आज:  २०८१ बैशाख ८, शनिबार | Sat, 20, Apr, 2024 Search
FLASH NEWS

कृषि,पशुपन्छी तथा मत्स्यको तथ्यांक संकलन गर्दै देवचुली नगरपालिका

    प्रकाशित २०८० जेष्ठ ११, बिहिबार (११ महिना अघि)


देवचुली। नवलपुरको देवचुली नगरपालिकामा कृषि,पशुपन्छी तथा मत्स्यको तथ्यांक संकलन सुरु भएको छ। देवचुली नगरपालिकाले नगरका १७ वडामा प्रविधिको प्रयोग गरि तथ्यांक संकलन सुरु गरिएको हो ।

देवचुलीमा उत्पादन हुने हिउँदे/वर्षे खाद्यान्न बाली,दलहन बाली,तेलहन,फलफुल,तरकारी बालीहरु साथै पशुपन्छी तथा मत्स्यको तथ्यांक संकलन गरिने देवचुली नगरपालिका कृषि विकास शाखा प्रमुख गगन भट्टराईले जानकारी दिनुभयो ।संघीय सरकारको सशर्त अनुदान कार्यक्रम अन्तरगत तथ्यांक संकलन सुरु गरिएको हो।

पृथ्वी माध्यमिक विद्यालयमा बाली विज्ञानमा अध्ययनरत १० जना र वरचुली माध्यमिक विद्यालयमा पशु विज्ञानमा अध्ययनरत ७ जना विद्यार्थीहरुलाई स्वयंसेवक रुपमा परिचालन गरि प्रत्येक वडाको घरधुरीमै पुगि तथ्यांक गरिरहेको भट्टराईले बताउनुभयो । जेठ १५ गतेसम्म तथ्यांक संकलनको काम सक्ने तयारी गरिएको र साउन महिना भित्रमा प्रतिवेदन सार्वजनिक गरिने उहाँले बताउनुभयो ।

देवचुली नगरपालिकाका नगर प्रमुख हरिप्रसाद न्यौपानेले पालिकामा कृषि क्षेत्रलाई विशेष प्राथमिकता राख्दै बजेट विनियोजन गरिएको हुँदा पालिकामा कृषि, पशुपन्छी तथा मत्स्य क्षेत्रमा रहेका कृषकहरुको संख्या तथ्यांक संकलनबाट पता लगाई उनीहरुलाई पालिकाबाट उपलब्ध गराउन सकिने सेवा सुविधामा पहुँच पुर्‍याउने बताउनुभयो ।

तथ्यांक संकलनबाट वास्तविक किसानहरुको संख्या,पालिकामा उत्पादन हुने खाद्यान्न बालीहरु,दुधजन्य तथा मासुजन्य पशुहरुको संख्या,घरपालुवा तथा सामुदायिक कुकुरहरुको संख्यालगायतका जानकारीहरु प्राप्त गर्न नगरले प्राथमिकता दिइ तथ्यांक संकलन काम गरिरहेको बताउनुभयो । नगरले कृषि क्षेत्रको सुदृढीकरणका लागि तथ्यांकको प्रतिवेदनका आधारमा योजना बनाउन सहज हुने उहाँले बताउनुभयो ।

तथ्यांक संकलनमा खटिने स्वयंसेवकहरुलाई अभिमुखीकरण गरि प्रत्येक घरधुरीमा पुग्ने गरि जिम्मेवारी दिइएको कृषि शाखाका नरेन्द्र भण्डारी जानकारी दिनुभयो । अब केही दिनमा तथ्यांक संकलन गरि सकिने र आफ्नो घरमा आउने स्वयंसेवकलाई आवश्यक सहयोग गर्न सबैमा उहाँले अनुरोध गर्नुभएको छ।

 

Write your Comment