आज:  २०८१ बैशाख १६, आईतबार | Sun, 28, Apr, 2024 Search
FLASH NEWS

देवचुलीमा आइतबारबाट दादुरा-रुबेला खोप अभियान सुरु, पहिलो दिन ३५१५ जनाले लगाए खोप

    प्रकाशित २०८० फागुन २१, सोमबार (१ महिना अघि)


देवचुली। देवचुलीमा आइतबारबाट दादुरा-रुबेला खोप अभियान सुरु भएको छ । फाल्गुन २७ गतेसम्म चल्ने अभियानको देवचुली १७ स्थित वरचुली माध्यमिक विद्यालयमा आइतबार एक औपचारिक कार्यक्रम गरी शुभारम्भ गरिएको हो ।

नगर खोप समन्वय समितिका संयोजक एवम् देवचुली नगरपालिकाका नगर प्रमुख हरिप्रसाद न्यौपानेले अभियानको शुभारम्भ गर्नुभएको हो ।कार्यक्रममा स्वास्थ्य कार्यलय नवलपुरका प्रमुख मुक्तिनाथ भट्टराई, बुलिङ्टार गाउँपालिकाका अध्यक्ष दिपेन्द्र सुनारी, देवचुली १६ का वडा अध्यक्ष केशवराज गौतम, देवचुली नगरपालिकाका शिक्षा शाखा प्रमुख रामप्रसाद शर्मा, देवचुली नगरपालिकाका स्वास्थ्य शाखाका सि.अ.हे.व शिव पराजुली, पिताम्बर भुर्तेल लगायतको उपस्थिति रहेको थियो ।

कार्यक्रममा बोल्दै नगर प्रमुख हरिप्रसाद न्यौपानेले खोप अभियानमा कोही पनि छुट्न नहुने भन्दै अनिवार्यरुपमा खोप लगाई दादुरा-रुबेला निवारणका लागि योगदान गर्न आग्रह गर्नुभएको थियो ।

देवचुलीमा १९ हजार भन्दा बढी बालबालिकालाई दादुरा-रुबेलाविरुद्धको खोप लगाइँदैछ । ९ महिनादेखि १५ वर्ष उमेर समूहका बालबालिकालाई फागुन २७ गतेसम्म दादुरा-रुबेला खोप लगाउने लक्ष्य रहेको देवचुली नगरपालिका स्वास्थ्य शाखा प्रमुख रामकुमार श्रेष्ठले बताउनुभयो ।श्रेष्ठका अनुसार खोप अभियानका लागि ६० जना स्वास्थ्यकर्मी खटिएका छन् भने ४१ जना महिला स्वास्थ्य स्वयंसेविकाहरु परिचालन भएका छन् । त्यसैगरी १०० जना विद्यालय शिक्षकहरु पनि परिचालन गरिएका छन् ।

खोप अभियानको पहिलो दिन विभिन्न खोप केन्द्रमा ३५१५ जना बालबालिकाले खोप लगाएका छन् । खोपका लागि विद्यालय र स्वास्थ्य संस्था गरि ५८ वटा खोप केन्द्र रहेका छन् । यही अभियानका क्रममा ९ महिनादेखि ५ वर्षमुनिका नियमित खोप लगाउन छुट बालबालिकालाई पनि खोप लगाइने भएकाले खोप कार्ड लिएर खोप केन्द्रमा आउन आग्रह गरिएको छ ।

Write your Comment