आज:  २०८१ श्रावण १२, शनिबार | Sat, 27, Jul, 2024 Search
FLASH NEWS

आमाहरुलाई बाल विवाहको बारेमा सचेत गराउँदै कावासोतीका किशोरीहरु

    प्रकाशित २०८० श्रावण २७, शनिबार (११ महिना अघि)


कावासोती। कावासोती नगरपालिका वडा नम्बर ४ मा किशोरीहरुले आमाहरुलाई बाल विवाहको बारेमा सचेतना र छलफल गरि अन्तर्राष्ट्रिय युवा दिवस २०८० मनाएका छन् ।क्यान्नलान स्विजरल्याण्डको सहयोगमा जागृति बाल तथा युवा सरोकार नेपालको आयोजना साथै नवलपुर किशोरी संजाल, कावासोती वडा नं ४ र आमा समुहहरुको समन्वयमा बाल विवाह न्यूनीकरणमा अभिभावक र आमा समुहको भुमिका बारे छलफल कार्यक्रम सम्पन्न गरिएको हो ।

बालबालिका माथि हुने हिंसा र बाल विवाह विरुद्धको अभियानमा आमा समुहको महत्त्वपूर्ण भुमिका रहने भन्दै सचेतनाको कार्यक्रम तयारी गरिएको संस्थाले जनाएको छ । कार्यक्रममा बालबालिका भनेका को हुन् ? कुन उमेर समुहलाई बालबालिका भनिन्छ? बाल विवाह भनेको के हो? बाल विवाह हुनुका कारणहरु के हुन् ? बाल विवाह गर्दा शारीरिक, मानसिक र सामाजिक रुपमा कस्तो प्रभाव र असरहरु पर्छ ? बाल विवाह रोकथाम र न्यूनीकरणमा अभिभावक र आमा समुहले कसरी भुमिका निर्वाह गर्न सकिन्छ ? बाल विवाह हुन लागेको थाहा पाएमा कुन कुन निकायहरुमा समन्वय र सम्पर्क गर्न सकिन्छ ? बाल विवाह गर्दा र गराउँदा कानुनी रुपमा हुने दण्ड सजायहरु के के हुन भन्ने वारेमा छलफल गरिएको थियो ।

कार्यक्रममा किशोरी सशक्तिकरणका किशोरीहरु गोमा पाण्डे, भावना भण्डारी, रिम कुमारी वान्टकी र संस्थाका सहजकर्ताहरु राधा देवी बोटे, आशा बि.क. ले कावासोती नगरपालिकामा संचालित किशोरी सशक्तीकरण कार्यक्रम अन्तर्गत भईरहेका गतिविधिहरु, कार्यक्रमको गर्नुको उदेश्य र विषयवस्तुको बारेमा जानकारी दिँदै सहजीकरण गरेका थिए।अन्तर्राष्ट्रिय युवा दिवस २०८० को अवसरमा “दिगो विकास लक्ष्य प्राप्तिमा युवाको साथ, नवपर्वतन र उद्यमशिलतामा हरित सीप विकास” नारा सहित समुदाय स्तरमा अभिभावक, आमा समुहका प्रतिनिधि, सरोकारवाला, किशोर किशोरीहरुमा अनुभवहरु समेत आदानप्रदानको लागि कार्यक्रम आयोजना गरिएको आयोजक संस्थाले जनाएको छ ।

कार्यक्रममा उपस्थित आमा समुहका पदाधिकारीहरुले बाल विवाह न्यूनीकरणको लागि विद्यालय, समुदाय र स्वयम बालबालिकाले नै जिम्मेवार पुर्वक कामहरु गर्नु पर्नेमा जोड दिएका थिए। पहिला अभिभावकले गर्ने बाल विवाह बढी रहेको तर अहिले आफैं भागेर गर्ने भएकोले किशोर किशोरी लक्षित यस्तै अभियानहरु निरन्तर आवश्यक रहेको सरस्वती माध्यमिक विद्यालयका व्यवस्थापन समितिका अध्यक्ष शुसिल पौडेलले बताए । कार्यक्रममा किशोरीहरुले बाल विवाह विरुद्ध विभिन्न सचेतनामुलुक पम्प्लेट र पोस्टरहरु समेत प्रदर्शनी गरेका थिए ।

कार्यक्रमको अध्यक्षता सत्यवती आमा समुहका अध्यक्ष गिता पाण्डे, प्रमुख अतिथि कावासोती वडा नं ४ का वडा सदस्य थमान सिंह कानुन, विशेष अतिथि सरस्वती मा.वि. का विद्यालय व्यवस्थापन समितिका अध्यक्ष सुशील पौडेल, सत्यवती आमा समुह, सहेली आमा समुह र मगर आमा समुहका प्रतिनिधिहरु, खानेपानी संस्थाका प्रतिनिधि, बालक्लवका प्रतिनिधि, अभिभावक, किशोर किशोरी, साथी शिक्षकहरु गरि ४० जनाको सहभागिता रहेको थियो ।

Write your Comment