आज:  २०८२ अषाढ १६, सोमबार | Mon, 30, Jun, 2025 Search
FLASH NEWS

एसईईमा ४ जीपीए ल्याउने विद्यार्थीलाई देवचुलीले नगदसहित सम्मान गर्ने

    प्रकाशित २०८२ अषाढ १६, सोमबार (५ घण्टा अघि)


देवचुली । देवचुली नगरपालिकाले माध्यमिक शिक्षा परीक्षा (एसईई) मा ४ जीपीए ल्याउने विद्यार्थीलाई नगदसहित सम्मान गर्ने भएको छ । शुक्रबार प्रकाशित एसईई नतिजामा देवचुली नगरपालिकाबाट ४ जीपीए ल्याएका ४ जना छात्राहरुलाई नगद सहित सम्मान गरिने भएको हो ।

देवचुली नगरपालिकाका नगर प्रमुख हरिप्रसाद न्यौपानेले आगामी शिक्षा दिवसको अवसरमा ४ जीपीए ल्याउने ४ जना विद्यार्थीहरुलाई नगद २५ हजार रुपैयाँ सहित सम्मान गरिने जानकारी दिनुभयो । एसईई २०८१ मा सहभागी १०३७ जनामध्ये देवचुलीका ४ जना छोरीहरुले ४ जीपीए ल्याएको र ८३३ जना विद्यार्थी ग्रेडेड हुन सफल भएको भन्दै उहाँले उत्कृष्ट नतिजा ल्याउन सबैको मेहनत रहेको बताउनुभयो । न्यौपानेले भन्नुभयो `यो सफलता हासिल गर्न अहोरात्र खटी मेहनत गर्ने विद्यार्थी भाईबहिनीहरु, शिक्षक शिक्षिकाहरु, विद्यालय व्यवस्थापन समितिका सम्पुर्ण पदाधिकारीहरु, अभिभावकहरु, शिक्षा समिति, शिक्षा शाखा लगायत सम्पुर्ण सबै सरोकारवालालाई विशेष आभार व्यक्त गर्दछु।´ ४ जीपीए ल्याउने विद्यार्थीका लागि यस वर्षबाट पुरस्कारको व्यवस्था गरिएको र नगरका सबै विद्यार्थीका लागि हौसला प्रदान गर्न नगरपालिकाले काम गरिरहेको उहाँले बताउनुभयो । उहाँका अनुसार विद्यालयहरुको शैक्षिक गुणस्तर वृद्धिको लागि नगरपालिकाले हरेक क्षेत्रमा सहयोग गर्न तयार रहेको बताउनुभयो ।

देवचुली नगरपालिकाबाट ४ जीपीए ल्याउनेमा जनज्योति नमुना माध्यमिक विद्यालयका छात्रा अञ्जु श्रेष्ठ , विश्वज्योति माध्यमिक विद्यालयका छात्रा लक्ष्मी श्रेष्ठ , विश्वज्योति माध्यमिक विद्यालयका छात्रा सुमिना केसी, मुनलाइट आदर्श पब्लिक एकेडेमीका छात्रा रोसा नेपाली रहेका छन् । देवचुलीले गत वर्षको तुलनामा करिब २५% नतिजा वृद्धि गरेको छ । एसईईमा गत वर्ष ५५.५८% रहेको नतिजा सुधार गरि देवचुलीमा यस वर्ष ८०.३३% विद्यार्थी ग्रेडेड हुन सफल भएका हुन् ।

Write your Comment