देवचुली । देवचुली नगरपालिकामा अम्रिसो कुचो बनाउने तालिम सम्पन्न भएको छ । नमुना हस्तकला सामान उत्पादन उद्यमी महिला समुहको आयोजना तथा देवचुली नगरपालिकाको सहयोगमा असार १ गतेबाट ५ गतेसम्म तालिम संचालन गरिएको हो ।
नमुना हस्तकला सामान उत्पादन उद्यमी महिला समुहका अध्यक्ष कोपिला रायमाझीको अध्यक्षतामा भएको तालिम समापन सत्रमा देवचुली नगरपालिकाका उप प्रमुख पार्वता तिवारीको प्रमुख आतिथ्यता रहेको थियो। त्यसैगरी कार्यक्रममा देवचुली वडा नम्बर ७ का वडा अध्यक्ष भूमिसरा थापा, देवचुली ८ का वडा अध्यक्ष नुनप्रसाद बाचे मगर, देवचुली ९ का वडा अध्यक्ष बलिराम सापकोटा, वडा सदस्यहरू, सामुदायिक वन उपभोक्ता महासंघ नवलपुरका उपाध्यक्ष कमल बाचे, नमुना महिला सामुदायिक वन उपभोक्ता समितिका पदाधिकारी लगायत विभिन्न संघसंस्थाका प्रतिनिधिहरुको उपस्थिति रहेको थियो ।
समापन कार्यक्रममा बोल्दै प्रमुख अतिथि तिवारीले तालिममा सिकेको सीपलाई व्यवहारमा उतार्नुपर्ने र यस्ता तालिमले महिलाहरूको जीवनस्तर सुधारका साथै आर्थिक सशक्तिकरणमा टेवा पुर्याउन सहयोग पुग्ने बताउनुभयो । देवचुली नगरपालिकाले महिलाको सशक्तिकरणका लागि विभिन्न कार्यक्रम सञ्चालन गरिरहेको साथै आगामी दिनमा पनि यस्ता कार्यक्रमहरू सञ्चालन गर्ने उहाँले बताउनुभयो। महिलाहरूले बनाएको कुचोलाई बजारीकरणका लागि नगरपालिकाले पहल गर्ने उहाँले प्रतिबद्धता व्यक्त गर्नुभएको थियो ।
देवचुली नगरपालिका वडा नम्बर ७, ८ र ९ बाट सहभागी २५ जनालाई मीना बाचेले कुचो निर्माणमा सहजीकरण गर्नुभएको थियो । नमुना हस्तकला सामान उत्पादन उद्यमी महिला समुहका सचिव बिनु गुरुङको स्वागत मन्तव्य रहेको समापन कार्यक्रमको नमुना महिला सामुदायिक वन उपभोक्ता समितिका सचिव रिलकुमारी तामाङ्गले सहजीकरण गर्नुभएको थियो ।