आज:  २०८१ कार्तिक ७, बुधबार | Wed, 23, Oct, 2024 Search
FLASH NEWS

हुप्सेकोटमा बाल विवाह न्यूनीकरण तथा मानव बेचबिखन रोक्न सरोकारवाला बीच अन्तरक्रिया

    प्रकाशित २०८० फागुन ४, शुक्रबार (८ महिना अघि)


नवलपुर । हुप्सेकोट गाउँपालिकामा बाल विवाह न्यूनीकरण तथा मानव बेचबिखन रोक्न सरोकारवाला बीच अन्तरक्रिया गरिएको छ । असल छिमेकी नेपाल कास्कीको आयोजना र हुप्सेकोट गाउँपालिकाको समन्वयमा हुप्सेकोटमा बिहीबार बाल विवाह र मानव बेचबिखन सम्बन्धी सरकारी निकाय, सरोकारवाला र धार्मिक अगुवासँग अन्तरक्रिया गरिएको हो । बालविवाह न्यूनीकरण र मानव बेचविखन सम्बन्धी सचेतना प्रवाह गर्न संस्थाले समुदायस्तर र सरोकारवालाहरुका लागि तालिम सञ्चालन गरिएको असल छिमेकी नेपालका नवलपरासी कार्यक्रम संयोजक पुरन सोतीले जानकारी दिनुभयो । हुप्सेकोटमा केही विद्यालय तथा समुदायमा बालविवाह सम्बन्धी सचेतना प्रवाह गरिरहेको उहाँले बताउनुभयो ।

हुप्सेकोट गाउँपालिका अध्यक्ष लक्ष्मी पाण्डेले बाल विवाह न्यूनीकरण गर्न र मानव बेचबिखन रोक्न कुनै एक पक्षले मात्रै गरेर सम्भव नहुने बताउनुभएको छ । पाण्डेले भन्नुभयो विवाह र मानव बेचबिखन जस्ता घटनाहरू समाजमा घट्न नदिनका लागि सबै जिम्मेवार हुनुपर्दो रहेछ भन्ने कुरा आजको कार्यक्रमबाट प्रस्ट भएको छ । सरकारले मात्रै यस्ता घटनाहरू न्यूनिकरण गर्न सक्दैन । समाजमा रहेका हरेक पक्षले यस्ता घटनाका विरुद्धमा बोल्नुपर्छ , म एक जनाले बोलेर के हुन्छ र भनेर चुप लाग्नु हुँदैन । ’ उहाँले कार्यक्रममा वाल विवाह र मानव बेचबिखन सम्बन्धी कानून कुरा समेत जानकारी प्रदान गरिएको हुँदा यहाँ सिकेका कुरालाई आफ्नो समुदायमा पनि जानकारी गराउन उहाँले सहभागीलाई अनुरोध गर्नुभयो । स्थानीय सरकारको हैसियतले बाल विवाह र मानव बेचबिखन विरुद्ध आफूहरूबाट गर्न सक्ने काममा पछि हट्ने काम नहुने प्रतिबद्धता जनाउँदै उहाँले असल छिमेकी नेपालले सचेतनाका कार्यक्रम ल्याएर सहयोग गरेकोमा धन्यवाद दिनुभयो ।

कार्यक्रममा अधिवक्ता टंकराज बस्यालले सहजीकरण गर्नुभएको थियो । उहाँले बालबालिका कसलाई भनिन्छ , बाल अधिकार भनेको के हो , नेपालको संविधान २०७२ मा भएका बालबालिकाको अधिकारहरू , बालबालिका सम्बन्धी ऐन २०७५ मा भएको बालबालिकाको अधिकारहरू , विवाह भनेको के हो र प्रकार , बाल विवाह भनेको के हो , बाल विवाह हुनुको कारण , बाल विवाहका असरहरू , बाल विवाह कसरी भएका छन , कस्तो अवस्थामा गरेको विवाहले मान्यता पाउँछ र पाउँदैन , विवाह सम्बन्धी कसुर तथा अपराधहरू कुन कुन हुन ् भन्ने बारेमा जानकारी गराउनुभएको थियो । यसैगरी मानव बेचविखन भनेको के हो , मानव ओसारपसार भनेको के हो , मानव बेचविखन हुनुको कारणहरू , मानव बेचविखन अपराधबाट बच्ने चुनौती , मानव बेचविखन तथा ओसार परासर नियन्त्रणका उपायहरु , मानव बेचविखन हुँदै गरेको वा भएको थाहा पाए के गर्ने , मानव बेचविखन वा ओसार पसार गर्ने गराउनेलाई के सजाय हुन्छ , किन्ने वा बेच्ने उद्देश्यले मानिसलाई ओसारपसार गर्नेलाई के सजाय हुन्छ भन्ने बारेमा समेत प्रस्ट पार्नुभएको थियो ।


कार्यक्रममा सहभागि भएका जनप्रतिनिधि र सरोकारवालाहरूले आफूहरूले भोगेको समस्याहरू काम गर्दा आएका विभिन्न बाधा अड्चनहरूको बारेमा चर्चा गरेका थिए । जसलाई सहजकर्ता बस्यालले प्रस्ट समेत पार्नुभएको थियो । समुदायमा बाल विवाह भएका घटनाहरू थाहा पाए पनि विरोध गर्दा नराम्रो भइन्छ कि भनेर चुप लागेर बस्ने गरेको समेत अनुभव सुनाएका थिए । कार्यक्रमपछि अबका दिनमा भने बाल विवाहको विरुद्धमा आवाज उठाउने प्रतिबद्धता जनाउँदै हस्ताक्षर समेत गरेका छन् । कार्यक्रममा हुप्सेकोट गाउँपालिका उपाध्यक्ष पूर्णसिंह राना , गाउँपालिकाकी प्रवक्ता रेवती सारु , वडा अध्यक्षहरु , वडा सदस्यहरु , धार्मिक अगुवाहरु , बाल सञ्जाल तथा बालबालिकाको क्षेत्रमा काम गर्ने विभिन्न सङ्घसंस्थाका प्रमुख तथा प्रतिनिधिहरूको सहभागिता रहेको थियो ।

Write your Comment