकाको वडा नम्बर ४,५,६ मा राष्ट्रिय प्रसारण लाइनको विद्युत पुग्न सेकेको थिएन , अहिले गाउँपालिका, प्रदेश र सङ्घ सरकारको संयुक्त लगानीमा सबै गाउँहरूमा विद्युत पुर्‍याउन सफल भएका छौ,”उहाँले भन्नुभयो ।

जिल्लाको पहाडी क्षेत्र बौदीकाली, बुलिङटार र हुप्सेकोट गाउँपालिका विद्युतीकरण गर्ने गरी आयोजना सुरु गरिएको थियो । ठेकेदारले काम नगर्दा लामो समयसम्म अलपत्र बनेको सवस्टेशन निर्माणको काम सकिएपछि अब जिल्लाको पहाडी क्षेत्रमा विद्युतीकरणको बाटो खुलेको छ ।

सात वर्ष अगाडि निर्माण सुरु भएको सवस्टेशन निर्माणको काम अलपत्र पर्दा लामो समयदेखि अन्धकारमा बस्न बाध्य पहाडी क्षेत्रका बासिन्दा उज्यालोमा बस्न पाउँदा खुसी भएका छन् । बोझा पोखरी सवस्टेशन भारतीय एटुजेड इन्फ्रा इन्जिनियरिङ कम्पनीमार्फत सब कन्ट्याक्टर त्रिपुरेश्वर र जयदुर्गे इन्जिनियरिङले करिब रु १२ करोडको लागतमा निर्माण सम्पन्न गरिएको हो ।रासस

Write your Comment