आज:  २०८१ जेष्ठ ६, आईतबार | Sun, 19, May, 2024 Search
FLASH NEWS

अदालतको फैसलापछि देवचुली माविको व्यवस्थापन समिति गठन

    प्रकाशित २०८० पौष ३, मंगलबार (५ महिना अघि)


देवचुली ।देवचुली नगरपालिका- १६ मा रहेको देवचुली माध्यमिक विद्यालयमा व्यवस्थापन समिति गठन गरिएको छ । विद्यालय गठनको प्रक्रिया सुरु भएको करिब १ वर्षपछि विद्यालयले व्यवस्थापन समिति पाएको हो ।

गत वर्ष पुस ३० गते विद्यालयमा समिति गठनका लागि अभिभावक भेला गरिएको थियो । लामो समयसम्म विद्यालय व्यवस्थापन समिति गठन प्रक्रियामा विवाद हुँदा विद्यालयले समिति पाउन सकेको थिएन । देवचुली नगरपालिकाको स्थानीय शिक्षा ऐन अनुसार नगर शिक्षा समितिले गत असारमा मनोनित सदस्य नाम पठाएपछि विवाद उच्च अदालत पोखरा पुगेको थियो । स्रोतका अनुसार गत असार २६ गते देवचुली नगरपालिका- १६ का राजेन्द्र खत्री र रामचन्द्र ठकुरीले विद्यालय व्यवस्थापन समिति गठन प्रक्रियामा आपत्ति जनाउँदै उच्च अदालत पोखरामा मुद्दा दर्ता गरेपछि विद्यालय समिति गठन प्रक्रिया झन पेचिलो बनेको थियो ।

उच्च अदालत पोखराको मंसिर २६ गतेको इजलासबाट विपक्षी नगर प्रमुख हरिप्रसाद न्यौपानेसमेत भएको उत्प्रेषण परमादेश मुद्दा खारेज गर्ने फैसला भएपछि विद्यालयमा पुस १ गते समिति गठन गरिएको हो ।अदालतको फैसलासँगै नगर शिक्षा समितिले गरेको निर्णय कार्यान्वयनमा जाने बाटो खुलेको हो।

नवगठित विद्यालय व्यवस्थापन समितिको अध्यक्षमा टोपराज कोइराला चयन भएका छन् । त्यसैगरी समितिको सदस्यहरुमा रामचन्द्र ठकुरी, संगीता तिमिल्सिना, दुर्गा सुवेदी, हेमप्रसाद न्यौपाने, गीता चापागाई साथै देवचुली- १६ का वडा अध्यक्ष केशवराज गौतम पदेन सदस्य र विद्यालयका प्रधानाध्यापक नारायणप्रसाद भण्डारी सदस्य सचिवमा चयन भएका हुन् ।

Write your Comment