आज:  २०८२ अषाढ १४, शनिबार | Sat, 28, Jun, 2025 Search
FLASH NEWS

संस्थागत विद्यालय अन्तरगत विश्वज्योति माविको उत्कृष्ट नतिजा, दुई छात्राको ४ जिपिए

    प्रकाशित २०८२ अषाढ १४, शनिबार (४ घण्टा अघि)


देवचुली । नवलपुरको देवचुली नगरपालिका–१५, प्रगतिनगरमा रहेको विश्वज्योति माध्यमिक विद्यालयले यस वर्षको माध्यमिक शिक्षा परीक्षा (एसईई) २०८१ मा जिल्लामै उल्लेखनीय सफलता हासिल गरेको छ। विद्यालयका अनुसार परीक्षामा सहभागी ५९ जना विद्यार्थीहरूमध्ये दुई जना छात्रा लक्ष्मी श्रेष्ठ र सुमिना केसीले पूर्ण ४ ग्रेड प्वाइन्ट एभरेज (जिपिए) प्राप्त  गरि  संस्थागत विद्यालयहरू मध्ये विश्व ज्याेती माविका उत्कृष्ट नतिजा ल्याउने  विद्यालय बनेकाे हाे ।

विद्यालयका प्रधानाध्यापक डा. प्रदीप बास्तोलाका अनुसार शिक्षण सिकाइमा निरन्तर ध्यान दिइएको साथै अभिभावक, शिक्षक, विद्यार्थी र विद्यालय प्रशासनबीचको समन्वयले यस्तो सफल परिणाम सम्भव भएको हो। “हामीले गुणस्तरीय शिक्षण सिकाइ र मूल्याङ्कनलाई निरन्तर प्राथमिकता दियौं। नियमित आन्तरिक परीक्षा, अभिभावकसँग नियमित संवाद, अतिरिक्त कक्षा, र सिकाइ सामग्रीमा लगानी जस्ता पक्षले परिणाममा प्रत्यक्ष प्रभाव पारेकाे छ ” डा. बास्तोलाले बताए।

विद्यालयले सार्वजनिक गरेको नतिजा विवरण अनुसार  २७ जना विद्यार्थीले ३.६० देखि ४.०० जिपिए,१९ जनाले ३.२० देखि ३.६०,१० जनाले २.८० देखि ३.२०,१ जनाले २.४० देखि २.८० जिपिए प्राप्त गरेका छन्। यसरी कूल ५९ जना परीक्षार्थीमध्ये ५७ जना ग्रेडेड भएका छन्, जसअनुसार विद्यालयको ग्रेडिङ प्रतिशत ९६.७% पुगेको छ।

छात्रा लक्ष्मी श्रेष्ठ र सुमिना केसीले भने आफ्नो सफलताको श्रेय विद्यालयको शैक्षिक वातावरण, शिक्षकको मार्गदर्शन र अभिभावकको साथ र  समर्थनलाई दिएकी छन्। “नियमित अभ्यास, समय व्यवस्थापन, र सिकाइप्रतिको लगावले राम्राे नतिजा आएकाे  उनीहरूको भनाइ छ।

नवलपुर जिल्लामा विभिन्न विद्यालयहरूमध्ये यस वर्ष दुई छात्राले एकै पटक पूर्ण जिपिए ल्याउने विद्यालयका रूपमा विश्वज्योति मावि अग्रणी बनेको हो।

Write your Comment