आज:  २०८१ श्रावण १२, शनिबार | Sat, 27, Jul, 2024 Search
FLASH NEWS

मिटर ब्याजीको नाममा बदनाम गर्न खोजियो: मिटर ब्याज आरोपी

    प्रकाशित २०८० मंसिर २१, बिहिबार (७ महिना अघि)


नवलपुर ।आर्थिक कारोबार र अनुचित लेनदेनको आरोप लागेका नवलपुरका आरोपितहरुले मिटर ब्याजीको झुटो आरोप लगाएर आफुहरुको चरित्र हत्या गर्न खोजिएको भन्दै यथार्थ छानवीनको माग गरेका छन् । बुधबार कावासोतीमा पत्रकार सम्मेलन गर्दै उनीहरुले आफुहरुलाई आवश्यक्ता पर्दा सरसापट र ऋण लिएर अहिले सहयोग गर्ने व्यक्तिलाई नै मिटर ब्याजीको नाममा चरित्र हत्या गर्न खोजेको आरोप लगाएका हुन् ।

पत्रकार सम्मेलनमा बोल्दै कावासोतीकी माया भण्डारीले सात आठ वर्ष अगाडी गरेको जग्गा कारोबारालाई अहिले आएर मिटर ब्याजीको नाममा आफ्नो बदनाम गराउन खोजिएको भन्दै कानुनी उपचारको माग गरेको बताईन् । ‘ आफुसंग आर्थिक कारोबार नै नभएका व्यक्ति आएर घर अगाडी नाराबाजी गर्ने तथा सामाजिक संजालमा चरित्र हत्या गर्ने काम भएको छ ।’उनले भनिन्,‘जिल्ला प्रशासन र प्रहरीकोमा प्रमाण पेश नगर्ने , छलफलबाट भाग्ने र सामाजिक संजालमा अतिरञ्जित र भ्रामक कुरा गर्ने र राजनितिक प्रतिशोधको आधारमा बदनाम गर्न खोज्ने उपर कानुनी उपचारमा जान्छु ।’

कावासोती २ की बिमला तिवारी मल्लले सापटी लिएको रकम माग्दा उल्टै मिटर ब्याजी भनेर बदनाम गराईदिने भन्दै नाम हटाउन थप रकम मागेको गुनासो गरिन् । उनले आफुहरुले गाउंघरमा चिनजानेका साथीलाई दुःखमा सहयोग गरेको तर रकम लिनेले नै सापटी लिएर मिटर ब्याजमा रकम लगाउने गरेको आरोप लगाईन् ।
कावासोतीकै कुमार रोक्काले आफुले नै काम सिकाएर सहयोग गरेको ब्यक्ति नै अहिले आफु विरुद्ध लागेर मिटर ब्याजीको नाममा बदनाम गर्न खोजेको बताए । आफैले लगानी गरेर व्यवसायमा स्थापित गर्न खोज्दा दिएको रकमको आफुसंग प्रमाण भएपनि रकम माग गर्दा आफु विरुद्ध नै लागेको बताए ।

पछिल्लो समय नवलपुरमा मिटर ब्याज पीडित र मिटर ब्याजको आरोप लागेका व्यक्तिहरुको उजुरी प्रशासन र प्रहरीमा भएपनि निकास पाउन सकेको छैन् । आफुलाई पीडित भन्नेहरुले घरबार विहिन बनेको गुनासो गर्दै आएका छन् भने , रकम सापटी दिएका व्यक्तिहरुले आफुले अप्ठ्यारोमा पर्दा सहयोग गरेबापत मिटर ब्याजीको रुपमा चरित्रहत्याको शिकार हुनु परेको जिकिर गर्दै आएका छन् ।

Write your Comment