आज:  २०८१ बैशाख १५, शनिबार | Sat, 27, Apr, 2024 Search
FLASH NEWS

भूमिगत जलस्रोत संरक्षण हाम्रो जिम्मेवारी

    प्रकाशित २०८० अषाढ २१, बिहिबार (९ महिना अघि)


अविनाश पन्थी
सन् २००६ तिर त्रिभुवन विश्वविद्यालय कीर्तिपुर क्यामपसमा समाजशास्त्र/मानवशास्त्र केन्द्रीय विभागमा भर्ना भएँ।प्राध्यापक चैतन्य मिश्रको पहिलो कक्षा।संसारमा सबैभन्दा बढि समाजशास्त्रीय महत्वको प्राकृतिक स्रोत के हो थाहा छ? उहाँ भन्नुहुन्छ- पानी र माटो।जुन दृष्टिकोण मलाई असाध्यै मन पर्छ।यसको अर्को कारण नि छ।त्रि-चन्द्रमा स्नातक तह अध्ययन गर्दै गर्दा भू-गर्व शास्त्र अध्ययन गर्ने दाइहरुसँग ढुङ्‌गामाटो र वातावरण शास्त्र अध्ययन गर्ने दाइ दिदीहरुसँग जलवायु बारेको ज्ञान लिने अवसर पाएको थिंए।उहाँहरु मलाई यदाकदा फिल्ड वर्कमा समेत लैजानुहुन्थ्यो।त्यसपछि त जीवनको अपरिहार्य अवयव पानी र माटो हो भन्ने विषयमा कुनै द्विविधा नै रहेन।

जलस्रोत नै सम्भवत एउटा यस्तो प्रमुख प्राकृतिक स्रोत हो जुन समग्र प्राणी जीवन जगतमा सर्वाधिक उपभोग हुन्छ।हाम्रो दैनिक उपभोगमा प्रायजसो सफा पानीकै प्रयोग भइरहेको हुन्छ।पृथ्वीमा उपलब्ध पानी मध्ये ९७ प्रतिशत नुनिलो पानी छ।बाँकी ३ प्रतिशत सफा पानी जसमध्येको दुईतिहाई हिस्सा जमेको हिउँका रुपमा रहेको छ।यसरी नजमेको जमिनको सतहमा पाइने पानी अत्यन्तै न्यून मात्रामा रहेको छ।

जनसंख्यामा भएको वृद्धिले प्राकृतिक स्रोतको उपयोगमा पर्न जाने भारलाई अस्वभाविक मान्न सकिन्न।पछिल्ला वर्षमा मानिसहरुको आयमा भएको बढोत्तरी सँगै पानीको माग पनि बढ्दो छ।मानिसहरु एयर कन्डिसनर, वाटर कुलर, फ्रिज, वासिङ मेसिन जस्ता उपकरण अधिक भन्दा अधिक खरिद गरिरहेका छन्।यस्ता उपकरण चलाउन विद्युतको आपूर्ति समेत बढाउनु पर्छ।जसको लागि समेत पानी अपरिहार्य छ।पानीको माग अझै बढ्ने करिब निश्चित जस्तै छ।

बढ्दो जनसंख्यालाई आवश्यक पर्ने खाद्यान्नको उत्पादन वृद्धिका लागि पानीको माग बढ्ने नै भयो।आयको वृद्धिसँगै मानिसको खानपानको परम्परागत तरिकामा समेत बदलाव आएको छ।प्रोसेस्ड र प्याकिङ् फुडको खपत अधिक भएको छ र बिगतको तुलनामा पानीको जरुरत पनि बढेको छ।हामीसँग उपलब्ध सहतको पानी अपर्याप्त हुँदै जाँदा भूमिगत जलस्रोत माथी अस्वभाविक भार बढ्दो छ।

