आज:  २०८१ श्रावण १२, शनिबार | Sat, 27, Jul, 2024 Search
FLASH NEWS

देवचुली १६ का २० परिवारलाई बाख्रा वितरण

    प्रकाशित २०८० फागुन ८, मंगलबार (५ महिना अघि)


देवचुली। बालबालिकाको शिक्षामा पहुँचका लागि परिवारलाई आयआर्जन कार्यक्रम अन्तरगत देवचुली १६ को बाह्रकोल र बेलस्वारामा २० परिवारलाई बाख्रा वितरण गरिएको छ। जागृति बाल तथा युवा सरोकार नेपालले किन्डर इन नेपालको सहयोगमा सोमबार दुवै गाउँका १०/१० परिवारलाई प्रति परिवार २ पाठीका दरले ४० वटा बाख्रा र १ वटा बोका वितरण गरेको हो।


बालबालिकाको शिक्षालाई निरन्तरता दिनका लागि परिवारलाई आय आर्जनमा सहयोग होस् भनी २० परिवारलाई बाख्रा वितरण गरिएको संस्थाका महासचिव दीपक शर्माले बताए । लोकल जातका बाख्रालाई विस्थापन गर्नका लागि उन्नत बोका समेत वितरण गरिएको शर्माले बताए ।संस्थाले गत वर्ष पनि २० परिवारका लागि बाख्रा वितरण गरि सकेको र विद्यालयका विद्यार्थीहरुका लागि छात्रवृत्ति तथा सरसफाइ कार्यक्रम संचालन गरिरहेको उनले बताए ।

देवचुली नगरपालिका वडा नम्बर १६ का अध्यक्ष केशवराज गौतमको अध्यक्षता भएको बाख्रा वितरण कार्यक्रममा देवचुली नगरपालिकाका उप प्रमुख पार्वता तिवारीको प्रमुख आतिथ्यता रहेको थियो।

कार्यक्रममा बोल्दै उप प्रमुख तिवारीले देवचुली नगरपालिकाको नै दुर्गम स्थानमा रहेको बाह्रकोल र बेलस्वारालाई नगरपालिकाले प्राथमिकतामा राखी कामहरु गर्न सुरु गरेको बताइन् । विभिन्न गैरसरकारी संस्थाहरुलाई नगरको पहाडी भागमा सहयोग गर्न अनुरोध गरिएको बताउँदै तिवारीले जागृति बाल तथा युवा सरोकार नेपालले बाह्रकोल र बेलस्वारामा बाख्रा वितरण गरेकोमा धन्यवाद ज्ञापन गरेकी थिइन् । बाख्रापालन गर्ने कृषकहरुलाई समूह निर्माण गरि समूह मार्फत बाख्रापालन सम्बन्धि तालिम, नि:शुल्क घाँस,औषधिका लागि नगरपालिकाले सहयोग गर्ने भनाई राखिन ।

देवचुली १६ का दुई गाउँमा दोस्रो चरणमा २० घर परिवारलाई बाख्रा वितरण गरेको संस्थालाई धन्यवाद ज्ञापन गर्दै आवश्यक सहयोगका लागि वडा कार्यालय तयार रहेको वडा अध्यक्ष केशवराज गौतमले बताए । पहाडी भेगमा भएकाले विकासबाट पछि परेको यी गाउँहरुमा संस्थाबाट निरन्तर सहयोगका लागि अध्यक्ष गौतमले आग्रह गरे।

बाख्रा वितरण कार्यक्रममा देवचुली १६ का वडा सदस्य रामबहादुर सौमै,प्रगतिनगर खानेपानी तथा सरसफाइ उपभोक्ता संस्थाका उपाध्यक्ष दुर्गा विष्ट, वडाचुली टोल सुधार संस्थाका प्रतिनिधि लगायत स्थानीयहरुको सहभागिता रहेको थियो।

Write your Comment