काठमाडौं । सरकारले मुख्य सचिवमा डा.वैकुण्ठ अर्याललाई नियुक्त गरेको छ । बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले वर्तमान मुख्यसचिव शंकरदास वैरागीको राजीनामा स्वीकृत गर्दै वरिष्ठताका आधारमा बैकुण्ठ अर्याल नयाँ मुख्यसचिव नियुक्त गरेको हो ।
हालका सचिवहरुमध्ये सबैभन्दा वरिष्ठ रहेका अर्याल हाल प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालयमा छन् । सचिवको रुपमा उनको पाँच वर्षे कार्यकाल आगामी असार तीन गते सकिंदै थियो । ३ महिनापछि अवकाश पाउन लागेका शंकरदास बैरागीलाई राष्ट्रिय सुरक्षा सल्लाहकार नियुक्त गरिएको छ ।
राष्ट्रिय सुरक्षा परिषद्को अध्यक्ष स्वयं प्रधानमन्त्री रहने व्यवस्था छ । त्यस्तै रक्षा मन्त्रालयका सचिव राष्ट्रिय सुरक्षा परिषदको सदस्य–सचिवको जिम्मेवारीमा हुन्छन् ।त्यस्तै परिषदमा रक्षामन्त्री, गृहमन्त्री, परराष्ट्रमन्त्री, अर्थमन्त्री, नेपाल सरकारमा मुख्य सचिव र प्रधानसेनापति सदस्य रहन्छन् ।
मन्त्रिपरिषद् बैठकपछि परराष्ट्रमन्त्री एनपी साउदले वैकुण्ठ अर्याललाई मुख्य सचिव र बैरागीलाई सुरक्षा सल्लाहकारमा नियुक्त गरिएको जानकारी दिएका हुन् ।
प्रधानमन्त्रीको सचिवालयका अनुसार बैरागीले सल्लाहकारका रूपमा प्रधानमन्त्री पुष्पकमल दाहालबाट शपथसमेत लिइसकेका छन् । सरकारले बैरागीलाई मन्त्रीसरहको सुविधा दिएर राष्ट्रिय सुरक्षा सल्लाहकार बनाएको हो ।