आज:  २०८२ अषाढ १९, बिहिबार | Thu, 03, Jul, 2025 Search
FLASH NEWS

देवचुलीमा महिला सामुदायिक स्वास्थ्य स्वयंसेविकाको सम्मानसहित विदाई

    प्रकाशित २०८२ अषाढ १९, बिहिबार (६ घण्टा अघि)


देवचुली । देवचुली नगरपालिकाद्वारा एक जना महिला सामुदायिक स्वास्थ्य स्वयंसेविकाको सम्मानसहित विदाई गरिएको छ । आज नगरपालिकाको सभाहलमा एक कार्यक्रम गर्दै देवचुली १७ निवासी पवित्रा अधिकारीलाई नगदसहित सम्मान र बिदाई गरिएको हो ।

२०४९ सालदेखि महिला स्वास्थ्य स्वयंसेविकाको रुपमा काम गर्नुभएकी उहाँले ३३ वर्ष देवचुली नगरपालिकामा निरन्तर सेवा दिदै आउनुभएको थियो । ६० वर्ष उमेर पुगेपछि उहाँलाई नगरपालिकाले आज सम्मानपत्र र नगद ३० हजार रुपैयाँ प्रदान गर्दै विदाई गरेको हो ।

सामाजिक विकास समितिका संयोजक भुमिसरा थापाको अध्यक्षतामा भएको कार्यक्रममा देवचुली नगरपालिकाका नगर प्रमुख हरिप्रसाद न्यौपानेको प्रमुख आतिथ्यता रहेको थियो । त्यसै गरि प्रमुख प्रशासकीय अधिकृत अशोक कोइराला, नगर प्रवक्ता तिलप्रसाद काफ्ले, देवचुली ३ का वडा अध्यक्ष होमनाथ पौडेल, स्वास्थ्य शाखा प्रमुख रामकुमार श्रेष्ठ, नगरमा रहेका स्वास्थ्य संस्थाका प्रमुख लगायत महिला सामुदायिक स्वास्थ्य स्वयंसेविकाको उपस्थिति रहेको थियो ।

कार्यक्रममा बोल्दै नगर प्रमुख न्यौपानेले महिला सामुदायिक स्वास्थ्य स्वयंसेविकाको सेवा सुविधामा राज्यले विशेष योजना बनाउनुपर्ने बताउनुभयो । पालिकाले महिला स्वास्थ्य स्वंयमसेविकाहरुको क्षमता अभिवृद्धि लगायत विभिन्न कार्यक्रम संचालन गरिरहेको उहाँले बताउनुभयो । उहाँले महिला सामुदायिक स्वास्थ्य स्वयंसेविकाहरुले स्वास्थ्य क्षेत्रमा गरेको खटाईको उच्च मुल्यांकन रहेको बताउँदै पालिकाले सक्दो सहयोग गर्ने बताउनुभयो ।

सम्मान तथा बिदाई कार्यक्रममा बिदाई हुनुभएकी पवित्रा अधिकारीले महिला स्वास्थ्य स्वयंसेविकाको समुदायमा महत्त्वपूर्ण भुमिका रहेको बताउँदै सबैलाई जिम्मेवार हुँदै काम गर्न अनुरोध गर्नुभयो । उहाँले आफुले ३३ वर्षसम्म वडाका सबै स्थानमा पुगेर आफ्नो भुमिकाको काम गरेको स्मरण गर्दै नगरपालिकाले समेत विभिन्न कार्यक्रम संचालन गरि महिला स्वास्थ्य स्वयंसेविकाको मनोबल उच्च बनाउनुपर्ने बताउनुभयो ।

कार्यक्रम स्वास्थ्य शाखा प्रमुख रामकुमार श्रेष्ठले पालिकाले आगामी वर्ष स्वास्थ्य स्वयंसेविकालाई पालिकाले विनियोजन गरेको कार्यक्रमको बारेमा जानकारी दिनुभएको थियो । उहाँले महिला सामुदायिक स्वास्थ्य स्वयंसेविकाका वर्षमा २४ पटक २ वर्षमुनिका बालबालिकाको पोषणको अवस्था मापन गर्नुपर्ने र त्यसका लागि आवश्यक नापतौल जाँच गर्ने सामग्री प्रदान गरिने बताउनुभयो । उक्त कार्यक्रम सहजीकरण देवचुली नगरपालिका सिनियर अहेव अधिकृत शिव पराजुलीले गर्नुभएको थियो ।

Write your Comment