आज:  २०८१ बैशाख १५, शनिबार | Sat, 27, Apr, 2024 Search
FLASH NEWS

देवचुलीको भीमसेन आइ.एस.ओ सर्टिफाइड प्राप्त गर्ने नेपालकै पहिलो सामुदायिक विद्यालय

    प्रकाशित २०८० चैत्र ३, शनिबार (१ महिना अघि)


देवचुली। देवचुली नगरपालिकामा रहेको भीमसेन आदर्श माध्यमिक विद्यालयले अन्तर्राष्ट्रिय मान्यता प्राप्त आइ.एस.ओ सर्टिफाइड लोगो पाएको छ। शुक्रबार विद्यालयमा एक कार्यक्रम गरि वी एडभान्सी सर्टिफिकेसन युकेमार्फत प्राप्त आइ.एस.ओ ९००१:२०१५ सर्टिफाइड लोगो हस्तान्तरण गरिएको हो। देवचुली नगरपालिकाका नगर प्रमुख हरिप्रसाद न्यौपानेले विद्यालयलाई लोगो हस्तान्तरण गर्नुभएको हो ।


विद्यालयको शैक्षिक व्यवस्थापन, आर्थिक पारदर्शिता, प्रशासकीय कार्य, शैक्षिक क्रियाकलाप सम्बन्धि गतिविधि, विद्यार्थीहरुको स्वास्थ्य, सुरक्षा तथा सरसफाइ, शिक्षण सिकाइ पद्धति लगायत शैक्षिक गुणस्तरका आधारमा मुल्यांकन गरि आइ.एस.ओ. सर्टिफाइड प्राप्त गरेको हो । विद्यालयले ६ महिना अघिबाट आइ.एस.ओ. सर्टिफाइडका लागि प्रक्रिया सुरु गरि तीन चरणमा सूचकहरुका क्रियाकलाहरुमा काम गरिएको विद्यालयका प्रधानाध्यापक अग्निधर भुसालले बताउनुभयो । अन्तर्राष्ट्रिय आइ.एस.ओ सर्टिफाइट प्राप्त गर्ने नेपालकै पहिलो सामुदायिक विद्यालय भएको उहाँले दाबी गर्नुभयो ।

कार्यक्रममा बोल्दै देवचुली नगरपालिकाका नगर प्रमुख हरिप्रसाद न्यौपानेले भीमसेनले अन्तर्राष्ट्रिय मान्यता पाउनु महत्त्वपूर्ण उपलब्धि भएको बताउनुभयो । ३ वर्षसम्म मान्यता प्राप्त हुने आइ.एस.ओ को निरन्तरता दिनका लागि विद्यालयलाई चुनौती थपिएको बताउनुभयो। उहाँले विद्यालयलाई आइ.एस.ओ निरन्तरताका लागि नगरपालिकाबाट आवश्यक सहयोग रहने प्रतिबद्धता समेत व्यक्त गर्नुभएको थियो । विद्यार्थीहरुको विदेश पलायन रोक्न तिनै तहको सरकार,शिक्षक र अभिभावक जिम्मेवार हुनुपर्ने बताउनुभयो ।


कार्यक्रममा शिक्षा विकास तथा समन्वय इकाइ नवलपुरका प्रमुख रुद्र शर्मा, पुर्व प्रधानाध्यापक रामप्रसाद शर्मा, निवर्तमान विद्यालय व्यवस्थापन समितिका अध्यक्ष सत्यनारायण भुसाल, देवचुली वडा नम्बर ९ का अध्यक्ष बलिराम सापकोटा लगायतले विद्यालयलाई सफलताको शुभकामना दिदै विज्ञान र प्रविधिको युगमा अन्य विद्यालयले त्यसतर्फ कार्यक्रमहरु संचालन गर्नुपर्ने कुरामा जोड दिनुभएको थियो । विद्यालयका व्यवस्थापन समितिका अध्यक्ष भुमिलाल लामिछानेले उत्कृष्ट विद्यार्थी उत्पादनका लागि भीमसेनले अधिकतम प्रयोगात्मक शैक्षिक क्रियाकलापमा विद्यार्थीहरुलाई सहभागि गराइरहेको र यसमा अभिभावकहरुको समेत साथ मिलिरहेको बताउनुभयो।

कार्यक्रममा आइ.एस.ओ सर्टिफाइडका लागि विद्यालयलाई सहयोग गर्ने डिलाइट ग्रुप नेपालका प्रतिनिधि कपिल लामिछानेले आइ.एस.ओ सर्टिफाइडलाई निरन्तरता दिनका लागि विद्यालयले थप मेहनत गर्नुपर्ने बताउनुभयो। विद्यालयले तीन वर्षसम्म आइ.एस.ओ सर्टिफाइड मान्यता पाउने छ भने त्यसपछी पुनः नवीकरण गर्नुपर्नेछ। प्रत्येक वर्ष आइ.एस.ओ सर्टिफाइड प्रदान गर्ने संस्थाद्वारा विद्यालयले मापदण्ड कायम गरे नगरेको अनुगमन गर्नेछ ।


कार्यक्रममा देवचुली नगरपालिकाका विभिन्न वडाका वडा अध्यक्षहरु, पुर्व प्रधानाध्यापकहरु, पुर्व विद्यालय व्यवस्थापन समितिका अध्यक्षहरु, सामाजिक व्यक्तित्वहरु लगायत अभिभावकहरुको उपस्थिति रहेको थियो। नवलपुरमै उत्कृष्ट नतिजा ल्याउने भीमसेन आदर्श माध्यमिक विद्यालय नमुना विद्यालय समेत हो । बालविकास देखि कक्षा १२ सम्म संचालन भएको विद्यालयमा २२ सय भन्दा विद्यार्थीहरु अध्ययनरत छन् ।

Write your Comment