काठमाडौं । राष्ट्रियसभाको रिक्त रहेको अध्यक्षको निर्वाचन फागुन २९ गते हुने भएको छ । राष्ट्रियसभाका उपाध्यक्ष उर्मिला अर्यालले राष्ट्रिय सभाको आइतबार बसेको बैठकको सुरुमा नै फागुन २९ गतेका लागि राष्ट्रिय सभा अध्यक्षको निर्वाचनको मिति तोकिएको जानकारी गराएकी हुन् ।
राष्ट्रिय सभा कार्य सञ्चालन नियमावली अनुसार उपाध्यक्ष अर्यालले संघीय संसद् सचिवालयका महासचिव पदमप्रसाद पाण्डेलाई राष्ट्रिय सभा अध्यक्षको निर्वाचन कार्यक्रम सम्बन्धी सूचना प्रकाशित गर्न पनि निर्देशन दिएकी छन् ।
राष्ट्रिय सभा अध्यक्ष पदका लागि नेकपा (एमाले) सहितको गठबन्धनको तर्फबाट नेकपा (माओवादी केन्द्र)ले अध्यक्ष पदमा उम्मेदवार दिने सहमति भइसकेको छ । नेकपा माओवादीले नारायण दाहाललाई राष्ट्रिय सभाको अध्यक्षमा उठाउने भएको छ । आज बसेको पदाधिकारी बैठकले सो निर्णय गरेको हो ।
प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसको तर्फबाट भने भर्खरै मात्रै राष्ट्रिय सभा सदस्य निर्वाचित भएर संसदीय दलको नेता चयन भइसकेका कृष्णप्रसाद सिटौलालाई राष्ट्रिय सभा अध्यक्ष पदको उम्मेदवार बनाउने निर्णय भएको छ । क्यालेन्डर अनुसार सोमबार राष्ट्रिय सभा अध्यक्ष पदमा उम्मेदवारी दिने कार्य तालिका रहेको छ ।