आज:  २०८१ श्रावण १२, शनिबार | Sat, 27, Jul, 2024 Search
FLASH NEWS

देवचुली ९ मा रहेको घुमाउरी सामुदायिक वनको २९ औँ साधारण सभा सम्पन्न

    प्रकाशित २०८० माघ २८, आईतबार (५ महिना अघि)


देवचुली । देवचुली नगरपालिका वडा नम्बर ९ मा रहेको घुमाउरी सामुदायिक वन उपभोक्ता समूहको २९ औँ वार्षिक साधारण सभा सम्पन्न भएको छ । शनिबार घुमाउरी पिकनिक स्पटमा वनको साधारणसभा गरिएको हो।

घुमाउरी सामुदायिक वन उपभोक्ता समूहका अध्यक्ष पार्वती राउलको अध्यक्षतामा भएको साधारणसभामा डिभिजन वन कार्यालय नवलपुरका डिभिजनल वन अधिकृत बसन्त केशव अधिकारीको प्रमुख आतिथ्यता रहेको थियो । त्यसै गरि देवचुली ९ का वडा अध्यक्ष बलिराम सापकोटा, सव डिभिजन वन कार्यालय देवचुली बुलिङ्टारका वन अधिकृत वसन्त दाहाल, कार्यपालिका सदस्य मधुमाया गुरुङ,सामुदायिक वन उपभोक्ता महासंघ नवलपुरका उपाध्यक्ष कमलप्रसाद बाचे लगायतको विशेष उपस्थिति रहेको थियो।


साधारसभाबाट समुहका अध्यक्ष पार्वती राउलले प्रस्तुत गरेको वार्षिक कार्ययोजना, सचिव कुन्तीदेवी काफ्ले न्यौपानेले प्रस्तुत गरेको प्रगति प्रतिवेदन, कोषाध्यक्ष सोमबहादुर सेन्चुरीले प्रस्तुत गरेको आर्थिक प्रतिवेदन पास गरिएको आयोजकले जनाएको छ । साधारणसभाको बन्द सत्रमा विधान संशोधन, कटान सदुपयोग, विपन्न तथा असहाय उपभोक्ताका लागि सहुलियत दरमा काठ दाउरा वितरण गर्ने, वन उपभोक्ता समितिको सम्पुर्ण सदस्यहरु,कर्मचारी र काम गर्ने कामदारहरुको बिमा गर्ने, पिकनिक स्पटमा बाल उद्यान तथा नयाँ संरचना निर्माण गर्ने, पिकनिक स्थल संरक्षणका लागि पर्खाल वा तारजाली गर्ने, पिकनिक स्पटबाट हात्तिखोर जोड्ने बाटो बन्द गर्ने, कर्मचारीको सेवा सुविधालगायतका विषयमा छलफल गरि निर्णय गरिएको घुमाउरी सामुदायिक वन उपभोक्ता अध्यक्ष पार्वती राउलले जानकारी दिनुभयो ।

साधारण सभाको खुला सत्रमा बोल्दै प्रमुख अतिथि वसन्त केशव अधिकारीले वन संरक्षण गर्दै प्रचलित कानुन अनुसार वनको सदुपयोग गर्न आग्रह गर्नुभएको थियो। वनले समयमै साधारणसभा गर्नुपर्ने भन्दै साधारण सभाबाट पास गरिएको वार्षिक कार्ययोजनालाई वन कार्यालयबाट स्वीकृत भएपछी सामाजिक विकास, उद्यम र उत्पादन, संस्था सञ्चालन-व्यवस्थापनमा खर्च-लगानी गर्दै आफ्नै सेवाक्षेत्र भित्रको विकास गर्न सकिने बताउनुभयो ।


देवचुली ९ का वडा अध्यक्ष बलिराम सापकोटाले वनले संचालन गरेको पिकनिक स्पटको सही रुपमा व्यवस्थापन गर्दै पर्यटनका पुर्वाधार निर्माणका लागि सरोकारवालासँग समन्वय गरि काम गर्न आग्रह गर्नुभएको थियो । कार्यक्रममा बोल्ने अधिकांश व्यक्ति हरुले वनले उपभोक्ताको हितमा रहेर सामाजिक गतिविधि गर्नुपर्ने, पिकनिक स्पटमा पुर्वाधार थप गर्नुपर्ने लगायतका विषयमा भनाई राख्दै वनलाई आगामी कार्ययोजनामा सफलता प्राप्त गर्नका लागि शुभकामना व्यक्त गर्नुभएको थियो।

साधारण सभामा दुइजना ज्येष्ठ नागरिक हरिकला सिंजाली र पहल सिं सिंजालीलाई सम्मान गरिएको थियो भने वन्यजन्तु संरक्षणमा विशेष भुमिका खेल्ने कार्यसमितिका सिताराम राना, ओम बहादुर लुंगेली, मानकुमार गुरुङलाई सम्मान गरिएको थियो।

साधारणसभामा वडा सदस्यहरु, वडामा क्रियाशिल राजनीतिक दलका प्रतिनिधि, विभिन्न सामुदायिक वनका अध्यक्षहरु, संघसंस्थाका प्रतिनिधिहरु,वनका उपभोक्ताहरुको उपस्थिति रहेको थियो।घुमाउरी सामुदायिक वन उपभोक्ता समुहका उपाध्यक्ष चन्द्रबहादुर थापाले स्वागत मन्तव्य व्यक्त गर्नुभएको साधारणसभाको गणेश पाण्डेले सहजीकरण गर्नुभएको थियो।

Write your Comment