आज:  २०८१ श्रावण १२, शनिबार | Sat, 27, Jul, 2024 Search
FLASH NEWS

अन्तर विद्यालय जिल्लास्तरीय यु- १६ टि-२० क्रिकेट प्रतियोगिता : मंगलबार जीवन ज्योति र वरचुली विजयी

    प्रकाशित २०८० माघ १७, बुधबार (५ महिना अघि)


देवचुली । देवचुली नगरपालिकामा संचालित सेन्टर कलेज अन्तर विद्यालय यु-१६ जिल्लास्तरीय टि-२० क्रिकेट प्रतियोगितामा मंगलबार जीवन ज्योती माध्यमिक विद्यालय र वरचुली माध्यमिक विद्यालय विजयी भएका छन् । रोयल क्रिकेट एकेडेमीको आयोजना, देवचुली वडा नम्बर १० र देवचुली नगर युवा तथा खेलकुद विकास समितिको सहयोगमा माघ १५ गतेदेखि माघ २२ गतेसम्म प्रतियोगिता संचालन गरिएको हो । १६ वर्ष मुनिका खेलाडीहरुको सहभागिता रहने प्रतियोगिताबाट यु-१६ का जिल्लास्तरीय खेलाडी छनोटको क्याम्पमा राखिने आयोजकले जनाएको छ ।

मंगलबार भएको पहिलो खेलमा जीवन ज्योती माध्यमिक विद्यालयले देवचुली माध्यमिक विद्यालयलाई १७० रनले हराएको थियो । पहिले ब्याटिङ गरेको जीवनज्योति माध्यमिक विद्यालयले सुवास पौडेलको ४६ रन र अमन कानुङको ४३ रनको मद्दतले २० ओभरमा ५ विकेटको क्षतिमा २०५ रन बनाएको थियो । बलिङतर्फ देवचुली माध्यमिक विद्यालयका विज्ञान पौडेलले २ विकेट र विपिन लामिछानेले १ विकेट लिएका थिए ।

त्यसैगरी जवाफी ब्याटिङ गरेको देवचुली माध्यमिक विद्यालयले २८ रनमा सबै विकेट गुमाएको थियो । देवचुलीबाट विज्ञान पौडेलले १० रन र निमेश थापाले ४ रन बाहेक अन्य खेलाडीले रन जोडन सकेनन् । खेलमा जीवन ज्योति माध्यमिक विद्यालयका अमन कानुङ प्लेयर अफ दि म्याच भएका थिए ।

त्यसै गरी मंगलबार भएको दोस्रो खेलमा वरचुली माध्यमिक विद्यालयले लक्ष्मी माध्यमिक विद्यालयलाई १३५ रनले हराउँदै विजयी भएको थियो। पहिले ब्याटिङ गरेको वरचुलीले कपिल कार्कीको ५० रन र अर्जुन तामाङको ४२ रनको मदतले २० ओभरमा ९ विकेटको क्षतिमा २४० रन बनाएको थियो। लक्ष्मी माध्यमिक विद्यालयका सगुन शर्माले ३ विकेट र दिक्षित अधिकारीले २ विकेट लिएका थिए।

जवाफी ब्याटिङ गरेको लक्ष्मी माध्यमिक विद्यालयले ११ ओभरमा सबै विकेट गुमाउँदै १०६ रन मात्र बनाएको थियो। लक्ष्मीबाट सतेन्द्र शाहले ४४ रन र सन्दिप तामाङले २२ रन बनाएका थिए । खेलमा वरचुलीका नरबहादुर कार्कीले ५ विकेट र सिर्जन लम्सालले ४ विकेट लिएका थिए। दोस्रो खेलमा ५ विकेट लिएका वरचुलीका नरबहादुर कार्की प्लेयर अफ दि म्याच भएका थिए ।

प्रतियोगितामा प्रथम हुने टिमले नगद ३५ हजार रुपैयाँसहित मेडल, प्रमाणपत्र र ट्रफी प्राप्त गर्नेछ भने द्वितीय हुने टिमले नगद १५ हजार रुपैयाँसहित मेडल, प्रमाणपत्र र ट्रफी प्राप्त गर्नेछ । प्रतियोगिताका हरेक खेलको म्यान अफ दि म्याचसहित प्रतियोगिताको उत्कृष्ट खेलाडी, बलर र ब्याट्सम्यानलाई ट्रफी र प्रमाणपत्र प्रदान गरिनेछ । प्रतियोगिता अन्तर्गत बुधबारको पहिलो खेल भीमसेन आदर्श माध्यमिक विद्यालयका विरुद्ध देवचुली माध्यमिक विद्यालय र दोस्रो खेल युनिक बोर्डिङ स्कुलका विरुद्ध लक्ष्मी माध्यमिक विद्यालयबीच हुने खेल संयोजक सन्तोष न्यौपानेले जानकारी दिए ।

Write your Comment