आज:  २०८१ श्रावण १२, शनिबार | Sat, 27, Jul, 2024 Search
FLASH NEWS

कुमसोतमा अटो संचालन गर्न होटल व्यवसायीको माग

    प्रकाशित २०८० फागुन ९, बुधबार (५ महिना अघि)


देवचुली। देवचुली ६ कुमसोतमा अटो संचालनमा ल्याउनका लागि होटल व्यवसायीले माग गरेका छन् । देवचुली होटल व्यवसाय संघको आयोजनामा मंगलबार देवचुली ६ कुमसोतका रहेका होटल व्यवसायीका समस्या लगायत देवचुली डाँडा पर्यटन प्रवर्द्धन सम्बन्धि सरोकारवालाहरुको अन्तरक्रिया कार्यक्रम होटल व्यवसायीहरुको अटो संचालन गर्न माग गरेका हुन् । देवचुलीको कुमसोतमा लामो समयदेखि अटो संचालन नहुँदा होटल व्यवसायमा परेको समस्याहरु समाधान गर्नका लागि अन्तरक्रिया आयोजना गरिएको देवचुली होटल व्यवसाय संघको अध्यक्ष लक्ष्मण चापागाईले जानकारी दिनुभयो ।

देवचुली होटल व्यवसाय संघका अध्यक्ष लक्ष्मण चापागाईको अध्यक्षतामा भएको अन्तरक्रिया कार्यक्रममा देवचुली नगरपालिकाका नगर प्रमुख हरिप्रसाद न्यौपानेको प्रमुख आतिथ्यता रहेको थियो । कार्यक्रममा देवचुली नगरपालिकाका उप प्रमुख पार्वता तिवारी, वडा अध्यक्ष मीनबहादुर सोती मगर, देवचुली उद्योग वाणिज्य संघका अध्यक्ष सूर्य दवाडी,प्रगतिनगर खानेपानी तथा सरसफाइ उपभोक्ता संस्थाका अध्यक्ष खिमानन्द भुसाल, प्रहरी नायब निरीक्षक रामबहादुर मगराती लगायत होटल व्यवसायी, देवचुली यातायात प्रालिका प्रतिनिधि लगायतको उपस्थितिमा छ्लफल गरिएको हो ।

अन्तरक्रिया सहभागी अधिकांशले कुमसोतमा अटो संचालन गर्न माग गरेका थिए। एक वर्ष अघिबाट जिल्ला प्रशासन कार्यालयले मुण्डेमा चेक पोष्ट राखी कुमसोत अटो जानबाट बन्चित गरेपछी स्थानीयसँगै होटल व्यवसायी मारमा परेको उनीहरुले बताए ।होटल व्यवसायीले कावासोतीबाट अटो सहज रुपमा कुमसोत आउने मिल्ने तर मुण्डेबाट कुमसोत अटो चल्न रोक्नुपर्ने किन हो भन्दै सो का पहल गर्न नगर प्रमुख समक्ष अनुरोध गरेका थिए। मुण्डेमा रहेको चेकपोस्ट कावासोती र दलदलेबाट जाने बाटो जोडिने स्थानमा राख्दा दुर्घटना न्यूनीकरणमा सहज हुने उनीहरुको भनाई छ।

कार्यक्रममा प्रहरी नायब निरीक्षक रामबहादुर मगरातीले माथिल्लो तहको निर्देशनबाट आफुहरुले कुमसोतमा अटो संचालन गर्न रोकेको बताउनुभयो । सबैले पहल गरि नियमानुसार अटो संचालन गर्न सकिने तर यात्रु संख्या, सुरक्षा सावधानी लगायतको विषयमा विशेष ख्याल गर्नुपर्ने उहाँको भनाई छ ।

अन्तरक्रियामा सहभागीको भनाई सुनिरहनु भएका नगर प्रमुख न्यौपानेले अटो संचालन गर्नका लागि पहल गर्ने बताउनुभयो । आर्थिक मन्दीको कारण अधिकांश व्यवसायीहरु मारमा परेको वर्तमान अवस्थामा यति लामो समयसम्म कुमसोतमा अटो संचालन नभएको आफुलाई कसैले पनि जानकारी नगराएको बताउँदै चाँडै नै निकास निकाल्न नगरपालिका तयार रहेको भनाई राख्नुभएको थियो । देवचुली उद्योग व्यवसाय संघका प्रतिनिधि, होटल व्यवसाय संघका प्रतिनिधि, देवचुली यातायात प्रालिका प्रतिनिधिसहित जिल्ला प्रशासन कार्यालयमा गएर प्रमुख जिल्ला अधिकारीसँग अटो संचालनका लागि छ्लफल गर्ने उहाँले बताउनुभयो ।

 

कार्यक्रममा देवचुली उद्योग वाणिज्य संघका अध्यक्ष सूर्य दवाडी,प्रगतिनगर खानेपानी तथा सरसफाइ उपभोक्ता संस्थाका अध्यक्ष खिमानन्द भुसालले देवचुली डाँडा पर्यटन प्रवर्द्धनका लागि समेत नियम अनुसार अटो संचालन गरिनुपर्ने बताउनुभयो । छ्लफलपछी होटल व्यवसायी तथा अटो व्यवसायीहरु कुमसोतमा नियमानुसार अटो संचालन हुने कुरामा विस्वस्त भएका छन् । उक्त अन्तरक्रिया कार्यक्रमको सहजीकरण देवचुली होटल व्यवसाय संघका वरिष्ठ उपाध्यक्ष भोजराज ज्ञवालीले गरेका गर्नुभएको थियो।

Write your Comment