आज:  २०८१ कार्तिक ७, बुधबार | Wed, 23, Oct, 2024 Search
FLASH NEWS

देवचुलीमा सामूहिक पुष्प खेती

    प्रकाशित २०८० आश्विन १५, सोमबार (१ साल अघि)


देवचुली । बेरोजगारहरूलाई आर्थिक क्रियाकलापसँग जोड्दै आम्दानी बढाउन वडा कार्यालयको सहयोगमा सामूहिक पुष्पखेती गरिएको छ । नवलपरासी (बर्दघाट सुस्तापूर्व) नवलपुरको देवचुली –१२ ले बेरोजगारहरूका लागि स्वरोजगार बनाउँदै आर्थिक विकासमा सहयोग पुर्याउने उद्देश्यका साथ पुष्प खेतीमा सहयोग गरेसँगै यहाँ सामूहिक पुष्पखेती गरिएको छ । देवचुली नगरपालिका वडा नम्बर –१२, को आर्थिक सहयोग तथा कृषि शाखाको प्राविधिक सहयोगमा सयपत्री फुलको खेती गरिएको हो ।

वडाले बेरोजगार युवा लक्षित कार्यक्रम अन्तर्गत गत बैशाखमा योजना माग गरेकोमा २५ जनाले फारम भरि विभिन्न योजना पेश गरेकोमा उनिहरुलाई पहिलो चरणमा सामूहिक पुष्पखेतीका लागि सहयोग गरिएको वडा अध्यक्ष लोकप्रसाद भुर्तेलले बताउनुभयो । ‘युवाहरूलाई रोजगारसँग जोड्ने वडाको योजना अनुसार पहिलो चरणमा पुष्पखेती सुरु गरिएको छ, क्रमश अन्य आयमूलक क्रियाकलापमा जोड्ने लक्ष्य छ’ वडा अध्यक्ष भुर्तेलले भन्नुभयो । भौतिक पूर्वाधार मात्र विकास नभई मानवीय विकासलाई पनि प्राथमिकता दिनुपर्ने मान्यताका साथ बेरोजगारहरूलाई स्वरोजगार बनाउने अभियानमा वडा रहेको उहाँले बताउनुभयो ।

वडाको सहयोगमा लक्ष्मीपुरमा १३ जना र प्रगतिटोलमा १२ जनाले सामूहिक सयपत्री फूल खेती सुरु गरेको भुर्तेलले बताउनुभयो । मङ्सिरसम्म पुष्प खेतीमा हुने र त्यसपछि तरकारी खेती लगायतका स्वरोजगार कार्यहरूलाई वडाले लगानी गर्ने उहाँको भनाई छ।देवचुली नगरपालिकामा भएका सङ्घसंस्थाका कार्यक्रमहरूमा खादा प्रयोग नगरी किसानहरूले उत्पादन गरेका फूलका मालाको प्रयोग गर्न उहाँले आग्रह समेत गर्नुभयो । अब फूल तयारी हुने क्रममा रहेकोले खादा भन्दा स्थानीय रुपमा उत्पादन हुने फूलको प्रयोगमा जोड दिन आवश्यक रहेको उहाँको भनाई छ ।

वडाका दुई स्थानमा करिब १० कठ्ठामा लगाइएका फूलहरू फुल्न सुरु गरेका छन् । फूललाई निरन्तर गोडमेल गर्दै आएकोमा फूल फुल्दा खुसी लागेको प्रगतिटोल पुष्पखेती समुहकी सीता रेग्मीले बताउनुभयो । फूल आवश्यक पर्नेहरुका लागि थुँगा, माला बनाएर दिइने उहाँले बताउनुभयो । फूल बिक्रीबाट आएको रकमबाट आफ्नो सामान्य घरखर्च चल्छकी भन्ने उहाँको अपेक्षा रहेको छ ।

देवचुली १२ मा कर्मा ५५५,कर्मा १११ र कलकतिया प्रजातिका फूलहरू लगाइएको देवचुली नगरपालिका कृषि शाखाका कर्मचारी नरेन्द्र भण्डारीले बताउनुभयो । कलकतिया प्रजाति केही ढिलो फुल्ने गरेको र कर्मा जातका फूलहरू सामूहिक पुष्पखेती गरेको स्थानमा फूलिरहेको उहाँले बताउनुभयो । फूल स्वस्थ र राम्रो रहेको साथै अब सबै मिलि बजारीकरणका लागि पहल गर्नुपर्ने भण्डारीले बताउनुभयो ।

Write your Comment