आज:  २०८१ श्रावण १२, शनिबार | Sat, 27, Jul, 2024 Search
FLASH NEWS

कावासोती १० मा यौन तथा प्रजनन स्वास्थ्य अधिकार शिक्षा सम्बन्धि अभिमुखिकरण

    प्रकाशित २०८० श्रावण ९, मंगलबार (१ साल अघि)


कावासोती । कावासोती १० मा यौन तथा प्रजनन स्वास्थ्य अधिकार शिक्षा सम्बन्धि अभिमुखिकरण सम्पन्न भएको छ। जागृति बाल तथा युवा सरोकार नेपाल र कावासोती १० को आयोजनामा मगरकोट आमा समुहका पदाधिकारी र अभिभावकहरुलाई सोमबार जनता माध्यमिक विद्यालयमा कार्यक्रम गरिएको हो।

कार्यक्रममा जागृति बाल तथा युवा सरोकार नेपालका सहजकर्ता राधादेवी बोटेले कावासोतीमा संचालित किशोरी सशक्तिकरण कार्यक्रम, किशोरीहरुले लिएका तालिमहरु र टोल, समुदाय, विद्यालय, वडामा संस्थाले गर्दै आएका कार्यक्रम र अभियानहरु सहित समुदायस्तरमा कार्यक्रम गर्नुको उद्देश्यबारे जानकारी दिनु भएको थियो ।

मगरकोट आमा समुहका अध्यक्ष राधा अर्यालले कार्यक्रममा सहभागी भएर हामी महिलाहरुले आफ्नो यौन तथा प्रजनन स्वास्थ्य र अधिकार सम्बन्धि केके जानकारीहरु थाहा पाउनुपर्छ, महिनावारीको समयमा आफ्नो स्वास्थ्यको ख्याल कसरी राख्नुपर्छ भन्ने कुराको बारेमा जानकारी पाएको बताउनुभयो । महिलाहरुका लागि यस्ता कार्यक्रम प्रभावकारी हुने बताउँदै उहाँले कार्यक्रम आयोजना गरेकोमा संस्था र किशोरीहरुलाई धन्यवाद ज्ञापन गर्नु भएको थियो ।

आमा समुहकै सदस्य बसुन्धरा पंगेनीले कतिपय कुराहरू जानेकै भएतापनि गलत बुझाईहरु रहेकोले हामी महिलाहरुलाई नै नकारात्मक प्रभावहरु परिरहेको बताउनुभयो । कार्यक्रममा किशोरीहरुले आवश्यक विषयमा सहजीकरण गरेकोमा खुसी लागेको र आगामी दिनमा पनि आमा समुहलाई यस्ता खालका अन्य राम्रा कार्यक्रमहरु आयोजना गर्नको लागि अनुरोध गर्नु भएको थियो ।
अभिमुखिकरण कार्यक्रममा यौन तथा प्रजनन स्वास्थ्य, यौन तथा प्रजनन अधिकार, परिवार नियोजनका अस्थायी र स्थायी साधनहरु, सुरक्षित गर्भपतन, महिनावारी स्वच्छताको महत्त्व र आवश्यकता बारेमा छलफल गरिनुका साथै अभिभावकहरुले आफ्ना अनुभवहरु समेत आदानप्रदान गर्नु भएको थियो ।कार्यक्रममा किशोरी अभियन्ता एलिसा पन्थी, मिना महतो, स्वस्तिका ढकाल र मान्सु न्यौपानेले सहजीकरण गर्नु भएको थियोे ।

मगरकोट आमा समुहको अध्यक्ष राधा अर्यालको अध्यक्षतामा भएको कार्यक्रममा समुदायका महिला अभिभावकहरु, आमा समुहका प्रतिनिधिहरु, सहजकर्ता लगायतका २८ जनाको सहभागिता रहेको थियो।

Write your Comment