देवचुली । राष्ट्रिय स्वतन्त्र पार्टी गण्डकी प्रदेश उत्पादन प्रवर्धन विभागको प्रमुखमा देवचुलीका सुनिल न्यौपाने मनोनित हुनुभएको छ । रास्वपाको विधान ११, धारा ४४ (२) र गण्डकी प्रदेश सचिवालयको निर्णय अनुसार न्यौपाने उक्त विभागको प्रमुखमा चयन हुनुभएको हो ।
१४ वर्ष बैंकिङ क्षेत्रको अनुभव लिएका न्यौपानेले ९ वर्ष अघिबाट सुप्रीम फुड उद्योग स्थापना गरि संचालन गरिरहनु भएको छ । सामाजिक क्षेत्रमा क्रियाशील हुँदै विभिन्न अभियान सहभागी रहने न्यौपाने रास्वपाले महत्त्वपूर्ण विभागको जिम्मा दिएको हो । उत्पादन प्रवर्धन विभाग प्रमुख न्यौपानेको विभागले पेशागत उत्पादन कार्यमा सहयोग गर्ने, उत्पादनका माध्यमबाट रोजगार सिर्जना र आत्मनिर्भर प्रवर्द्धन नीति निर्माणमा नेतृत्व लिने, सरकारी नीति, कार्यक्रममा दबाब तथा सुझाव दिने भुमिका रहने जनाइएको छ ।
न्यौपानेले संचालन गरेको उद्योगमा नवलपुरको अदुवा र बेसार, मनाङको जिम्बु, मुस्ताङको सिमी, बाग्लुङको टिमुर, पर्वतको अलैंची, कास्कीको जेठो बूढो, तनहुँको रातो अनदीको चामल, लमजुङको कागुनो, स्याङ्जाको फापर र जौं लगायतलाई खरिद गरि बिक्री वितरण गरिरहेको छ ।
न्यौपानेले पार्टीले दिएको जिम्मेवारी सहज रुपमा पूरा गर्ने प्रतिबद्धता जनाउनु भयो । आफू केही वर्ष अघिबाट उद्योग नै संचालन गरि उत्पादन जोडिएको र पार्टीले मिल्दो भुमिका दिएको भन्दै न्यौपानेले प्रदेशमा उत्पादन र रोजगार सिर्जनाका लागि योजना निर्माण गर्ने बताउनुभयो । युवाहरुलाई स्वरोजगार बनाई देशमै केही गर्न सकिन्छ भन्ने भावनाको अभिवृद्धि गर्न उत्पादनसँग जोडिन उत्प्रेरित गर्नुपर्ने उहाँको भनाई छ ।