आज:  २०८१ श्रावण १२, शनिबार | Sat, 27, Jul, 2024 Search
FLASH NEWS

देवचुलीमा भ्रष्टाचार नियन्त्रण तथा सुशासन प्रवर्द्धन सम्बन्धि स्थानीय तह स्तरीय अन्तरक्रिया सम्पन्न

    प्रकाशित २०८० फागुन १७, बिहिबार (४ महिना अघि)


देवचुली। देवचुलीमा भ्रष्टाचार नियन्त्रण तथा सुशासन प्रवर्द्धन सम्बन्धी स्थानीय तह स्तरीय अन्तरक्रिया सम्पन्न छ। अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय बुटवलको आयोजनामा देवचुली नगरपालिकाको सभाहलमा अन्तरक्रिया कार्यक्रम गरिएको हो । आयोगमा स्थानीय तहका उजुरीहरु धेरै नै आएकाले स्थानीय तहमा सचेतना प्रवाह गर्ने उद्देश्यले कार्यक्रम गरिएको हो।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय बुटवलका कार्यालयका प्रमुख राजेन्द्रकुमार पौडेलको अध्यक्षतामा भएको अन्तरक्रिया कार्यक्रममा देवचुली नगरपालिकाका नगर प्रमुख हरिप्रसाद न्यौपानेको प्रमुख आतिथ्यता रहेको थियो।

कार्यक्रममा भ्रष्टाचार र यसका कारण तथा असरहरु, भ्रष्टाचार नियन्त्रणमा आयोगको भूमिका, स्थानीय तहसँग सम्बन्धित आयोगमा पर्ने उजुरीका बिषयवस्तुहरु र उक्त विषयमा आयोगका सुझावहरुको सम्बन्धमा सिनियर डिभिजन इन्जिनियर पुण्यराज सुलु र प्रहरी निरीक्षक जीवन लामिछानेले कार्यपत्र प्रस्तुत गर्नुभएको थियो। अन्तरक्रियामा भाग लिदै संघसंस्थाका प्रतिनिधिहरुले अनावश्यक उजुरीले गर्दा काम गर्न गाह्रो भएकाले विकास निर्माणमा बाधा परेको गुनासो गर्नुभएको थियो। कालिका माध्यमिक विद्यालयका प्रधानाध्यापक रेशम कोइराला, नगर प्रवक्ता तिलप्रसाद काफ्ले र प्रमुख प्रशासकीय अधिकृत मुकुन्द शर्माले अन्तरक्रिया कार्यक्रमले सचेतना प्रवाह गरेको भनाई राख्नुभएको थियो।

कार्यक्रमका प्रमुख अतिथि नगर प्रमुख हरिप्रसाद न्यौपानेले कार्यक्रम आयोजना गरिदिएकोमा आयोजकप्रति धन्यवाद ज्ञापन गर्दै जनप्रतिनिधी, कर्मचारी एवं सरोकारवाला सबैको सहयोगमा पालिकालाई भ्रष्टाचारमा शून्य बनाउन सकिने विचार व्यक्त गर्नु भएको थियो। स्वास्थ्य संस्था, खानेपानी संस्था,वन लगायतमा अनावश्यक उजुरी हाल्नेको गिरोह नै भएकाले विकास निर्माणमा बाधा पुर्‍याएकोले अनावश्यक उजुरी गर्नेलाई दण्ड जरिवाना गराउनुपर्ने उहाँले बताउनुभयो ।

कार्यक्रममा उठेका सवालहरुको सम्बोधन गर्दै एवं कार्यालय प्रमुख राजेन्द्रकुमार पौडेलले आयोगमा स्थानीय तहसँग सम्बन्धित उजुरीहरु बढ्दै गईरहेकोले प्रचलित कानूनको पूर्ण परिपालना गरी जनप्रतिनिधी एवं कर्मचारीहरुले आफूलाई प्राप्त अधिकार र स्रोतको प्रयोग गर्न सुझाव दिनुभएको थियो । नवलपुरमा यस आर्थिक वर्षमा परेको ६८ वटा उजुरी मध्ये ८ वटा देवचुली नगरपालिकाको रहेको छ। देवचुली नगरपालिकाको ८ उजुरी मध्ये ३ वटा फर्स्यौट भएको र ५ वटा फर्स्यौट हुन बाँकी रहेको आयोगले जनाएको छ।

कार्यक्रममा देवचुली नगरपालिकाका उप प्रमुख पार्वता तिवारी, प्रमुख प्रशासकीय अधिकृत मुकुन्द शर्मा, नगर प्रवक्ता तिलप्रसाद काफ्ले, वडा अध्यक्षहरु, कार्यपालिका सदस्यहरु, नगरपालिकाका शाखा प्रमुखहरु, माध्यमिक विद्यालयका विद्यालय व्यवस्थापन समितिका अध्यक्ष एवं प्रधानाध्यापकहरु, स्थानीय गैरसरकारी संस्था तथा नागरिक समाजका प्रमुख/प्रतिनिधीहरु, सञ्चारकर्मीहरु, उपभोक्ता समितिका प्रतिनिधि लगायतको उपस्थिति रहेको थियो।

Write your Comment