आज:  २०८१ श्रावण १२, शनिबार | Sat, 27, Jul, 2024 Search
FLASH NEWS

`हिंसा अन्त्यको लागि किशोरीलाई सशक्त बनाउनुपर्छ´

    प्रकाशित २०८० मंसिर १७, आईतबार (७ महिना अघि)


कावासोती ।किशोरी र महिलाहरु माथि हुने हिंसा अन्त्यको लागि लगानी आवश्यक रहेको नवलपुरका सरोकारवालाहरुले बताएका छन् । १६ दिने लैगिंक हिंसा विरुद्धको अभियान अन्तर्गत कावासोतीमा आयोजित हिंसा अन्त्यमा सरोकारवालाहरुको भुमिका विषयमा बोल्दै अधिकारकर्मीहरुले विशेष र प्राथमिकता सहितको लगानीको अभावको कारणले हिंसा बढेको र यसको न्युनीकरणको लागि लगानी बढाउनुपर्नेमा जोड दिएका हुन् ।

महिला अधिकारकर्मी एवं महिला बालबालिका कार्यालय नवलपुरकी पूर्व कर्मचारी शान्ति केसीले आफ्नो जीवनमा १९ वर्षबाट जागिर सुरु गरेको, विभिन्न हिंसा, शोषण र दुर्व्यवहार परेका किशोरीहरु र महिलाहरुको उत्थानको लागि काम गर्दा पाएको अनुभव बताउँदै स्थानीय तहले भौतिक विकासलाई मात्र प्राथमिकता दिइरहने हो भने अझै हिंसाको दर बढ्ने साथै किशोरीहरु र महिलाहरुको अवस्था सुधारोन्मुख नहुने बताइन् । सानो उमेरमा नै बालविवाह गर्ने र सोबाट समुदाय र स्वयं व्यक्तिलाई परेको असर थाहा हुनका लागि पनि अहिलेका बालबालिकामा लगानी आवश्यक रहेको तर अहिले स्थानीय सरकारले सामाजिक विकासमा लगानी निकै कम गरेकोले हिजोका उपलब्धीहरु समेत गुम्ने डर रहेको उनले बताइन् ।

मध्यविन्दु क्याम्पसका प्राध्यापक डा. नरनाथ पाण्डेले सामाजिक रुपमा पछाडि पारिएका वर्गहरुका सचेतनामुलक र रोजगार मुलक अभियानहरु आवश्यक रहेको बताए । हिजो कमलरी प्रथाबाट सुरु भएको विभेद समाजमा आज पनि विभिन्न अवशेषमा बाँकी रहेकाले यसको न्युनिकरणको लागि सबैजना लाग्नुपर्नेमा उनले जोड दिए । पहिला जस्तो अवस्था नरहेको भएता पनि वर्तमानमा किशोरकिशोरीहरुका सवालहरु फरक रुपमा रहेकोले सचेतना र क्षमता अभिवृद्धीका कार्यक्रमहरु सोही अनुसार नै तयारी गर्नुपर्नेमा उनले जोड दिए ।

साहित्यकार एवम महिला अधिकारकर्मी सरस्वती तिमिल्सिनाले किशोरीहरुलाई घरबाट नै सशक्त गराउन सक्ने हो भने कोही पनि हिंसा, दुर्व्यवहार र शोषणमा नपर्ने बताइन् । आफु बालिका हुँदा अभिभावकले राम्रो विद्यालयमा शिक्षा हासिल गर्न अवसर दिएकाले आज पनि समाजमा कुनै पनि विभेदमा पर्न नपरेको र सक्षम महिला भएर अगाडी बढेको बताइन् ।

किशोरीहरुलाई कतै हिंसामा परेको जस्तो वा महसुस भयो भने आवाज उठाउनुपर्ने र न्यायको लागि निरन्तर लडाई लड्नुपर्ने उनले बताइन् ।साहित्यकार तिमिल्सिनाले कार्यक्रममा आफ्नो भर्खर प्रकाशित कवितासङ्ग्रह `पाईला पाईलामा पाईला टेकेर´बाट किशोरी र महिलाहरुको सशक्तिकरण र हिंसाका स्वरुपहरुको बारेमा लेखिएका कविता सहभागीहरुलाई सुनाइन् ।

क्यान्नलन स्विजरल्याण्डसँगको सहयोगमा जागृति बाल तथा युवा सरोकार नेपालको आयोजनामा तथा नवलपुर किशोरी सञ्जाल र सेवा निवृत सेवा समाज नवलपुरको समन्वयमा कार्यक्रम गरिएको संस्थाका महासचिव दीपक शर्माले बताए । नवलपुरमा विभिन्न बहानामा किशोरीहरु र महिलाहरुमाथि हिंसा र शोषण रहेको साथै बेला बेलामा हुने विभिन्न आपराधिक क्रियाकलापहरुबाट उनीहरुको जिउ धनको सुरक्षामाथि नै प्रश्न रहेको उनले बताए ।

Write your Comment