आज:  २०८१ बैशाख १७, सोमबार | Mon, 29, Apr, 2024 Search
FLASH NEWS

राइनो संरक्षण गोल्डकप फुटबल प्रतियोगिता : गण्डकी प्रदेश फाइनलमा प्रवेश

    प्रकाशित २०८० फागुन ६, आईतबार (२ महिना अघि)


नवलपुर । गण्डकी प्रदेश छैटौँ राइनो संरक्षण गोल्डकपको फाइनलमा प्रवेश गरेको छ । ‌मध्यबिन्दु नगरपालिका – २ कोल्हुवास्थित राइनो रंगशालामा आज भएको सेमिफाइनल खेलमा विभागीय टिम नेपाल पुलिस क्लबलाई हराउँदै गण्डकी प्रदेश फाइनलमा प्रवेश गरेको हो ।

पहिलो हाफमा गण्डकीले पुलिसलाई दबाबमा राखे पनि पाएका राम्रा अवसरलाई सदुपयोग गर्नबाट चुकेको थियो। बलमा पकड बनाए पनि पुलिसको पोस्टमा आक्रमण बुन्न सकेन । पुलिसले काउन्टर एट्याकमा मुभ बनाउँदै गण्डकीलाई दबाबमा राखे पनि पहिलो र दोस्रो हाफमा गोलरहित बराबरीमा खेल सकिएको थियो। ट्राइबेकरमा पनि दुवै टोलीका ५ खेलाडीले बराबरी गोल गरेपछि खेल सडन डेथमा पुगेको थियो  ।

प्रतियोगितामा गण्डकी प्रदेशले पुलिसलाई सडन डेथमा ६–५ गोल अन्तरले हरायो । विजेता टिमका सुरज ज्यू ठकुरी म्यान अफ दी म्याच घोषित भए । दोस्रो सेमिफाइनलमा भोलि सेन्ट्रल कलेज फोर ब्रोदर्स र सेन्ट्रल कलेज २८ विगाहाबीच प्रतिस्पर्धा हुनेछ ।

मोफसलकै सर्वाधिक पुरस्कार भएको प्रतियोगिताको विजेताले ८ लाख रुपैयाँ प्राप्त गर्नेछ । उपविजेताले ४ लाख प्राप्त गर्दा विधागत उत्कृष्टतर्फ खेलाडीले २० हजार रुपैयाँ पाउनेछन् ।

Write your Comment