आज:  २०८२ अषाढ १९, बिहिबार | Thu, 03, Jul, 2025 Search
FLASH NEWS

देवचुली नगरपालिकाद्वारा ९५७ जना विद्यार्थीलाई छात्रवृत्ति वितरण गर्दै

    प्रकाशित २०८२ अषाढ १९, बिहिबार (६ घण्टा अघि)


देवचुली । पुर्वी नवलपरासीको देवचुली नगरपालिकाले नगरपालिकाभित्रका ९५७ जना विद्यार्थीलाई छात्रवृत्ति वितरण गर्न लागेको छ । नगरपालिका भित्र रहेका सामुदायिक विद्यालयमा अध्ययनरत विद्यार्थीलाई छात्रवृति वितरण गर्न लागिएको हो । देवचुली नगरपालिकाले असार मसान्त भित्र वितरण गर्ने गरि सम्बन्धित विद्यालयलाई छात्रवृत्तिको रकम निकासा समेत गरेको जनाएको छ।

देवचुली नगरपालिकाले मेयर छात्रवृत्ति कार्यक्रम अन्तरगत ३८ लाख ९८ हजार रुपैयाँ विद्यार्थीहरुलाई छात्रवृत्ति वितरणका लागि सम्बन्धित विद्यालयहरुमा निकासा गरेको हो । नगरपालिकाले नगरभित्रकै सामुदायिक विद्यालयमा कक्षा ११/१२ मा विज्ञान विषयमा अध्ययन गर्ने ५ जना विद्यार्थीलाई प्रति विद्यार्थी १८ हजार रुपैयाँँ, कक्षा ५ र ८ मा ४ जीपीए ल्याउने २७ जना विद्यार्थीलाई प्रति विद्यार्थी ४ हजार रुपैयाँ र विपन्न तथा जेहेन्दार ९२५ जना विद्यार्थीलाई प्रति विद्यार्थी ४ हजार रुपैयाँ वितरण गर्न लागेको देवचुली नगरपालिका शिक्षा शाखा प्रमुख रामप्रसाद शर्माले बताउनुभयो । उहाँका अनुसार छात्रवृत्ति रकम प्रत्येक विद्यालयमा निकासा गरिएको र विद्यालयले असार मसान्तभित्र विद्यार्थीको बैंक खातामा निकासा गरिदिने व्यवस्था गरिएको छ ।

छात्रवृतिका लागि आवश्यक कार्यविधि निर्माण गरि सोही आधारमा विद्यार्थी छनोट सहित छात्रवृति प्रदान गरिएको शिक्षा शाखा प्रमुख शर्माले बताउनुभयो । ‘छात्रवृतिको उच्चतम् प्रयोग होस र आवश्यकता हुनेलाई सहयोग पुगोस् भनेर कार्यविधि निर्माण गरि सोही अनुसार विद्यार्थी छनौट गरि वितरण गरेका छौं ’ शाखा प्रमुख शर्माले भन्नुभयो ।

नगरपालिका भित्र कोही पनि विद्यार्थी अध्ययनबाट बञ्चित नहुन भनेर शैक्षिक छात्रवृति वितरणको योजना बनाएको नगर प्रमुख हरिप्रसाद न्यौपानेले बताउनुभयो । सामान्य खर्चको अभावमा अध्ययनमा समस्या झेलिरहेकाहरूलाई अध्ययनलाई निरन्तरता दिनका लागि प्रोत्साहन गर्ने उद्देश्यले चालु आर्थिक वर्षमा छात्रवृतिको लागि बजेट विनियोजन गरिएको उहाँले बताउनुभयो । ‘कतिपय परिवारका विद्यार्थी सानो खर्चको अभावमा विद्यालय जान नसक्ने पनि हुन्छन्, शैक्षिक सामाग्रीको अभावमा समस्या झेलिरहेका हुन्छन्, त्यस्ता विद्यार्थीलाई सहयोग सहित विद्यालय जान उत्प्रेरणा गर्नका लागि समेत छात्रवृति प्रदान गरेका हौं’ नगर प्रमुख न्यौपानेले भन्नुभयो ‘ हाम्रो मान्यता विद्यालय बाहिर कोही बालबालिका नरहुन र सबैले शिक्षालाई निरन्तरता दिउन भन्ने नै हो ।’ टुहुरा, वैदेशिक रोजगारीमा आमा वा बुबा गुमाएका, सीमान्तकृत र अति विपन्न परिवारका विद्यार्थीहरू अध्ययनबाट वञ्चित नहुन भन्ने नगरपालिकाको सोच रहेको र आगामी दिनमा समेत आवश्यकता आधारमा छात्रवृति प्रदान गर्ने कार्यक्रमलाई निरन्तरता दिने नगर प्रमुख न्यौपानेले बताउनुभयो ।

Write your Comment