आज:  २०८१ श्रावण १२, शनिबार | Sat, 27, Jul, 2024 Search
FLASH NEWS

देवचुली १० मा निर्माण गरिएको मगर संग्रहालयको समुदघाटन

    प्रकाशित २०८० फागुन १५, मंगलबार (५ महिना अघि)


देवचुली । देवचुली १० मा निर्माण गरिएको मगर संग्रहालय भवन (कुडुले घर) को समुदघाटन गरिएको छ । पृथ्वी मगर समाज देवचुली १० द्वारा निर्माण गरिएको कुडुले घरको गण्डकी प्रदेशका आर्थिक मामिला मन्त्री जितप्रकाश आलेले समुदघाटन गर्नुभएको हो । ४२ औं मगर एकता दिवसको अवसर पारी सो भवनको समुदघाटन गरिएको हो ।


भवन समुदघाटनमा बोल्दै मन्त्री आलेले मगर समुदायको कला, संस्कृति, रहन, सहन र भेषभूषालाई संरक्षण गर्दै पुस्ता हस्तान्तरणका लागि कुडुले घरले महत्त्वपूर्ण भुमिका खेल्ने बताउनुभयो । संग्रहालयमा मगरले प्रयोग गर्ने भाँडावर्तन, लत्ताकपडा, बाजागाजा र जीविकासँग सम्बन्धित सामग्रीहरु थप गरेर लैजानका लागि सम्पूर्णलाई आग्रह गर्नुभएको थियो । देवचुलीमा पर्यटन प्रवर्द्धनका लागि समेत मगर संग्रहालयले सहयोग गर्ने उहाँले बताउनुभयो । प्रदेश सरकारका तर्फबाट संग्रहालयका लागि आवश्यक सहयोग गर्ने प्रतिबद्धता व्यक्त गर्नुभएको थियो ।

संग्रहालय नगरपालिका,वडा र स्थानीय गाउँबासीहरुको सहयोगमा निर्माण गरिएको हो। संग्रहालयका लागि स्थानीय समुदायमा भएका मगर सभ्यता झल्काउने सामग्रीहरु संकलन गरिरहेको र थप सामग्रीहरु राखि स्थानीयहरुलाई अवलोकनका लागि खुला गरिने पृथ्वी मगर समाजका अध्यक्ष भुवन सिं आलेले बताउनुभयो ।भवनका लागि २२ लाख भन्दा बढीको खर्च भएको उहाँले जानकारी दिनुभयो ।

वडा तथा नगरले संग्रहालयको भौतिक निर्माणका लागि सहयोग गरिरहेको बताउँदै आफ्नै भाषा, संस्कृति, भेषभुषा र संस्कार संस्कृति भएका मगरको मौलिकता रक्षाका लागि सबैले चासो दिनुपर्ने बताउनुभयो । मगर समुदायको मौलिकता जोगाइराखे देवचुलीको पर्यटन विकासमा समेत टेवा पुग्ने उहाँले बताउनुभयो ।

मौलिक कला संस्कृति नै लोप हुने गरी देखिएको आधुनिकताले मगर पहिचान गुम्न थालेको भन्दै मगर अगुवाले सो संग्रहालय स्थापनाका लागि पहल गरेका थिए ।

Write your Comment