बढ्दो सहरीकरणका कारण कंक्रिट ढलानले गर्दा वर्षाको पानी खेर जानु एउटा विकराल समस्या हो।जंगलको विनासले जमिन कम्प्याक्ट हुन गई वर्षाको पानी सिस्टमबाट बाहिर गएको छ।प्राकृतिक कुला र नालाको कंक्रिटिकरणले गर्दा बाँकी रहेका खेतीयोग्य जमिन समेत सुख्खा हुँदै गैरहेका छन्।सतहको पानी भूमिगत जलभण्डारमा संचित हुन पाएन।जति भइरहेको छ त्यो भन्दा बढि मात्रामा प्रयोग भइरहेको छ।

भूमिगत पानीबिना जीवन सम्भव छैन।संसारका अधिकांश सुख्खा क्षेत्रहरू पूर्णतया भूमिगत पानीमा निर्भर छन्। हामीले पिउने, सरसफाइ, खाद्य उत्पादन र औद्योगिक प्रक्रियाहरूमा प्रयोग गर्ने पानीको ठूलो हिस्सा भू-जलले आपूर्ति गर्छ।यो सिमसार र नदीहरूजस्ता पारिस्थितिक प्रणालीहरूको स्वस्थ कार्यका लागि पनि महत्त्वपूर्ण छ। हामीले तिनलाई अतिशोषणबाट जोगाउनै पर्छ।

जल संकटबाट परिवार त प्रभावित छन् नै, यसको असर समाजमा पनि परेको छ।जल सङ्कटले मानिसलाई कहिल्यै खतम नहुने गरिबीको दुष्चक्रमा धकेलिदिन्छ र समाजमा असमानता बढाउँछ।सामाजिक र आर्थिक रूपमा पिछडिएका मानिसले पानीमा अधिक खर्च गर्न पाउँदैनन्।यसको असर उनीहरूको स्वास्थ्यमा पर्छ र उनीहरू यस दुष्चक्रमा फस्छन्।

जमिन मुनिको पानी संरक्षण र दीगो उपयोगका निम्ति देहायका कुराहरुमा ध्यान पुर्‍याउन जरुरी देखिन्छ।
👉️जमिन मुनिको पानी फारु गरेर प्रयोग गर्नुपर्छ।

👉️बोरिङ् निर्माणका विषयमा स्पष्ट नीति निर्माण गरि कार्यान्वयन गर्नुपर्दछ।

👉️नदीजन्य वस्तुको अत्यधिक दोहन रोक्नुपर्छ।

👉️चुरे संरक्षणका योजनाहरुको कार्यान्वयनमा सबै सरोकारवालाहरु जिम्मेबार बन्नुपर्छ।

👉️खाली जमिनमा वृक्षारोपण गर्नुपर्छ।

👉️पानी पुनर्भरण पोखरीहरु निर्माण गर्नुपर्छ।

👉️सतही जल सिंचाई प्रणालीहरु प्राथमिकताका साथ निर्माण गरिनुपर्छ।

👉️जलवायु अनुकूलन खेतीपाती प्रणालीको विकास गर्नुपर्छ।

👉️खानेपानीका मुहान संरक्षण तथा दीगो उपयोगका योजनाहरु तर्जुमा गर्नुपर्छ।

👉️जलवायुमैत्री आनीबानीको विकासमा जोड दिनुपर्छ।

दीगो विकास लक्ष्य ६ “सबैको निम्ति पानी तथा सरसफाइको उपलब्धताका साथै यसको दिगो व्यवस्थापन सुनिश्चित गर्ने” विषयलाई प्राथमिकतामा राख्दै जलका स्रोतहरुलाई हानि नपुर्‍याउने गरि योजना निर्माण र कार्यान्वयन गर्नु तथा जलवायु परिवर्तनका असरहरु न्यूनिकरण गर्दै अनुकूलनको रणनीति अवलम्वन गर्न सम्बद्ध सबै पक्षहरु जिम्मेबार बन्नुपर्दछ।

(लेखक देवचुली नगरपालिकाका प्रशासकीय अधिकृत हुन् ।)

Write your Comment