आज:  २०८१ जेष्ठ ६, आईतबार | Sun, 19, May, 2024 Search
FLASH NEWS

देवचुली १६ बेलस्वाराका विद्यार्थीलाई न्यानो कपडा वितरण

    प्रकाशित २०८० पौष १६, सोमबार (४ महिना अघि)


देवचुली। देवचुली नगरपालिका वडा नम्बर १६ स्थित सरस्वती आधारभूत विद्यालयका सम्पूर्ण विद्यार्थीलाई न्यानो कपडा प्रदान गरिएको छ ।परिवर्तनका लागि युवा नेपालको संयोजनमा विभिन्न व्यक्तिहरूको सहयोगमा कार्यक्रम गरिएको हो ।

सोमबार न्यानो कपडा अन्तर्गत विद्यालयकै पोशाक ८० थान स्वीटर र टोपी एक कार्यक्रमका बीच प्रदान गरिएको न्यानो अभियानका अभियानकर्ता राजु चापागाईले बताउनुभयो । चिसोका कारण कोही पनि बालबालिका विद्यालय छोडन नपरोस् भन्दै चिसोमा बालबालिकाहरुका लागि युवाको न्यानो अभियान सुरु गरेको उहाँले बताउनुभयो ।


कार्यक्रममा प्रमुख अतिथिका रुपमा रहनुभएका देवचुली नगरपालिका नगर प्रमुख हरिप्रसाद न्यौपानेले देवचुली नगरपालिकाको विकट गाउँमा रहेको सरस्वती आधारभूत विद्यालयको शैक्षिक गुणस्तरदेखि भौतिक र पुर्वाधार विकासका लागि नगरपालिकाले निरन्तर सहयोग गर्ने बताउनुभयो ।युवाहरुले अभियान मार्फत बालबालिकाका लागि स्वीटर टोपी वितरणले समुदायमा सकारात्मक सन्देश जाने बताउँदै शैक्षिक सुधारका लागि सरोकारवालाहरुको सहकार्य आवश्यक रहेको उहाँको भनाई छ।

न्यानो कपडा वितरण कार्यक्रममा देवचुली नगरपालिकाका बालमैत्री परमर्शदाता खिमानन्द भुसालले युवाहरुको पहलमा भएको यस्तो कार्य र अभियानले शिक्षाका क्षेत्रमा महत्वपूर्ण भूमिका खेल्ने भन्दै यस्ता खाले कार्यको निरन्तरता दिन आग्रह गर्नुभएको थियो। उहाँले अभियानलाई सहयोग गर्ने सम्पुर्णको नामावली सुनाउँदै अभियानमा व्यक्तिगत रुपमा सहयोग गर्दा खुसी मिलेको बताउनुभयो ।

न्यानो कपडा वितरण कार्यक्रमको औचित्यका बारे बोल्दै अभियानकर्ता दिपक शर्माले एक हप्ता अगाडि विद्यालयका बारेमा अध्ययन गरी वास्तविक रुपमै जाडोको समयमा आधारभुत तहका विद्यार्थीहरुमा एकनासको पोशाक नहुँदा विद्यालयमा उपस्थित हुन समेत अप्ठ्यारो परेको जसका कारण पठन पाठनमा प्रभाव परेकाले सामाजिक संजालमा अभियान थालेको बताउँदै यस अभियानमा सहयोग पुर्‍याउने सबैमा धन्यवाद दिनुभएको थियो । उहाँले यस अभियानले विद्यार्थीमा नियमित विद्यालयमा उपस्थिति हुनुका साथै पठनपाठनमा सुधार आउने विश्वास व्यक्त गर्नुभयो ।

सरस्वती आधारभूतविद्यालय व्यवस्थापन समितिका अध्यक्ष टेकबहादुर दर्लामीको अध्यक्षतामा भएको कार्यक्रममा नगर प्रमुख हरिप्रसाद न्यौपानेको प्रमुख आतिथ्यता रहेको थियो। कार्यक्रममा देवचुली १० का वडा अध्यक्ष रेप्तीकुमार घर्ती मगर,बालमैत्री परामर्शदाता खिमानन्द भुसाल,देवचुली १६ का वडा सदस्य रामबहादुर सोमै,विद्यालयका प्रधानाध्यापक समुहिल कुँवर मगर,टोल सुधारका अध्यक्ष कुलबहादुर पाटा मगर,ग्यालेक्सी युवा क्लबका अध्यक्ष रुपबहादुर दर्लामी लगायतको उपस्थिति रहेको थियो। सो कार्यक्रमको सहजीकरण परिवर्तनका लागी युवा नेपालका उपाध्यक्ष दिपक न्यौपानेले गर्नुभएको थियो ।

देवचुली नगरपालिकाको वडा नम्बर १६ मा पर्ने सरस्वती आधारभुत विद्यालय पहाडी तथा विकट गाउँका रुपमा मानिन्छ । कक्षा ५ सम्म पढाई सकेपछि यहाँका विद्यार्थी बाह्रकोल/रजहरतिर उच्च शिक्षाका लागि जानुपर्ने बाध्यता छ।

Write your Comment