आज:  २०८१ बैशाख १६, आईतबार | Sun, 28, Apr, 2024 Search
FLASH NEWS

रोजगारीका लागि युरोप जाने बढे

    प्रकाशित २०८० मंसिर २१, बिहिबार (४ महिना अघि)


काठमाडौं।मध्यपूर्वका देश र मलेसियामा सीमित नेपाली युवाको वैदेशिक रोजगारी युरोपतिर मोडिएको छ । गएको एक वर्षदेखि नेपाली युवाको रोजगारी युरोपतिर मोडिएको हो ।

चालु आर्थिक वर्ष २०८०/८१ को पहिलो चार महिनामा युरोपका क्रोएसिया, माल्टा, रोमानिया र पोल्यान्डमा जाने युवाको सङ्ख्या १० हजार ६७८ रहेको छ । वैदेशिक रोजगार विभागका अनुसार चालु आवको पहिलो चार महिनामा दुई लाख छ हजार ३१६ जनाले श्रम स्वीकृति लिएर रोजगारीका लागि बिदेसिएकामा त्यत्तिकै सङ्ख्यामा युरोप गएका छन् ।

जब कि गत आव २०७९/८० मा सो अवधिमा क्रोएसिया, माल्टा र पोल्यान्डमा साढे सात हजार रोजगारीका लागि गएका थिए । चालु आव र गत आवको चार महिना अवधिमा वैदेशिक रोजगारीमा जानेको तथ्याङ्क विश्लेषण गरेर हेर्दा विदेश जाने गत वर्ष धेरै भए पनि युरोप जानेको सङ्ख्या यो वर्ष धेरै देखिएको छ ।

युरोप रोजगारीमा जाने अधिकांश व्यक्तिगत रूपमा जाने गरेका छन् । युरोपका चार देशमा गएका श्रमिकको सङ्ख्या हेर्दा संस्थागतभन्दा व्यक्तिगत रूपमा जानेको सङ्ख्या उच्च रहेको छ । विभागका अनुसार पछिल्लो चार महिनाको अवधिमा युरोपका चार देशमा १० हजार ६७८ जना गएकामा व्यक्तिगत रूपमा जानेको सङ्ख्या नौ हजार ४८ रहेको छ भने संस्थागत रूपमा जानेको सङ्ख्या एक हजार ६७० मात्रै रहेको छ । यो समाचार गोरखापत्र दैनिकमा छ ।

Write your Comment