आज:  २०८१ कार्तिक ७, बुधबार | Wed, 23, Oct, 2024 Search
FLASH NEWS

देवचुलीमा महिला हिंसा तथा कानुनी सचेतना सम्बन्धि अन्तरक्रिया

    प्रकाशित २०८० फागुन २५, शुक्रबार (७ महिना अघि)


देवचुली । ११४ औं अन्तर्राष्ट्रिय महिला दिवसको अवसरमा देवचुलीमा महिला हिंसा र कानुनी सचेतना सम्बन्धि छलफल र अन्तरक्रिया सम्पन्न गरिएको छ । क्यान्नलानको सहयोगमा जागृति बाल तथा युवा सरोकार नेपालको आयोजना साथै मेची महाकाली बुहारी संयुक्त आवाज नवलपुर शाखा, नवलपुर किशोरी संजाल र देवचुली वडा नं १६ को सहकार्यमा कार्यक्रम गरिएको हो। “महिलामा लगानी: सभ्य र सम्मुनत समाजको थालनी” नारा सहित ११४ औं नारी दिवसको अवसरमा देशभर नै विभिन्न कार्यक्रमहरु सन्चालन भैरहेको सन्दर्भमा सरोकारवालासँग किशोरीहरुको उपस्थितिमा सो कार्यक्रमको आयोजना गरिएको जागृति बाल तथा युवा सरोकार नेपालका सहजकर्ता राधा देवी बोटेले जानकारी दिनुभयो ।


कार्यक्रममा जिल्ला प्रहरी कार्यालय नवलपुरको महिला बालबालिका तथा जेष्ठ नागरिक सेलका प्रमुख विन्दु वि.क. ले हिंसाका प्रकारहरु, हिंसा तथा दुर्व्यवहार हुने कारणहरु, हिंसा तथा दुर्व्यवहारका असरहरु, समग्रमा नवलपुर जिल्ला भित्र महिला, बालबालिका, जेष्ठ नागरिक माथी हुने हिंसाको अवस्था र त्यसको तथ्यांक, हिंसा तथा दुर्व्यवहार न्यूनीकरणका लागि गरिएका प्रयासहरु सहित हिंसा रोकथाम तथा न्यूनीकरणमा जनप्रतिनिधि, आमा समुह, महिला समूह, अभिभावक र किशोरीहरुको भुमिका र हिंसा, दुर्व्यवहार भएमा निकायहरुमा समन्वय गर्न सकिने निकाय तथा महिलामा लगानीको महत्त्वको बारेमा जानकारी गराउँदै प्रस्तुतिकरण गर्नु भएको थियो ।

देवचुली नगरपालिकाका कार्यपालिका सदस्य फुलमाया विश्वकर्माले हिंसा न्यूनीकरण र महिलाहरुलाई शसक्तिकरण गर्नको लागि महिलाहरुलाई नेतृत्व र आयआर्जनको क्षेत्रमा अगाडि ल्याउनुपर्ने कुरामा जोड दिनु भएको थियो । उहाँले महिला लक्षित कार्यक्रम ल्याउनका लागि सबै महिला जनप्रतिनिधिहरु एकजुट भएर पालिकामा पहल पैरवी गर्न आवश्यक रहेको कुरा बताउनु भएको थियो ।


कार्यक्रममा देवचुली नगरपालिकाका किशोरी अभियन्ताहरु रितिका पोख्रेल र सुधा सुनारले नाटकीय गीति कथाको माध्यमबाट किशोरी र महिलामाथी हुने हिंसा तथा दुर्व्यवहार विरुद्ध सन्देशमुलक प्रस्तुती गर्नु भएको थियो । नवलपुर किशोरी सन्जालका अध्यक्ष विद्या ढुंगानाले देवचुली नगरपालिकामा विगतमा संचालन भएको किशोरी सशक्तिकरण कार्यक्रममा जोडिएर अभियानमा लाग्दाको सिकाई र उपलब्धिहरुको बारेमा समेत अनुभवहरु बताउनु भएको थियो ।जागृति बाल तथा युवा सरोकार नेपालका सहजकर्ता राधा देवी बोटेले देवचुली नगरपालिकामा विगतमा संचालन भएको किशोरी सशक्तिकरण कार्यक्रम र फलोअप अन्तर्गत भइरहेका गतिविधिहरु तथा अभियानहरुको बारेमा जानकारी दिँदै कार्यक्रमको संचालन गर्नु भएको थियो ।

कार्यक्रमको प्रमुख अतिथि जिल्ला समन्वय समिति नवलपुरका सदस्य सरस्वती पाठकले जनप्रतिनिधिहरु विगतमा पनि यस्ता कार्यक्रमहरुमा सहभागी भएर धेरै कुरा सिकिरहेको तर आफुले सिकेको जानेको कुरा स्वयम् आफुमा लागू गरिरहेको छौं कि छैनौं र व्यवहारिक रुपमा अरुलाई सिकाउन कार्यान्वयनमा ल्याएका छौं कि छैनौं भन्ने कुरामा साँच्चै नै गम्भीर हुने पर्ने कुरा बताउनु भएको थियो । उहाँले कार्यक्रममा आफ्ना छोरीलाई पनि छोरा सरह समान व्यवहार गरि अवसर दिन, छोरीले पनि गर्न सक्छन् भन्ने विश्वासले अगाडी बढ्न र साथ सहयोग गर्नका लागि अभिभावकहरु सचेतना मुलक गतिविधि गाउँ गाउँ सम्म पुर्‍याउनु पर्नेमा जोड दिनु भएको थियो ।


मेची महाकाली बुहारी संयुक्त आवाज नवलपुरको अध्यक्ष सविता पंगेनीको अध्यक्षता भएको अन्तरक्रिया कार्यक्रममा जिल्ला समन्वय समिति नवलपुरका सदस्य सरस्वती पाठकको प्रमुख आतिथ्यता रहेको थियो । कार्यक्रममा देवचुली नगरपालिकाका कार्यपालिका सदस्यहरु, वडा सदस्य, समुदायस्तरमा रहेका विभिन्न आमा समुह, महिला समूह तथा शिक्षक प्रतिनिधिहरु, अभिभावक, जिल्ला प्रहरी कार्यालय महिला बालबालिका तथा जेष्ठ नागरिक सेलका प्रमुख विन्दु बिक, मेची महाकाली बुहारी संयुक्त आवाज नवलपुरका प्रतिनिधिहरु लगायत किशोरीहरुको उपस्थिति रहेको थियो ।

Write your Comment