आज:  २०८१ श्रावण १२, शनिबार | Sat, 27, Jul, 2024 Search
FLASH NEWS

देवचुली १६ मा बाख्रापालन सम्बन्धि तालिम

    प्रकाशित २०८० फागुन ५, शनिबार (५ महिना अघि)


देवचुली। देवचुली नगरपालिका वडा नम्बर १६ बाह्रकोलमा बाख्रापालन सम्बन्धि तालिम प्रदान गरिएको छ। किन्डर इन नेपालको सहयोगमा देवचुली नगरपालिका वडा नम्बर १६ को कार्यालय र जागृति बाल तथा युवा सरोकार नेपालको आयोजनामा बाख्रापालन सम्बन्धि तालिम जनता प्रभात आधारभूत विद्यालयमा सम्पन्न गरिएको हो ।


जागृति बाल तथा युवा सरोकार नेपालबाट देवचुली १६ बाह्रकोल र बेलस्वारामा आयआर्जन कार्यक्रम अन्तर्गत बाख्रापालनका लागि २० परिवारका लागि ४० वटा जमुनापारीका पाठी र एकवटा बियाड बोका प्रदान गरिएको छ । पछिल्लो समय थप २० परिवारका लागि बाख्रा वितरण गर्न तयारी गरिएको र उक्त परिवारका लागि बाख्रापालन सम्बन्धि जानकारी प्रदान गर्न कार्यक्रम आयोजना गरिएको जागृति बाल तथा युवा सरोकार नेपालका महासचिव दीपक शर्माले बताउनुभयो ।

कार्यक्रमको सहजीकरण पशु प्राविधिक नारायण पौडेल र राजु चापागाईले गर्नुभएको थियो । बाख्राको पालन कसरी गर्ने, खोरको व्यवस्थापन कसरी गर्ने, घाँस कसरी र कुन खुवाउने भन्ने बारेमा र सामान्य समस्याहरू आउँदा कसरी समाधान गर्न सकिन्छ भनेर पशु प्राविधिक नारायण पौडेल, समुह भनेको के हो ? किन महत्वपूर्ण रहेको छ ? कसरी बैठकहरु सञ्चालन गर्ने र यसको नियमितताको लागि के के गर्न सकिन्छ भन्ने बारेमा राजु चापागाईले सहजीकरण गर्नुभएको थियो ।


जागृती बाल तथा युवा सरोकार नेपालले देवचुली १६ को कार्यालयसँग समन्वय गरी विद्यार्थीहरु शैक्षिक सहयोग र किसानहरुका लागि विभिन्न कार्यक्रम संचालन गरेको देवचुली १६ का वडा अध्यक्ष केशवराज गौतमले बताउनुभयो । एकबर्ष अघिबाट बाह्रकोल र बेलस्वाराका कृषकहरूलाई उन्नत जातका बाख्रा प्रदान गरेकोमा अहिले त्यसबाट राम्रो उत्पादन हुन थालेपछी किसानहरु निकै नै खुसी भएको उहाँले बताउनुभयो ।

परियोजना अनुगमन समितिका संयोजक कुलबहादुर पाटाको अध्यक्षता भएको तालिमको देवचुली नगरपालिका वडा न १६ का अध्यक्ष केशवराज गौतमको प्रमुख आतिथ्यताको रहेको थियो। तालिममा बाह्रकोल र बेलस्वाराका कृषकहरुको उपस्थिति रहेको कार्यक्रमको संचालन जागृति बाल तथा युवा सरोकार नेपालका महासचिव दीपक शर्माले गर्नुभएको थियो ।

Write your Comment