आज:  २०८१ कार्तिक २३, शुक्रबार | Fri, 08, Nov, 2024 Search
FLASH NEWS

नेकपा एस परित्याग गरेका नवलपुरका जिल्ला नेताहरू एमालेमै फर्किए

    प्रकाशित २०८० श्रावण ७, आईतबार (१ साल अघि)


कावासोती । नवलपुरका नेकपा एकीकृत समाजवादीका जिल्ला तथा पालिका स्तरका नेता पुरानै घर फर्किएका छन् । पार्टी विभाजनको समयमा एकीकृत समाजवादीमा रहेका जिल्ला तथा पालिका स्तरका नेता पुनः एमालेमै फकिएका हुन् ।

आज ४५औँ पुष्पलाल स्मृति दिवसको अवसरमा नेकपा एमाले जिल्ला कमिटी नवलपुरले कावासोतीमा आयोजना गरेको विचार गोष्ठी कार्यक्रममा नेकपा एकीकृत समाजवादी परित्याग गरेका नेताहरू पुनः एमालेमै प्रवेश गरेका हुन् ।

एकीकृत समाजवादी नवलपुरको कार्यालय सचिव तथा जिल्ला कमिटी सचिवालय सदस्य रहनु भएका नरनाथ पाण्डेले यस अघिनै सो पार्टी परित्याग गरेको घोषणा गर्नुभएको थियो । उहाँसँगै कावासोती नगर कमिटी अध्यक्ष एवं जिल्ला कमिटी सचिवालय सदस्य रहनुहुने गिरिधारी सिग्देल सहित विभिन्न नेताले नेकपा एस परित्याग गरेकोमा आज पुनः एमालेमै फर्किनुभएको छ ।नेकपा एस परित्याग गरि पुनः एमालेमै फर्किएका नेताहरूलाई नेकपा एमाले नवलपुर जिल्ला इन्चार्ज मना केसी जिसी सहित पार्टीका नेताहरूले टिका खादा लगायर पार्टीमा स्वागत गरेका थिए ।

विभिन्न परिस्थितिले एमाले भन्दा बाहिर रहेको भएपनि जनताको पक्षमा काम गर्ने पार्टी एमाले भएको र कम्युनिष्ट पार्टीका रुपमा एमाले नै देशको मूल पार्टी भएको ठहर गरि पुन: पुरानै घरमा फर्किएको नेता गिरिधारी सिग्देलले बताउनुभयो । उहाँले एमाले भन्दा बाहिर रहेका कम्युनिष्ट विचारधारा बोक्ने तमाम सबै कार्यकर्तालाई एमालेमै फर्कन समेत अनुरोध गर्नुभयो ।

स्मृती दिवशको अवसरमा जिल्ला कमिटि अध्यक्ष मुक्तिराम पाण्डेको अध्यक्षता तथा जिल्ला इन्चार्ज मना केसी जिसीको प्रमुख आतिथ्यतामा विचार गोष्ठी कार्यक्रम गरिएको थियो । कार्यक्रमको संचालन जिल्ला उप सचिव भिमलाल कंडेलले गर्नुभएको थियो भने स्वागत उपाध्यक्ष मनविर पुलामीले गर्नुभएको थियो ।

कार्यक्रममा विभिन्न नेताहरुले आफ्नो धारणा राख्दै पुष्पलालको विचार र सिद्धान्त आज पनि उत्तिकै सान्दर्भिक रहेकाले यसलाई अनुसरण गर्दै अघि बढ्नुपर्ने बताएका थिए ।

Write your Comment