आज:  २०८१ श्रावण १२, शनिबार | Sat, 27, Jul, 2024 Search
FLASH NEWS

नेपाली भूमि बचाउन वर्षौंदेखि लडिरहेका सुस्तावासी नागरिकताबाट वञ्चित

    प्रकाशित २०८० माघ १५, सोमबार (६ महिना अघि)


नवलपुर । नेपाली भूमि बचाउन वर्षौंदेखि लडिरहेका अधिकांश सुस्तावासी नेपाली नागरिकताबाट वञ्चित छन् । सुस्तामा हाल २६५ घरधुरीका तीन हजार १३३ जनसङ्ख्या रहेकामा झन्डै एक तिहाइले मात्र नागरिकता पाएका छन् ।

जिल्ला प्रशासन कार्यालय, पश्चिम नवलपरासीका अनुसार सुस्ताका एक हजार ८३ जनाले मात्र नेपाली नागरिकता पाएका छन् । सुस्ता–५ का वडाध्यक्ष प्रभुनाथ यादवका अनुसार उमेर पुगिसकेका एक हजारभन्दा बढीलाई तत्काल नागरिकता दिनुपर्ने देखिएको छ ।

नागरिकता नहुँदा उनीहरू सरकारी सेवा लिनबाट वञ्चित छन् । उनीहरूले फोनको सिमकार्ड लिन पनि पाउँदैनन् । स्थानीय रवीन्द्र जैसवालले नागरिकता नभएकाले यहाँका युवाले लाइसेन्स बनाउन, बैङ्क खाता खोल्न नपाएको पीडा कसले बुझ्ने भनी प्रश्न गरे ।

जिल्ला प्रशासन कार्यालय पश्चिम नवलपरासी सुस्तामा नागरिकता समस्या रहेको स्विकार्छ । पश्चिम नवलपरासीका प्रमुख जिल्ला अधिकारी सुरेश पन्थीले सुस्ताका नेपालीलाई नागरिकता दिन कानुनी जटिलता रहेको बताए । यो समाचार गोरखापत्र दैनिकमा छ ।

Write your Comment