आज:  २०८१ भाद्र २६, बुधबार | Wed, 11, Sep, 2024 Search
FLASH NEWS

विद्यार्थीहरुलाई फोहोरमैलाको दिगो व्यवस्थापन तथा करेसाबारी निर्माण सम्बन्धि तालिम

    प्रकाशित २०८० भाद्र २३, शनिबार (१ साल अघि)


देवचुली। देवचुली ५ मा रहेको सकलादेवी माविका विद्यार्थीहरुलाई फोहोरमैलाको दिगो व्यवस्थापन तथा करेसाबारी निर्माण सम्बन्धि तालिम प्रदान गरिएको छ। सकलादेवी माविको आयोजना तथा जागृति बाल तथा युवा सरोकार नेपालको समन्वयमा शुक्रबार र शनिबार दुई दिन तालिम प्रदान गरिएको हो।


विद्यार्थीहरुलाई प्रकृतिसँग जोड्ने र घरेलु फोहोरको वर्गीकरण गरि व्यवस्थापन गर्ने विधिबारे सिकाउन तालिमको संचालन गरिएको विद्यालयका प्रधानाध्यापक लक्ष्मी शिवाकोटीले बताउनुभयो । विद्यालय तथा घरमा उत्पादन हुने कुहिने/नकुहिने फोहोरलाई सही व्यवस्थापन गर्न सिकाई समुदाय समेत सचेतना गर्ने उद्देश्य रहेको उहाँले बताउनुभयो । विद्यार्थीहरुलाई करेसाबारी निर्माण गरि तरकारी उत्पादन गर्न सिकाउन विद्यालयले व्यवहारिक शिक्षा प्रदान गर्ने गरि योजना बनाएको उहाँले बताउनुभयो ।

विद्यालय व्यवस्थापन समितिका अध्यक्ष काशीनाथ पोख्रेलको अध्यक्षता भएको तालिमको समापन कार्यक्रममा देवचुली नगरपालिका वडा नम्बर ५ का वडा अध्यक्ष कृष्णप्रसाद सापकोटाको प्रमुख आतिथ्यता रहेको थियो।त्यसै गरि कार्यक्रममा जागृति बाल तथा युवा सरोकार नेपालका महासचिव दिपक शर्मा,परिवर्तनका लागि युवा नेपालका अध्यक्ष राजु चापागाई लगायतको विशेष आतिथ्यता रहेको थियो।


कार्यक्रममा देवचुली ५ का वडा अध्यक्ष सापकोटाले विद्यालयले फोहरमैला व्यवस्थापन गर्न विद्यार्थीहरुलाई सिकाएर सफा वडा बनाउने अभियान सुरु गरेकोमा विद्यालयको प्रशंसा गर्नुभएको थियो। हरेक विद्यार्थीले आफ्नो घरदेखि नै फोहोरको व्यवस्थापन गर्न सके मात्र नमूना वडा बनाउन सकिने उहाँले बताउनुभयो ।उहाँले तालिममा सिकेका कुरा व्यवहारमा उतार्न विद्यार्थीहरुलाई आग्रह गर्नुभएको थियो।

कार्यक्रममा जागृति बाल तथा युवा सरोकार नेपालका महासचिव दिपक शर्माले बढ्दो प्रदुषणले जलवायु परिवर्तनका संकेतहरु देखिएकाले देवचुलीका अन्य विद्यालयमा फोहोरमैला व्यवस्थापनका कार्यक्रम संचालनका लागि योजना बनाइएको बताउनुभयो । विद्यार्थीहरुबाट नै सचेतना सुरु गर्न सके फोहरको व्यवस्थापन गरि वातावरणमैत्री विद्यालय बनाउनका लागि स्थानीय सरकारलाई समेत सहज हुने उहाँले बताउनुभयो । बालबालिकालाई वातावरण संरक्षणमा सहभागिता गराउनका लागि अभियानको रुपमा नै तालिमको सुरुवात गरिएको र बालबालिकाहरूलाई विद्यालयमा सिकाएर घरमा सन्देश प्रवाह गर्ने गरि तालिमको विषयवस्तु राखिएको उहाँले बताउनुभयो ।

दुई दिनसम्म फोहोरमैलाको वर्गीकरण कसरी गर्ने,कुहिने फोहोरमैलाबाट कसरी मल बनाउने, विद्यालय तथा घरेलु फोहोरबाट आम्दानी कसरी गर्ने लगायत करेसाबारी निर्माण ,कौसी खेती लगायतका विषयमा वेटर चितवनका संस्थापक संयोजक सागर कार्कीले सहजीकरण गर्नुभएको थियो।

 

Write your Comment