आज:  २०८१ कार्तिक ७, बुधबार | Wed, 23, Oct, 2024 Search
FLASH NEWS

कावासोती नगरपालिकाले सिँचाइको विद्युत महशुलमा ५० प्रतिशत अनुदान दिने

    प्रकाशित २०८० श्रावण ३, बुधबार (१ साल अघि)


दयाराम आचार्य,नवलपुर । नवलपरासी (बर्दघाट सुस्तापूर्व ) नवलपुरको कावासोती नगरपालिकाले कृषि सिँचाइ मिटरको विद्युत महशुलमा ५० प्रतिशत अनुदान दिने भएको छ । नगरपालिकाले चालु आर्थिक वर्षबाट सिँचाइ मिटरको शुल्कमा ५० प्रतिशत अनुदान दिने गरि कार्यक्रम तय गरेको कावासोती नगरपालिका नगर प्रमुख विष्णुप्रसाद भुसालले बताउनुभयो ।

कृषि पेशा गरेका किसानलाई सिचाईमा सुविधा दिने योजना अनुसार नगरपालिकाले नीति तथा कार्यक्रममा उल्लेख गरेको र सोही अनुसार बजेट समेत व्यवस्थापन गरेको नगर प्रमुख भुसालले बताउनुभयो । सिँचाइको समस्याका कारण उत्पादनमा कमी नआओस् भनेर सिँचाइमा अनुदान दिन लागेको उहाँले बताउनुभयो । किसानलाई सिँचाइ मिटरमा अनुदान दिँदा कृषि उत्पादनको लागत थोरै भएपनि घटाउन सहयोग पुग्ने र किसानले उत्पादन गर्ने कृषि उपजबाट धेरै आम्दानी गर्न सक्ने भएकाले सिँचाइ मिटरको शुल्कमा अनुदान दिन लागिएको नगर प्रमुख भुसालले बताउनुभयो । ‘किसानलाई प्रत्यक्ष रुपमा लागतमा अनुदान प्रदान गर्दै सिँचाइका कारण उत्पादनमा कमी हुन नदिन र उत्पादन लागत घटाउनु हाम्रो उद्देश्य हो, सोही अनुसार ५० प्रतिशत अनुदान दिने योजना बनाएकाछौं’ नगर प्रमुख भुसालले भन्नुभयो ‘यो वर्ष कार्यक्रम कार्यान्वयन गर्ने गरि लागेका छौं।’

कावासोती नगरपालिकाले नगर भित्र रहेका कृषि फर्म, समूह,सहकारीमा रहेका कृषि सिँचाइ मिटरको शुल्कमा ५० प्रतिशत अनुदान दिन लागेको कावासोती नगरपालिका कृषि विकास शाखाका प्रमुख शिवनारायण कुमालले बताउनुभयो । नगर भित्र कृषि सिँचाइ मिटरको अभिलेख राखी वार्षिक रुपमा ति सिँचाइ मिटरमा उठेको शुल्कमा ५० प्रतिशत अनुदान नगरपालिकाको तर्फबाट दिइने शाखा प्रमुख कुमालले बताउनुभयो । मुख्य गरि कृषिमा सिँचाइको समस्याले गर्दा उत्पादनमा कमी हुने गर्दा सिँचाइलाई प्रोत्साहन गरि उत्पादन बढाउन र किसानको उत्पादन लागत घटाउन अनुदानको कार्यक्रम राखिएको शाखा प्रमुख कुमालले बताउनुभयो ।

कावासोती नगरपालिकाले गत आर्थिक वर्षमा समेत सिँचाइ मिटर जडानमा अनुदान प्रदान गरेको थियो । गत वर्ष समूह, सहकारी, कृषि फर्मलाई सिँचाइ मिटर जडानमा अनुदान प्रदान गरेकोमा यस वर्ष विद्युत खपत गरे वापतको शुल्कमा अनुदान प्रदान गर्न लागिएको शाखा प्रमुख कुमालले बताउनुभयो । ७५ प्रतिशत अनुदानमा कृषि औजार तथा उपकरण प्रदान गर्ने कार्यक्रम समेत राखिएको उहाँले बताउनुभयो ।

कावासोती नगरपालिका कृषिको लागि सम्भावना भएको क्षेत्रका रुपमा रहेको छ । यस नगरपालिका भित्र करिब २ हजार ५ सय हेक्टर खेतीयोग्य जमिन रहेको छ । नगरपालिकाले विभिन्न वडामा फरक फरक बालीको पकेट विकास कार्यक्रम समेत सञ्चालन गर्दै आएको छ ।

Write your Comment