आज:  २०८१ जेष्ठ ६, आईतबार | Sun, 19, May, 2024 Search
FLASH NEWS

कावासोती १२ मा आधारभूत प्राथमिक उपचार सम्बन्धि तालिम

    प्रकाशित २०८० कार्तिक १७, शुक्रबार (६ महिना अघि)


देवचुली। कावासोती नगरपालिका वडा नम्बर १२ मा आधारभूत प्राथमिक उपचार सम्बन्धि तालिम सम्पन्न गरिएको छ । कावासोती वडा नम्बर १२ को आयोजना तथा पिठौली स्वास्थ्य चौकीसँगको सहकार्यमा वडा १२ मा रहेका चार वटा विद्यालय र दुइवटा क्लबका प्रतिनिधिहरुलाई तालिम प्रदान गरिएको हो। शुक्रबार शान्ति निकुञ्ज माध्यमिक विद्यालयमा सभाहलमा १ दिने आधारभुत प्राथमिक उपचार सम्बन्धि तालिम गरिएको वडा कार्यालयले जनाएको छ।

वडामा रहेका विद्यालय,सामाजिक संघसंस्थाहरुका प्रतिनिधिहरुलाई प्राथमिक उपचारको महत्त्व र यसको सहि कार्यान्वयनको लागि तालिमको आयोजना गरिएको वडा अध्यक्ष ध्रुव खनाल(दिपेश) ले बताउनुभयो। तालिममा प्रयोगात्मक ज्ञान सहित प्राथमिक उपचार किट बक्स समेत प्रदान गरिएको उहाँले बताउनुभयो । वडाका रहेका शान्ति निकुञ्ज माध्यमिक विद्यालय,राजरत्न आधारभूत विद्यालय,सन्तुदेवी आधारभूत विद्यालय,वाईज भिजन इङलिस स्कुल,डायमण्ड युथ सोसाइटी र पिठौली चौर युवा समितिका प्रतिनिधिहरुलाई तालिम दिइएको उहाँको भनाई छ।उहाँले तालिममा सिकेको ज्ञानलाई वडाका समुदायहरुमा सचेतना प्रवाह गर्नका लागि उपयोगी हुने र सबैलाई घर समुदाय हुँदै वडा भरमा सचेतना प्रवाह गर्नका लागि अनुरोध गर्नुभएको थियो।

कावासोती वडा नम्बर १२ का वडा अध्यक्ष ध्रुव खनालको अध्यक्षता भएको तालिमको समुदघाटनमा कावासोती नगरपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत तथा नगर शिक्षा अधिकारी क्षेत्रबहादुर भण्डारीको प्रमुख आतिथ्यता रहेको थियो । त्यसै गरि स्वास्थ्य शाखा प्रमुख कृष्णप्रसाद नागिला,स्वास्थ्य शाखाका पारेश्वर भुर्तेल,शान्ति निकुञ्ज माध्यमिक विद्यालयका प्रधानाध्यापक हरि न्यौपाने,वडा सदस्यहरु, विद्यालयका प्रतिनिधिहरु,विभिन्न संघसंस्थाको प्रतिनिधि लगायत विद्यार्थीहरुको सहभागिता रहेको थियो।


स्वास्थ्य र शिक्षा दुवैलाई प्राथमिकता राखी वडा कार्यालयले संचालन गरेको प्राथमिक उपचार सम्बन्धि तालिम उत्कृष्ट भएको कावासोती नगरपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत तथा नगर शिक्षा अधिकारी क्षेत्रबहादुर भण्डारीले बताउनुभयो । हरेक वडामा यस्ता सचेतनाका कार्यक्रम संचालन गर्नुपर्ने उहाँले बताउनुभयो । त्यसै गरि स्वास्थ्य शाखा प्रमुख कृष्णप्रसाद नागिला,शान्ति निकुञ्ज माध्यमिक विद्यालयका प्रधानाध्यापक हरि न्यौपाने लगायतका व्यक्तिले तालिम सफलताको शुभकामना दिनुभएको थियो।

तालिममा प्राथमिक उपचारका प्रशिक्षक शशिधर कंडेल ,निरञ्जन चौधरीले सहजीकरण गर्नुभएको थियो।तालिममा प्राथमिक उपचारको महत्व र प्रयोगात्मक रुपमा प्राथमिक उपचार सम्बन्धि सहजीकरण गरिएको थियो।

तालिममा विद्यालयका लागि आवश्यक प्राथमिक उपचार किट बक्स प्रदान गरिएको थियो। तालिमको औपचारिक कार्यक्रमको संचालन नवीन मानन्धरले गर्नुभएको थियो।

Write your Comment