आज:  २०८१ बैशाख २४, सोमबार | Mon, 06, May, 2024 Search
FLASH NEWS

हुप्सेकोटमा महिलाहरुलाई नि:शुल्क स्वास्थ्य परीक्षण

    प्रकाशित २०८० माघ १, सोमबार (३ महिना अघि)


नवलपुर। नवलपुरको हुप्सेकोट गाउँपालिकामा महिलाहरुलाई नि:शुल्क स्वास्थ्य परीक्षण गरिएको छ। निम अर्गनाइजेसन काठमाडौं तथा हुप्सेकोट गाउँपालिकाको आयोजना साथै हुप्सेकोट वडा नम्बर २ को समन्वयमा शुक्रबार, शनिबार र आइतबार पाठेघरको मुखको क्यान्सर तथा स्त्री रोग सम्बन्धि अन्य समस्याहरुको नि:शुल्क स्वास्थ्य शिविर बालकल्याण आधारभूत विद्यालय,कोलियामा गरिएको हो।


स्वास्थ्य शिविरमा महिलाहरुको पाठेघरको प्रारम्भिक चरणको क्यान्सर पत्ता लगाउने,नि:शुल्क पाठेघर जाँच तथा वरिष्ठ चिकित्सकसँग परामर्श तथा नि: शुल्क औषधी वितरण गरिएको हुप्सेकोट गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख कृष्णप्रसाद  सापकोटाले जानकारी दिनुभयो । शिविरमा ९५ वर्षीय ज्येष्ठ नागरिकसहित ३६५ जनाले स्वास्थ्य परीक्षण गरिएको उहाँले बताउनुभयो ।

हुप्सेकोट गाउँपालिका वडा नम्बर २ का वडा अध्यक्ष कृष्णबहादुर थापाको अध्यक्षतामा भएको स्वास्थ्य शिविरमा हुप्सेकोट गाउँपालिकाका अध्यक्ष लक्ष्मी पाण्डेको प्रमुख आतिथ्यता रहेको थियो। शिविरको उदघाटन गर्दै पालिका अध्यक्ष पाण्डेले नि:शुल्क स्वास्थ्य शिविर संचालन गर्दा विपन्न वर्गका समुदायलाई निकै फाइदा पुग्ने भन्दै शिविर संचालनका लागि निम अर्गनाइजेसन काठमाडौंलाई धन्यवाद दिनुभएको थियो । परीक्षणबाट आउने रिपोर्टमा पहिलो चरणको क्यान्सर देखिएमा बिरामीहरुलाई पालिकाले थप उपचारका लागि सहयोग गर्ने प्रतिबद्धता व्यक्त गर्नुभएको थियो।

Write your Comment